PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

हामी सरकार ढाल्ने पक्षमा छैनौँ : उपसभापति निधि



रासस

हामी सरकार ढाल्ने पक्षमा छैनौँ : उपसभापति निधि

चितवन : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारेका हुन्। सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो।

उपसभापति निधिले भने, ‘हामी सरकार ढाल्ने पक्षमा छैनौँ। आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ।’

उनले कांग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने भन्दै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको बताए।

कांग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानुन जस्ताको तस्तै पारित गर्न कांग्रेसले नै रोकेको उनले बताए। कांग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उनको भनाइ थियो।

उपसभापति निधिले सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell