
काठमाडौं : विकास निर्माणका कार्यक्रम र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन चुनौति रहेको उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बताएका छन्।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरले आयोजना गरेको चुरे संरक्षण सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पुनले विकास निर्माणको कामसँगसँगै चुरे क्षेत्रको संरक्षणमा चुनौति बढेको बताएका हन्। उनले राष्ट्रिय गौरवका आयोजना निर्माण हुँदा बनजंगल तथा चुरे क्षेत्र मासिने अवस्था आउने भएकाले चुनौति बढेको बताए।
तराई मधेस र चुरे क्षेत्रमा सरकारले ठूला योजनाहरु प्रस्ताव गरेपछि चुरे क्षेत्रको संरक्षणलाई राजनीतिक मुद्दाको रुपमा पनि उठाउन खोजिएको उनले बताए। उनले एकातिर चुरे संरक्षणको महत्व जैविक विविधताको संरक्षणको रुपमा र अर्कोतिर सामाजिक विविधता तथा एकताका कुराहरुको रुपमा तथा जलाधारको संरक्षणको रुपमा समेत रहेको बताए। विकास निर्माणका गतिविधि अगाडि बढाउँदा चुरे क्षेत्रमा क्षति हुन सक्ने भएकाले चुरे संरक्षणको योजनालाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको उनले बताए।
नेपालको करिब १३ प्रतिशत भूभाग चुरे क्षेत्र रहेको छ भने ४५ लाख जनसंख्या यस क्षेत्रमा बसोबास गर्छन्। सरकारले चुरे क्षेत्रको संरक्षणका लागि चौँथो पञ्चवर्षिय योजना (१९७०/१९७५) देखि नै महत्व दिँदै आएको थियो। तर आर्थिक वर्ष २०६६/०६७ देखि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति मार्फत चुरे क्षेत्रको संरक्षणका कार्यक्रमहरु गर्दै आएको छ।