PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हत्याको कारण खुलेन, पोस्ट मार्टम रिपोर्ट भन्छ : घाँटी थिचेरै गयो मुनाको ज्यान



सविन ढकाल

हत्याको कारण खुलेन, पोस्ट मार्टम रिपोर्ट भन्छ : घाँटी थिचेरै गयो मुनाको ज्यान

काठमाडौं : घाँटी थिचेर तथा टाउकोमा भएको प्रहारका कारण मुना कार्कीको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। गएको सोमबार बिहान ललितपुर उपमहानगरपालिका २ सानेपास्थित आफ्नै घरमा मुना कार्की हत्या भएको हो।

शुक्रवार महानगरीय प्रहरी परिसर ललितपुरले प्राप्त गरेको पोष्टमार्टम रिपोर्टमा कार्कीको स्ट्रागुलेसन (घाँटी थिचेर) का कारण मृत्यु भएको उल्लेख छ।

'रिपोर्ट आइसकेको छ। हत्या घाँटी थिचेर भएको देखियो,' महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्।

सोमवार बिहान ११ बजेर २० मिनेटमा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना घरको भान्छा कोठामा अचेत अवस्था भेटिएकी थिइन्। उनको टाउकोमा चोटको कारण रगत बगेको थियो। तत्कालै उनलाई सानेपाको स्टार हस्पिटल पुर्‍याइएको थियो। तर, उपचार सुरु नहुँदै उनलाई मृत ठहर्‍याइएको थियो।

त्यस्तै, एउटै घरभित्र मृत अवस्थामा भेटिएका दाङका २२ वर्षीय विजय चौधरीको पनि घाँटीमा दवाव (प्रेसर)को कारण स्वासप्रस्वासमा अवरुद्ध भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। सोमवार चौधरी त्यही घरको लबीमा घाँटीमा डोरीको पासो लगाएको अवस्थामा भेटिएका थिए। तर, उनले पासो लगाएको डोरी भने चुँडिएको थियो।

चौधरी सात वर्षदेखि पूर्व सचिव कार्कीको घरमा काम गर्दै आएका थिए। प्रहरीको प्रारम्भीक अनुसन्धानमा चौधरीले नै कार्कीको हत्यापछि आत्महत्या गरेको देखिएको छ। तर, हत्या र आत्महत्याको कारण भने खुल्न सकेको छैन। प्रहरीले घरमा रहेको सीसीटिभी फुटेजका आधारमा चौधरीले हत्या तथा आत्महत्या गरेको दावी गरेको छ।

मृतक चौधरीले घरमा कोही नभएको समयमा घटना घटाएको देखिन्छ। प्रहरीले घटनाको कारण पत्त लगाउन दुवै जनाले प्रयोग गर्ने मोबाइलसमेत नियन्त्रणमा लिएर फरेन्सिक प्ररीक्षणका लागि पठाएको छ। तर, आजसम्म त्यसको रिपोर्ट नआइसकेको एसपी दुर्गा सिंहले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell