PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

के होला पूर्व सभामुख महराको प्रतिनिधि सभा यात्रा?



कुञ्जरमणि भट्टराई

के होला पूर्व सभामुख महराको प्रतिनिधि सभा यात्रा?

काठमाडौं :  जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराले सोमवार सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौंले मुद्दाको सुनुवाई गर्दै महरालाई सफाइ दिएको हो।

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेको थियो।

उनीविरुद्ध बलात्कार प्रयासको आरोप लागेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोज १४ गते सभामुख र सांसद पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। नेकपाको निर्देशन लगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाट महरालाई पक्राउ गरेको थियो।

त्यस्तै अन्य भौतिक प्रमाणले महरा पीडित महिलाको कोठामा गएको पुष्टि गरेपछि जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

त्यसपछि महरा उच्च अदालत पाटन पुगेका थिए। तर उच्च पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्दै महरालाई थुनामा राख्न आदेश दिएको थियो। महराले १ सय ३ दिन डिल्लीबजार कारागारमा बिताए।

सांसद पद के हुन्छ?

२०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा फागुन २५ गते सभामुखमा निर्वाचित भएका थिए। गत असोजमा महिलामाथि बलात्कारको आरोपमा सभामुख पद गुमाएका महरा संसद भवनको यात्रा के हुन्छ?

संसद सचिवालयका सचिव गोपालनाथ योगीका अनुसार महरा प्रतिनिधि सभामा सांसदको रुपमा फर्कन पाउनेछन्।

उनी भन्छन्, 'संसद नियमावलीमा प्रहरी हिरासतमा कारगारमा रहँदा सांसदको सेवा सुविधा रोकिने व्यवस्था छ। उहाँको सांसद पद निलम्बन भएको हैन। हिरासतमा रहेपछि अदालतको फैसलाले सफाई पाएको निवेदन दर्ता हुनसाथ उहाँ फेरि सांसदको रुपमा फर्कन पाउनुहुन्छ। '

संसद नियमावलीको परिच्छेद ३० को २४४ मा थुनामा रहेको अवधिभर सांसदको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजका पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell