
काठमाडौं : एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटको सेड्युल परिवर्तन भएको छ। अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने भए पछि खेलको तालिका परिवर्तन भएको हो।
चीन, थाइल्यान्ड, भुटान, म्यानमार, मलेसिया, हङकङ, सिंगापुर र नेपालले इस्टर्न रिजन पुरुष टी-२० खेल्ने तालिका रहे पनि अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने बताएका थिए। यी देशहरुले सहभागिता नजनाउनुको कारण कोरोना भाइरसको प्रकोप भएको बताइएको छ।
एसिसीले सोमवार जारी गरेको नयाँ तालिका अनुसार नेपालले २९ फेब्रुअरीमा पहिलो खेल मलेसियासँग खेल्नेछ। त्यस्तै मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड र मार्च ६ मा सिंगापुरसँग खेल्ने तय भएको छ। प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।
प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भइसकेको छ भने अभ्यास पनि शुरु भइसकेको छ। प्रतियोगिताका लागि भुवन चन्दले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। त्यस्तै उक्त प्रतियोगिताका लागि किशोर महतो पहिलो पटक राष्ट्रिय टिममा परेका छन्।
टोलीमा अनुभवी खेलाडीहरु शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामीलगायतका खेलाडीहरु समावेश छैनन्। प्रशिक्षकबाट उमेश पटवालको राजीनामा पछि नेपाली टिमको प्रशिक्षकमा जगत टमाटा छन्।
नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान),पारस खड्का, बिनोद भण्डारी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, अभिनास बोहरा, करण केसी, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सुन्दीप जोरा, किशोर महतो, भुवन कार्की