
काठमाडौं: वागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डोरमणि पौडेलले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्नुपर्ने बताएका छन्।
आइतवार डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयको ६४ औं वार्षिक उत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएकाले सुधार गर्नुपर्ने बताएका हुन्। मुख्यमन्त्री पौडेलले भने,'सामुदायिक विद्यालयको गुणस्तर खस्किएको छ। सबैले मिलेर यसको सुधार गर्नुपर्ने देखिएको छ।'
मुख्यमन्त्री पौडेलले विद्यालयभित्र बनेका दुई तले भवन र विजय बाटिकाको उद्घाटनसमेत गरेका थिए। प्रदेश सरकारको सहयोगमा करिव ९० लाख लगानीमा भवन बनाइएको कार्यक्रममा जानकारी गराइएको थियो। त्यस्तै मन्त्री पौडेले देशको समृद्धि शिक्षासँग जोडिएकाले शिक्षाको गुणस्तर बृद्धिले मात्र राष्ट्र समृद्धिको बाटोमा लम्किने बताएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद ढकालले विद्यालयको अवस्थाबारे जानकारी दिँदै विद्यालयको शैक्षिकस्तरमा समेत बढोत्तरी गर्दै लैजाने प्रतिबद्धता जनाए। प्रधानाध्यापक ढकालले भने,'शिक्षका राष्ट्र निर्माणको मेरुदण्ड हो। हामी हाम्रो विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउने गरी काम गर्ने छौं।'
बिहानी तथा दिवा सेवामा पठनपाठन गर्दै आएको विजय स्मारक माविमा हाल ७ सय २० जनाभन्दा बढी विद्यार्थी अध्यानरत छन्।