PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दोलखामा स्कूल बनाउन नेपथ्यको कन्सर्ट   



पहिलोपोस्ट

दोलखामा स्कूल बनाउन नेपथ्यको कन्सर्ट   

काठमाडौं‌ : लोक रक ब्यान्ड नेपथ्यले विद्यालय पुनर्निमाणका लागि सांगीतिक प्रस्तुति दिने भएको छ। आउँदो फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टको टिकेट खरिदबाट उठेको सम्पूर्ण रकम दोलखा, भिमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा खर्च हुने बताइएको छ।

‘शिक्षाको लागि संगीत’ नाम दिइएको कन्सर्टलाई ‘हेल्प नेपाल नेटवर्क’ नामक संस्थाले आयोजना गरेको हो।

२०७२ सालको विनाशकारी भुकम्पमा पनि नेपथ्य ब्याण्डले भूकम्प पीडितका लागि सक्रिय रहेर सहयोग जुटाएको थियो। ब्‍यान्डले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर दस लाख रुपैयाँ र विदेशका केहि कन्सर्टहरुबाट उठेको रकमसमेत गरेर करिव चालिस लाख रुपैयाँको योगदान पुर्‍याएको ब्याण्डका व्यवस्थापक किरणकृष्ण श्रेष्ठले जानकारी दिए।
ब्याण्डले भुकम्पलगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भुकम्प पीडितहरुकै सहयोग गरेको थियो।

 ‘संगीतले जगतलाई आत्मा, सोचाइलाई पखेटा, कल्पनाहरुलाई उडान र प्रत्येक कुरालाई जीवन्तता प्रदान गर्छ भन्ने भनाइ नै छ,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्का भन्छन्, ‘हामीसँगको सहकार्यमा नेपथ्यको आगामी कन्सर्टले केटाकेटीहरुको सपनालाई पखेटा, ती साना आत्माहरुलाई आशा र दोलखालाई जीवन्तता प्रदान गर्नेभएको छ।’

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘स–साना नानीहरुका आधारभूत शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने यो कन्सर्टमा गाउन पाउनुलाई मैले गौरवको रुपमा लिएको छु।’

फागुनको १७ गते शनिबार भृकुटीमण्डपमा आयोजना हुने उक्त कन्सर्टका लागि अनलाइन टिकट इसेवामार्फत् काट्न सकिने साथै त्यसैगरि मोबाइल एप ‘फोन पे’मा पनि यसको टिकट उपलब्ध रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell