PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘अमेरिका जान बैंक ब्यालेन्स देखाउनु छ’ भन्दै ६० लाख लिएर फरार दुई जना पक्राउ



पहिलोपोस्ट

‘अमेरिका जान बैंक ब्यालेन्स देखाउनु छ’ भन्दै ६० लाख लिएर फरार दुई जना पक्राउ

काठमाडौं : अमेरिका जानको लागि ‘बैंक ब्यालेन्स देखाउनु पर्ने छ’ भन्दै ६० लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर २ पयुपाटास्थित कुँवर टोल घर भई हाल ललितपुरको ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोकको चौउरे-१ घर भई हाल ईमाडोल नै बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन्।

उनीहरुले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-२ बस्ने सानुमाया लामालाई ठगी गरेको प्रहरीले जनाएको छ। कुँवरले अमेरिका जानको लागी बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै विभिन्न प्रलोभन देखाइ लामालाई प्राईम बैकको आफ्नो खातामा साठी लाख रकम जम्मा गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

कुँवरले रकम राखेको भोलिपल्ट नै बैंकको चाबहिल, नयाँ बानेश्ववर, कोटेश्वर, सामाखुसी र ईमाडोल शाखाबाट नक्कली कागजपत्र र सवारी चालक अनुमति पत्र राखेर पैसा निकालेका थिए। पैसा निकालेर बेपत्ता भएपछि पीडित लामाले प्रहरीमा जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतवार बेलुका भक्तपुरको ठिमी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले अन्य ३ जनाबाट पनि ७० लाख ठगी गरेको खुल्न आएको महाशाखाका एसपी मुकेश कुमार सिंहले जानकारी दिए। साथै सोही प्रकृतिका घटनाहरु पुन: दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग रहन पनि एसपी सिंहले अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell