PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मासिक १ हजार घट्यो पूर्वएमालेबाट सांसद भएकाको लेबी



कुञ्जरमणि भट्टराई

मासिक १ हजार घट्यो पूर्वएमालेबाट सांसद भएकाको लेबी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरुले पार्टीलाई मासिक रुपमा बुझाउनुपर्ने लेबीमा एकरुपता गरेको छ। अब सांसदहरुले मासिक रुपमा १२ हजार बुझाउनुपर्ने भएको छ।

माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय समावेश गरेर पठाइएको अन्तरपार्टी निर्देशन (अपानी)मा सांसदहरुले मासिक १२ हजार तिर्नुपर्ने उल्लेख छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा संयुक्त रुपमा जारी अपानीमा भनिएको छ, ‘संघीय संसदका माननीय सदस्यहरूका लागि मासिक लेबी १२ हजार रुपैयाँ तोकिएको छ।’

तत्कालिन एमालेका सांसदहरुले पार्टीलाई १३ हजार बुझाउँदै आएका भने माओवादीका सांसदहरुले पार्टीलाई मासिक १२ हजार बुझाउँदै आएका थिए। पार्टी एकतापछि पनि पूर्वएमालेका र पूर्वमाओवादीका सांसदहरुले पूर्ववत रुपमा लेबी बुझाउँदै आएका थिए।

केन्द्रीय कमिटी बैठकले पार्टी एकता भइसकेपछि पनि पूर्ववत रुपमै लेवी बुझाउँदा असहज भएको भन्दै लेबीमा एकरुपता ल्याइएको हो। उक्त निर्णयपछि पूर्वएमाले सांसदहरुलाई बुझाउँदै आएको रकममा एक हजार घटेको छ।

त्यस्तै नेकपाले पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्तालाई मासिक भत्ता पनि दिने भएको छ।

अपानीमा भनिएको छ, ‘पूर्णकालिन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रुपमा निर्वाह खर्चको प्रबन्ध गरिनेछ।’

सो भत्ता सांसदहरुले पाउने छैनन्। केन्द्रीय सदस्यहरुलाई दिने भत्ता सांसदहरुले नपाउने तर पूर्णकालिन केन्द्रीय सदस्य र कार्यकर्तालाई कमिटीहरुले भत्ताको प्रबन्ध गर्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य केशव नेपालले जानकारी दिए।

ओली र प्रचण्डले केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा मर्यादाको सीमा उल्लंघन गरेकोमा आपत्ति जनाएका छन्। 

‘बैठकमा निर्धारित समय र विधिभित्र रहेर आफूलाई लागेको विषयमा बोल्ने छुट सबैलाई हुन्छ। तर, भाषाको प्रयोग र प्रस्तुति मर्यादित हुनैपर्दछ। यस बैठकमा अधिकांश कमरेडहरूले मर्यादा र अनुशासनको सीमाभित्र रहेर बैठकलाई सफल पार्न महत्वपूर्ण योगदान गर्नुभएको छ। तर, केही कमरेडहरूबाट भने विचार व्यक्त गर्नेक्रममा मर्यादाको सीमा मिचिएको छ। तथ्यको अतिरञ्जना, पार्टी र आन्दोलनको भविष्य नदेख्ने प्रस्तुति र उपलब्धिहरूको न्यूनीकरणजस्ता अभिव्यक्तिहरू प्रकट भएका छन्,’ जारी अपानीमा भनिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell