PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बंगलादेशमा लफडा नेपालमा अपराध : दुला मियाँ जसलाई हिरासतले 'काका' बनायो



सविन ढकाल

बंगलादेशमा लफडा नेपालमा अपराध : दुला मियाँ जसलाई हिरासतले 'काका' बनायो

काठमाडौं : ती बंगलादेशी नागरिको हत्या गर्ने अभियुक्त पनि यहीँ छन् होइन ?

महानगरीय प्रहरी वृत्त कालिमाटीमा एक प्रहरी अधिकृतलाई आइलागेको प्रश्न थियो यो।

'को बंगलादेशी नागरिक?'

प्रहरी अधिकृत एकछिन अलमल्लिए।

'त्यही क्या माघ ७ गते बंगलादेशका नागरिक मोहद्धिन अहमदको हत्या अभियोगमा पक्राउ परेका दुला मियाँ।'

त्यसपछि ती प्रहरी अधिकृतले भने 'ए…ए… काका।'

काका!

दुला मियाँ त काका पो भएछन्। १५ दिनदेखि वृत्त कालिमाटीको थुनुवा कक्षमा रहेका दुला मियाँलाई अहिले सबैले 'काका' भनेर सम्वोधन गर्दा रहेछन्। उमेरले ४५ वर्ष टेकेका उनी उमेरको कारणले पनि अरु थुनुवाभन्दा पाका। त्यसैले सबैले माया गरेर बोलाउने नाम काका।

'उमेरले पनि पाका छन्। थुनुवा सबैले काका नै भनेर बोलाउँछन्। हामी पनि काका नै भन्छौं,' महानगरीय प्रहरी वृत्त कालिमाटीका एक प्रहरी अधिकृतले सुनाए।

लेबनान जाउँला र धन कमाउँला भनेर उनी माघ ६ गते काठमाडौं आइपुगेका थिए उनी। तर, जीवनमा सोच्दै नसोचेको घटना घट्यो। त्यसैको उपज १८ दिनदेखि दुला नेपालको हिरासतमा बन्द छन्। हिरासतमा रहेका थुनुवा भेट्न उनका आफन्त, साथीभाइ हातमा केही न केही लिएर पुगेकै हुन्छन्। खाली हात पुग्नेले पनि सन्चो बिसन्चो सोध्छन्। तर, दुलालाई अरु कुरा सोध्ने चाहिँ कोही छैनन्।

'चार पाँच दिनअघि परिवारमा श्रीमतीसँग फोन सम्पर्क भएको थियो। उनीहरु चाहेर पनि भेट्न आउन सक्दैनन। भिषा नै छैन, एकदम महँगो छ कसरी आउन?,' हिरासतमा रहेका दुलाले भने।

मियाँलाई प्रहरीले माघ १६ गते आफ्नै साथीको हत्या गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरिसकेको हो। बंगलादेशबाट आएका मोहद्धिन अहमदको हत्या गरेको अभियोग छ उनीमाथि। सोल्टीमोडस्थित होटेल ग्रान्ड भिल्लाको कोठा नम्बर ११४ मा माघ ८ गते अहमद मृत अवस्थामा फेला परेका थिए। अहमदले मियाँलाई लेबनान पठाउने भन्दै नेपाल ल्याएका थिए। तर, नेपाल आएपछि पनि उनले विदेश नपठाएकाले रिसको आवेगमा हत्या गरेको प्रहरीको दावी छ।

'श्रीमतीले पिर गर्दै थिइन्। तपाईँ किन जानुभयो? रिसमा त्यस्तो गर्न नहुने,' श्रीमतीसँग फोनमा भएको कुराकानी उनले हिन्दी भाषामा सुनाए।

मियाँसँग अहमदले लेबनान पठाइदिने भन्दै ३ लाख टाँका लिएका रहेछन्। लेबनान पठाउनका लागि भन्दै अहमदले बंगलादेशको एक होटेलमा ११ दिनसम्म उनलाई राखे। होटेलमा लागेको खर्च पनि मियाँले नै बेहोर्नुपर्‍यो, ७ हजार टाँका।

त्यसपछि अहमदले लेबनान नेपालबाट सजिलो हुने भन्दै काठमाडौं ल्याए। माघ ६ गते अहमद र मियाँ हिमालयन एयरलाइन्सको विमानबाट बंगलादेशबाट काठमाडौं आएका थिए। त्यसपछि ग्रान्ड होटेलमा पुगेका थिए।

अहमदले नेपाल आएपछि पनि मियाँलाई लेबनान पठाउन सकेनन्। फेरि डेढ लाख टाँका थप रकम माग्न थाले। सामान्य परिवारका मियाँलाई डेढ लाख दिनु असम्भव नै थियो। त्यसपछि पैसा नदिए लेबनान नि नपठाउने र बंगलादेश पनि नलग्ने भन्दै बार्गेनिङ गर्न थाले।

'उसले मसँग फेरि पैसा माग्यो। मसँग पैसा थिएन कसरी दिनु?,' हिरासतमा रहेका मियाँले भने।

हुन पनि उनीसँग बंगलादेशबाट बोकेर आएको ३ हजार टाँकामात्र बाँकी थियो।

लेबनान नपठाएको र पैसा पनि फिर्ता नगरेका कारण मियाँले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्छ। उनलेले ड्युटी फ्रीबाट ल्याएको वाइनको बोतलले तीन पटक अहमदको टाउकोमा प्रहार गरेको र फुटेको टुक्राले घाँटी रेटेर हत्या गरेर होटेलबाट फरार भएका थिए। निन्द्राले लठ्ठिनै लाग्दै उनले आक्रमण गरेका थिए।

हत्यालगत्तै साथमा भएको एक हजार टाँका लिएर कलंकीबाट बस चढेर वीरगंज पुगे उनी। त्यहाँबाट भारत छिरे। भारतमा गएर साथमा भएको पैसा साटे। तर, भारत छिरेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लियो। पासपोर्टमा भारतको भिषा नहुनु नै उनका लागि बच्ने बाटो बन्द हुनु थियो। उनलाई भारतीय प्रहरीले नेपाल नै फर्किन सुझाव दिए। उनले आफूले मान्छे मारेको आएको प्रहरीलाई सुनाएका थिए।

'उनीहरुले नेपालको घटना नेपाल नै फर्की भन्ने सुझाव दिएछन्। उसले मान्छे मारेको घटना सुनाएको रहेछ। तर, त्यहाँको प्रहरीले उसलाई सामान्य रुपमा नेपाल फर्किन भनेको देखिन्छ,' एक प्रहरी अधिकृतले भने।

तर, मियाँ कसोकसो गरेर रेलबाट कलकत्ता पुगे। बंगलादेशको काउन्सलर कार्यालय पुगे। उनले घटना सुनाए। तर, त्यहाँ उनको कुरा कसैले पत्याएनन्। त्यसपछि फेरि उनी भारतीय प्रहरीकहाँ पुगे। उनीहरुले बंगलादेश भए ठूलो सजाय हुने बरु नेपाल गए राम्रो भन्दै फर्काइदिए।

दुला मियाँ फेरि झापाबाट नेपाल छिरे। झापाको इलाका प्रहरी पुगेर काठमाडौं पुग्ने जानकारी लिए। पर्यटक प्रहरीले उनलाई सहयोग गर्‍यो। तर, घटना बाहिरिएपछि मियाँ प्रहरी नियन्त्रणमा आए।

अहिले मियाँको अनुसन्धान सकिएको छैन। उनी हिरासतमा नै छन्। नेपालको हिरासत बसाई उनलाई राम्रो लागेको छ। अब बंगलादेश फर्किने नफर्किने उनलाई हेक्का छैन।

'नेपाल के पुलिस बहुत अच्छा हे। इदर जित्ना आद्मी हे ना अच्छा हे,' मियाँले मुस्कुराउँदै भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell