PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुई आधार जसलाई व्याख्या गर्दै अदालतले फैसलामा भन्यो : महरा निर्दोष



सविन ढकाल

दुई आधार जसलाई व्याख्या गर्दै अदालतले फैसलामा भन्यो : महरा निर्दोष

काठमाडौं : पूर्पक्षका लागि थुनामा पठाएको १ सय ३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्।

जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमवार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको थियो। के कारणले गर्दा महराको कसुर प्रमाणित भएन त?

गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन्। उनले आफ्नै कोठामा गएर बलात्कारको प्रयास गरेको दाबी गरेकी थिइन्। तर, अदालतले फैसलाको निर्णय सुनाउँदा महरा पीडित महिलाको कोठमा नै नगएको जनाएको छ। सोमबार अदालतको फैसला सुनाउँदै अदालतका एक कर्मचारीले भने, 'पीडितको इन्कारी बयान र महरा पीडित महिलाको कोठा आउँदै नआएको देखिन्छ।'

तर, महराले असोज १२ गते सादा पोशाकमा रहेका नेपाल प्रहरीका हवल्दार बिष्णुबहादुर थापा, नेपाली सेनाका जमदार काजीमान राना मगर र चालक सहायक प्रहरी हवल्दार श्यामहरि आचार्यलाई लिएर पीडित महिलाको कोठामा पुगेको बयान दिएका थिए। महराका छोरा निर्मल महराले प्रयोग गर्दै आएको बा २ झ २८६३ नम्बरको सेतो र कालो रंगको स्कर्पियो लिएर उनी निस्किएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा खुलेको थियो।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

पीडित महिलाको कोठाबाट प्रहरीले सीसाको गिलास, भाँचिएको चस्मा, जुत्ताको तौलिया समेत भेटिएको थियो। प्रहरीले सामाग्रीमा महराको हातको निसान र सामान हो कि होइन भन्ने प्राविधिक परीक्षण समेत गरेको थियो। अदालतले ती सामग्री महराकै हो भन्ने निश्चित नभएका कारण सफाई दिएको बताएको छ।

'‌औंठा छाप, चस्मा लगायत तुलनात्मक रुपमा विष्लेषण गर्न नपाइने भन्ने रिपोर्ट देखियो,' अदालत स्रोतले भन्यो।

महरा सोमवार नै डिल्लीबजार कारागारबाट छुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell