'हे…'राजेश हमालको ट्रेडमार्क हो। प्राय फिल्ममा राजेशले आफ्नो हात उठाउँदै दुश्मनहरुलाई चेतावनी दिँदा दर्शकले सिट्ठी बजाउँथे, ताली पिट्थे। त्यही 'हे..' ले नै राजेशलाई नेपाली रजटपटको 'महानायक' बनायो।
तर, अहिले सिनेमा घरमा राजेशको ट्रेडमार्क डायलग नसुनेको धेरै भयो। पछिल्लो समय सिनेमामा नदेखिएपनि यस क्षेत्रबाट टाढा भने छैनन्।भूमिकामात्र निभाउनका लागि त उनलाई फिल्मको अभाव छैन। तर समयअनुसार फरक शैलीमा कसरी प्रस्तुत हुने भनेर सोचिरहेका छन्। आफूले छिट्टै कुनै फिल्म निर्देशन गर्ने जनाउ भने पटकपटक दिइसकेका छन्।
दर्शकहरुले सिनेमामा उनको 'हे…'नसुनेपनि काठमाडौंको राष्ट्रिय सभागृहमा आइतवार भने उनको फेमस डायलग सुन्ने अवसर पाए।
अवसर नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले जुराएको हो।
राजेशलाई हरेक फिल्ममा हे.. भन्दा उनीमाथि प्रश्नसमेत उठ्यो। जुन फिल्ममा पनि 'हे.. हे..' मात्रै भन्छ भन्ने जमातसँग राजेशको साक्षात्कारसमेत भयो।
तर राजेश भन्छन्,'मेरो त्यो हे.. बुझ्नेलाई गहिरो छ नबुझ्नेलाई घर छेउमा पहिरो छ।'
राजेशका अनुसार 'हे…' समाजमा भइरहेको अन्याय, अत्याचार र थिचोमिचो विरुद्धको बुलन्द आवाज थियो। हे .. भनेको न्याय थियो।
उनले आफ्नो फिल्म कर्मयोद्धामा हे.. भनेपछिका कुराले सायद यही न्यायलाई दर्शाएको थियो।
सो फिल्ममा उनको डायलग थियो,'युगलाई परिवर्तन गर्न चाहने सच्चा नेपालीको सपनालाई शिरमा बोकेर हिँड्ने देशभक्तको छोरा हुँ म। देशको राष्ट्रियतालाई मेटाउन खोज्ने देशद्रोही र भ्रष्टाचारीहरुको विरुद्धमा लड्दै हिँड्ने कर्मयोद्धा हुँ म।'
…
राजेशले सिनेमालाई आफ्नो कर्म बनाए। सिनेमामा नै हुर्के। उनकै शब्दमा एक योद्धा बनेर २२ वर्षसम्म सुटिङका लागि मेकअपले सजिए।
केहीले उनलाई 'अभिताभ बच्चन'सँग पनि तुलना गर्छन्। बच्चनले आफ्नो दायरा बलिउड बाहिरसम्म बनाए।तर, हमाल नेपाली रजटपटमै सीमित।
निफमा पुगेका एक दर्शकले राजेश नेपाली फिल्मै सीमित हुनुको कारण सोधे।
प्रश्नले ताली पायो। राजेशको उत्तरले ती तालिमाथि नै प्रश्न तेर्सायो।
राजेशका अनुसार नेपाल जस्तोसानो आर्थिकस्तर भएको राष्ट्रमा काम गर्नेहरुको सफलता यही मापन हुन्छ। यहाँ सफल हुनु नै ठुलो सफलता हो।तर विकसित मुलुकहरुको प्रभावका कारण धेरैजसो मानिस परजीवि भइदिन्छन्। स्वेदेशी भन्दा विदेशी सामानको लत बसिसकेको छ नेपालीमा।
राजेशले भने,'हामीलाई नेपाल जतिसुकै महान लागे पनि, नेपाली हुनुमा जतिसुकै गर्व गरे पनि हाम्रो देशको वास्तविकता हामी सबैलाई थाहा छ।नेपालको आर्थिक, राजनीतिक, सामाजिक परिस्थिति र भावनात्मक हिसाबमा जति गर्व गरे पनि तितोसत्य चाहि के हो भने हामी सबै नेपालीकहीं न कहीं आफ्नो राष्ट्रलाई लिएर हीनताबोध छौं। म ठोकुवाको साथ भन्छु, कि प्रत्येक नेपालीलाई नेपाल र नेपाली हुनुमा हिनताबोध छ।'
हिनताबोध हुनुको कारण बारे उनी थप भन्छन्,'नेपालीले नेपाली सामानलाई दोस्रो दर्जा कै रुपमा हेर्छौं। चलचित्र मात्रै होइन सबै क्षेत्रमा हामीले नेपाली सामाग्रीलाई दोस्रो दर्जाकै रुपका हेर्छौं। बाहिरका लागि वाह र नेपालमा उत्पादन भएका वस्तुहरुलाई छ्या भन्छौं।'
राजेशलाई विदेशमा फिल्म खेल्न अफर नआएको पनि होइन। फिल्म क्षेत्रमा आउनु अघि मोडलिङसमेत गरे। तर जब उनको 'युगदेखि युग' रिलिज भयो त्यसपछि नेपाली फिल्मले गति लिन थाल्यो। उनी दैनिक १६/ १७ घण्टा काम गर्न थाले। धेरै फ्यानहरुले उनलाई चिट्ठी पठाउँथे।
राजेश भन्छन्,'धेरै चिट्ठीहरुमा दाई तपाईले नेपाली चलचित्रमा नै काम गर्नुहोस् है। छोडेर नजानुस भनेर लेखिएको हुन्थ्यो।'
सायद त्यही चिट्ठीहरुले उनलाई नेपाली फिल्ममा नै बसिरहन् प्रेरित गर्यो।
नेपालीहरुलाई आफू नै कमजोर र बाहिरका उत्कृष्ट रहेको'हिनतावोध' का कारण नै नयाँ नयाँ अपसन खोजिरहेका छन्। कलाकारितामा मात्रै होइन राजनीति क्षेत्रमा पनि।
नेपालीहरुले राजनीतिमा अपसन खोज्दा राजेशलाई भूल्ने करा भएन।त्यसैले एकजनाले सोधिहाले,'राजेश दाई नेपाली राजनीतिमा प्रवेश नगर्ने त?'
राजेशले फिल्ममा भन्ने 'हे…'ले अहिले नेपालमा राजनीति गर्नुहरुबाटै भइरहेको थिचोमिचोको प्रतिनिधित्व पनि गर्छ।
त्यसैले राजेशले भने,'अहिले राजनीतिमा देखिएको खाडलका कारण नै मानिसहरु नयाँ अनुहार खोजिरहेका छन्।'
तर राजेशले आफू त्यो 'नयाँ अनुहार' भने अहिले नै नबन्ने इंगित गरे।
तर राजनीतिक भन्दा टाढा आफू नभएको भन्दै सही समयमा राजनीतिमा प्रवेश गर्न सक्ने भन्न छुटाएनन्।
त्यसैले त संसारको सबैभन्दा 'असुरक्षित पेशा' कलाकारिता छोडि हाल्ने मनस्थितिमा छैनन् उनी।
असुरक्षित त राजनीति पनि छ। दुवै क्षेत्रमा भविष्य बनाउने जिम्मा जनताको हातमा हुन्छ। राजेशको पनि।