PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अवैध कारोबारको मुद्दा चलिरहँदा तोडियो सुन पसलमा लागेको सिलबन्दी, कारबाहीबाट जोगाउन चलखेल



राधेश्याम पटेल

अवैध कारोबारको मुद्दा चलिरहँदा तोडियो सुन पसलमा लागेको सिलबन्दी, कारबाहीबाट जोगाउन चलखेल

वीरगंज : हुन्डी तथा अवैध चाँदी कारोबारको मुद्दा खेपिरहेको वीरगंजको माइस्थानस्थित सुनचाँदी पसल केपी स्वर्णकलामा लगाइएको सिलबन्दी खुलेको छ। पसलका सञ्चालक कन्हैया सुनारविरुद्ध १ अर्ब २८ करोड ४३ लाख ३९ हजारको अवैध कारोबारको मुद्दा चलिरहँदा सिलबन्दी खोलिएको हो।
 
पर्सा जिल्ला अदालतको आदेशपछि सिलबन्दी खुलेको सुनार परिवारले जनाएको छ। चलिरहेको मुद्दालाई रफादफा गर्न र सञ्चालक कन्हैया सुनारलाई कारबाहीबाट जोगाउन चलखेल भइरहेको स्रोतले बताएको छ। अदालतमा मुद्दा चलिरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय पर्सा स्टक लिन दुई साताअघि सिल गरिएको सुनचाँदी पसल खोलेर सबै कागजात नियन्त्रणमा लिई स्टक हेरिरहेको छ। 

अदालतमा मुद्दा चलिरहेको विषयमा अवैध सुनचाँदी खरीदबिक्री भएका हो/होइन, त्यतिबेला बरामद ४२ लाख वास्तवमा हुन्डीकै हो कि भन्ने विषयमा प्रतिवेदन तयार पार्ने काम भइरहेको कर अधिकृत सरोज सिंहका बताए।

‘यदि अन्डर बिलिङ आयो भने ठीक छ, यदि ओभर बिलिङ गयो भने अपराधको संज्ञा गर्दै आवश्यक दण्ड, जरिबाना तथा कारबाही अघि बढ्छ,’ उनले भने।

सिलबन्दी खोलेपछि पसलका सञ्चालक कन्हैयाकी पत्नी लक्ष्मी देवीले अहिले पसल सञ्चालन गरिरहेको कन्हैयाका ससुरा रामनारायण सुनारले बताए।

उनले भने, ‘मुद्दाको सबै केस रफादफा भइसक्यो, अब सामान बेच्दैछौँ।’

ज्वाइँ कन्हैया अहिले उपचारको क्रममा भारतमा रहेको उनले बताए।

पसलमा प्रहरीको छापापछि लुकेका कन्हैया बाहिर आएका छैनन्। उनी फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ। गत असार ९ गते उनको पसलमा प्रहरीले छापा मारेको थियो। पर्साका तत्कालीन प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले पूर्वसूचनाको आधारमा छापा मारेको बताएका थिए। त्यसबेला पसलबाट ४२ लाख नगद र २ किलो चाँदी बरामद भएको थियो।

छापापछि नेपाल-भारतका गरी सात जनालाई हुन्डी कारोबारमा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त कारबाहीपछि पर्सा प्रहरीले जिल्ला अदालतमा कन्हैयासमेतले १ अर्ब २८ करोड ४३ लाख ३९ हजारको अवैध हुन्डी तथा चाँदी कारोबार गरेको भन्दै मुद्दा दर्ता गरेको थियो।

अदालतको प्रारम्भिक आदेशपछि सातमध्ये तीनजना कारीगर धरौटीमा रिहा भए भने रौतहटको चन्द्रपुर-७ का राजकपुर साह, भारतको बिहार मोतिहारीका सुनील साह, गुलाब साह र वीरगंज-६ का राकेश सिंह लगायतका चारजना अझैसम्म पूर्पक्षका लागि थुनामा छन्।
 
केपी स्वर्ण कलाका सञ्चालक कन्हैयाले २ करोड खर्च गरी मुद्दा रफादफा गर्ने चलखेल गरिरहेको स्रोतले बताएको छ। सिलबन्दी खोलिएसँगै पसलको कारोबार शुरु भएको छ। सिलबन्दी खोलिएपछि पसलको निगरानीका लागि खटाइएका ६ जना प्रहरीको युनिटलाई हटाइएको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell