PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

७० वर्षको संघर्षपछि पनि समृद्धि र समानता आएन : मन्त्री यादव



राधेश्याम पटेल

७० वर्षको संघर्षपछि पनि समृद्धि र समानता आएन : मन्त्री यादव

वीरगंज : प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले देशमा पछिल्लो ७० वर्षको अवधिमा पनि समृद्धि र समानता नआएको बताएका छन्। वीरगंजको सामुदायिक क्याम्पसको रुपमा चिनिने हरिखेतान बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवमा मन्त्री यादवले २००७ देखि २०७६ सम्म प्रजातन्त्रकै लागि नेपाली जनताले संघर्ष गर्दै आए पनि प्रजातन्त्रका दुई आधार समृद्धि र समानता हाल सम्म महसुस गर्न नसकिएको चर्चा गरे।

‘२००७ सालपछि देशमा प्रजातन्त्र आयो, देश संघीय लोकतान्त्रिक मुलुकपछि गणतन्त्र पनि आईसक्यो’, उनले भने, ‘तर जनताले समानता र समृद्धि देख्न सकेका छैनन्, यो दुःखको कुरा हो।’

जबसम्म यी दुई कुरा आउँदैनन्, तबसम्म प्रजातन्त्रको कुनै अर्थ नरहेको पनि उनले तर्क गरे। उनले असली प्रजातन्त्र युरोपियन मुलुकहरुमा रहेको चर्चा गरे।

‘डेनमार्कमा असली प्रजातन्त्रको अभ्यास भएको पाइन्छ, जहाँको समाजमा समानता र समृद्धि दुवै छ। ७० प्रतिशत भन्दा बढि महिला प्रतिनिधि सभा सदस्यको रुपमा विजयी हुन्छन्, जनताले ६० प्रतिशत राज्यलाई राजश्व बुझाउँछन्, ४० प्रतिशतमा आफ्नो घर खर्च र परिवारको दायित्व पुरा गर्छन्’, उनले उदाहरण दिँदै भने, ‘त्यस कारण ती देशहरु आज विश्वमा आफ्नो पहिचान कायम गर्न सफल भएका छन्।’

वीरगंजका मेयर विजयकुमार सरावगीले हरिखेतानमा आफू पनि पढेको चर्चा गर्दै सामुदायिक क्याम्पस भएर पनि थप राम्रो गर्न शुभकामना दिए। उनले आजको माध्यमिक शिक्षा चलाउनका लागि कक्षा ९ देखि १२ सम्मको छुट्टै विद्यालय व्यवस्थापन समिति गठन गरी महानगरको पहलमा सामुदायिक क्याम्पसको अवधारणामा गुणस्तरीय शिक्षाको लागि कार्ययोजना बनाएर अगाडि बढ्न सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell