काठमाडौं : २०४७ मा राजनीतिक माहोल फेरियो। प्रजातन्त्रको पुनर्वहाली भयो। प्रजातान्त्रिक आन्दोलनमा लागेकाहरुको आशा र सपना पूरा भयो। प्रतिनिधिसभाको चुनाव तोकियो, २०४८ वैशाख २९ गतेका लागि।
प्रमुख पार्टी थिए नेकपा (माले) र नेपाली कांग्रेस।
चुनाव प्रचारमा कार्यकर्ता र विद्यार्थी गाँउगाउँ खटायो कांग्रेसले।
प्रजातन्त्र आएकोमा विद्यार्थी नहौसिने कुरै थिएन। त्यति बेला वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का इकाई समिति सदस्य थिए बद्री पाण्डे। उमेर भर्खर १८ वर्षमात्रै।
टर्निङ प्वाइन्ट
तीनधारा छात्रावासमै सिकाइएको थियो- भाषण कसरी गर्ने, कांग्रेसका एजेण्डा के-के हुन्? अनि गाउँमा चुनावको प्रचार कसरी गर्नेबारे।
चुनाव प्रचारका लागि पाण्डे खटिए बाजुरा। नेपालगन्जसम्म जहाजमा। त्यहाँबाट पैदलै। झोला, पर्चा बोकेर हिँडे उनी।
झोलाभरी पम्प्लेट। सर्टमा तीन वटा लोगो- चुनाव चिह्न रुख, नेविसंघ र चारतारे झण्डाको। नेपालगन्जबाट सुर्खेत हुँदै बाजुरा पुगे। पैदल यात्रामै बित्यो ६ दिन।
बाटोमा आराम गरिरहेका बेला घटना र विचार सुन्ने मौका पाए उनले। त्यहीँ सुने बजुरामा काँग्रेसबाट देवराज जोशी उम्मेद्वार भएछन्। पाण्डेले चिनेकै थिएनन् जोशीलाई। २७ वर्षका जोशी बिएड गरेर भर्खर गाउँमा शिक्षक भएका रहेछन्।
गाउँमै चिनजान गरे जोशीसँग। 'पछि प्रतिनिधिसभामा जोशी नै सबैभन्दा कान्छा सांसद भए', पाण्डे भन्छन्,'त्यो बेला चुनावमा पञ्चहरुले टिकट नपाउन भनेर ३० वर्ष मुनिकालाइ मात्रै उम्मेद्वार बनाइएको थियो। जिल्लाले तीनै जना उम्मेद्वार ३० वर्ष मुनिकालाई सिफारिस गरेको थियो।'
बद्री चुनाव प्रचार कार्यक्रमको उद्घोषण गर्थे, मौका पर्दा भाषण पनि। जिल्लाका कुनै गाउँ छुटाएनन्। धेरैले त्यही बेला चिने बद्रीलाई।
'त्यो मेरो जीवनको टर्निङ पोइन्ट नै भयो। कति जागिरको अवसर आयो। तर मैले यही यात्राका कारण यताउति लागिनँ', उनी भन्छन्।
क्यासिनोदेखि घटना र विचारको जागिर
चुनावपछि गृहमन्त्री भए शेरवहादुर देउवा। देउवाले नै क्यासिनोमा जागिर लगाए पाण्डेलाई। ४ दिन तालिम गरे, तर जागिरमा जान पाएनन्। क्याम्पस कमिटीको सचिव जितेकाले राजनीतिमै व्यस्त हुन थाले उनी।
२०४९ तिर मिडियामा काम गर्ने रुचि जाग्यो उनलाई। देउवालेनै रेडियो नेपालको घटना र विचारमा जान सुझाए। जतिबेला कार्यक्रम सञ्चालक थिए- कृष्ण कँडेल। तर रेडियो नेपाल पनि जान पाएनन्। व्यस्तता राजनीतिमै।
२०५९ मा भने मिडियामा काम गर्ने इच्छा पूरा भयो उनको। इमेज रेडियोमा दुई वर्ष र इमेज टिभीमा ६ महिना काम गरे। आजको सन्दर्भ भन्ने कार्यक्रमको नाम थियो। त्यतिबेला पाण्डे नेविसंघमा उपाध्यक्ष भइसकेका थिए।
२०६१ माघ १९ मा राजाले शासन सत्ता हातमा लिएपछि मिडियामा हस्तक्षेप गरे। त्यसपछि कार्यक्रम चलाउन छाडे उनले।
पढाइ र राजनीति सँगसँगै
बाजुराको हिमाली गाउँपलिका ४ मा जन्मिएका हुन् पाण्डे। तत्कालीन शैलेश्वरी प्राविमा उनको स्कुले जीवन सुरु भयो। ५ कक्षासम्म पढाइ। त्यसपछि उनी ठूला बुवाका छोरा दाजु लालकेशर पाण्डेसँग लागे मुगुको सदरमुकाम गमगढीतर्फ। लालकेशरको जागिर मालपोतमा थियो। गमगढीमै महाकाली माविमा भर्ना भए पाण्डे। ८ कक्षासम्म पढे। त्यसपछि दाजुको सरुवा भयो। अनि बाजुराको जनप्रकाश मावि केही समय पढ्न पुगे।
लालकेशरले नै उनलाई तीनधारास्थित संस्कृत छात्रावासमा बस्ने बन्दोबस्ती मिलाइदिए। पढाई हुने भयो संस्कृत मावि रानीपोखरीमा। एसएलसी पुरा गरे। प्रवीणता र स्नातक गरे वाल्मिकी क्याम्पसबाट। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पाण्डे हाल पिएचडीका विद्यार्थी हुन्।
शान्ति ठीक कि क्रान्ति
२०४३ भदौ महिनाको एक दुइ गतेतिरै सुरु भयो दशरथ रंगशाला सजाउने काम। तालिम दिइयो - राजाका हातबाट कसरी सम्मान पत्र लिने? कसरी उभिने कताबाट फर्कने भनेर। भदौ ४, २०४३ मा राजा वीरेन्द्रको हातबाट प्रमाणपत्र पाए पाण्डेले। त्यही वर्षको वैशाखमा बुद्ध जयन्तीका दिन भएको थियो वादविवाद प्रतियोगिता। विषय थियो 'शान्ति ठीक कि क्रान्ति'। समय ५ मिनेट। पाण्डेले क्रान्तिको पक्ष लिए।
भन्छन, 'सिनियरहरुले नै हो क्रान्ति ठीक भन्नेमा भाग लिन लगाएको। क्रान्तिका बारेमा थुप्रै कुरा सिकाएका थिए। मैलै भनेको थिए परिवर्तन नै हो विकास र समृद्धिका आधार अनि दिगो शान्ति पनि यसैले दिन्छ।'
त्यतिबेला रेडियो नेपालले नाम लिएको एनटिभीले फोटो देखाएको सम्झे उनले।
राजाको हातबाट कसरी प्रमाणपत्र लिने भनेर तालिम लिएका उनले राजा छेउ पुगेपछि भने प्रमाणपत्र लिनै बिर्सेछन्। उनलाई राजाले कानमै भने, 'पख, पख।' यी शब्द अझै ताजै लाग्छ उनलाई।
'म पदक लगाएपछि फटाफट गएँ। जाने बेलामा राजाले कानमै पख-पख भनेको अहिले जस्तै लाग्छ। त्यसपछि राजाले प्रमाणपत्र पनि दिए,' उनले भने।
गेटमै भन्नुपर्थ्यो जय नेपाल
संस्कृत माविको माहोल खुब राजनीतिक थियो। गेटमै जय नेपाल भन्नुपर्ने। नमस्कार भन्ने छुट थिएन।
'गेटबाटै जय नेपाल भन्थे,'उनी भन्छन्,'नमस्कार भन्ने कुनै छुट थिएन।'
उनको विद्यार्थी राजनीतिका पाइला संस्कृत माविबाटै अघि बढ्यो। २०४३ मा नेविसंघमा आवद्ध भएका उनी २०४४ मा इकाइ सदस्य भए।
२०४७ मा वाल्मिकी क्याम्पसमा इकाइ सदस्य भए। २०४९ मा इकाइ सचिवमा निर्वाचित। २०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए। २०५३ मा वाल्मिकीको स्ववियु सभापति र २०५४ मा स्ववियु परिषदको सभापति। पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए।
केन्द्रीय सदस्य भएको थाहै भएन
२०५६ मा बाजुरा गएका थिए पाण्डे। गाउँ घरमा पुगेपछि गाइबस्तु चराउँथे। एक दिन कर्णालीको किनारमा गोठालो गएको बेला गाउँलेले सुनाए- तेरो नाम त घटना र विचारमा आयो नि।
उनलाई भने विश्वास लागेन। न कुनै नेताको सम्पर्कमा थिए न उनी काठमाडौंमा नै। हल्लै हल्लाको भरमा काठमाडौं आए। कुरा साँचो रहेछ। उनी भन्छन्,'यसबाटै थाहा भयो नि आफू योग्य भएपछि पदका लागि दौडधुप नै गर्नु पर्दैन भन्ने।'
२०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डेको नेविसंघ हाँक्ने रहर भने पूरा भएन।
२०६४ को १०औं महाधिवेशनमा उनी प्रदीप पौडेलसँग पराजित भए।
'मेरै जित पक्का थियो। आन्तरिक कारणले म निकटतम प्रतिद्वन्द्वीसमेत बन्न सकिनँ,'उनी भन्छन्।
हारबाट धेरै सिकेको बताउँछन् उनी। हारपछि उनी ३ वर्ष देश घुम्न निस्के।
२०६७ मा कांग्रेसको महासमिति सदस्य बने। त्यही वर्ष नेपाली कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते। कांग्रेसको १३औं महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए र २०७४ को चुनावमा कर्णाली प्रदेशबाट राष्ट्रियसभाको सदस्य निर्वाचित भए।
राष्ट्रियसभाको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिँदै छ।
सानो र सुखी परिवारजस्तो
दुई वर्षे कार्यकालका लागि सांसद बनेका पाण्डे कार्यकाल सकिएपछि अध्ययन अनुसन्धान लाग्ने सोचमा छन्। उनी राष्ट्रियसभालाई सानो र सुखी परिवारसँग दाँज्छन्। भन्छन्, 'प्रतिनिधिसभाको जस्तो चार्म त छैन। चार्म नहुनुको कारण चाहिँ धेरैजसो नेताहरु प्रतिनिधिसभामै छन्। धेरै सांसदहरु पनि छैनन् राष्ट्रियसभामा। त्यसैले मलाई यो सानो परिवार सुखी परिवारजस्तो लाग्छ।'
राष्ट्रियसभा सम्मानित नभएको उनी बताउँछन्। पाण्डेको विचारमा अरु देशका राष्ट्रियसभा धेरै सम्मानित छन्। राष्ट्रियसभा दलको राजनीतिभन्दा पनि माथि रहने कन्सेप्ट अनुसार बनेको पाण्डे बताउँछन्।
'बेलायतमा पनि यसको अभ्यास छ। त्यहाँ हाउस अफ लर्ड्स भनिन्छ। त्यहाँ सम्मानित छ। संयुक्त बैठक बस्दा माथिल्लो सभामा जानुपर्छ।
त्यसो त राष्ट्रियसभामा आफूले इन्जोय गरेको बताउँछन् पाण्डे। 'सानो सभा छ, बोल्न पालो पाउन पनि गाह्रो भएन र भूमिका पनि धेरै हुने भयो,' उनले भने।
काम गर्नसक्ने वातावरण छैन
दुई पटक सांसद बनेका पाण्डे सांसद भएर मात्रै बाँच्न गाह्रो हुने बताउँछन्। भन्छन्,'हामी सांसद सांसदका रुपमा मात्रै काम गर्न सक्ने वातावरण छैन। त्यसैले हामी क्वालिटी दिन सक्दैनौँ। किनभने हाम्रो सचिवालय छैन। पिए दिएको छ तर विषेशज्ञ छैन। पिएबाट विशषज्ञको सुझाव आउन सम्भव छैन। सांसदले विज्ञसँग भेट्ने सल्लाह लिने अवस्था पनि छैन। अरु देशका सांसदहरुका बारेमा सुन्दा त्यहाँ ठूलो टिम हुन्छ एकदमै तयारीका साथ प्रस्तुत हुन्छन्' उनी थप्छन्,'योग्य सांसदका रुपमा उभ्याउँन कठिन छ। अधिकांश सांसदले क्वालिटी दिनसक्ने अवस्था छैन। हाम्रोमा त्यसो भएन यो सुधार हुन जरुरी देख्छु म त।'
उनी संख्या घटाएर भए पनि सांसदहरुका काममा क्वालिटी ल्याउनुपर्ने बताउँछन्।
उनको माग छ, 'इन्टरनेटको पहुँच हुनुपर्यो। सांसदलाई सुविधा पनि दिनुपर्यो। बजेट दुरुपयोग पो गर्न दिनुभएन त। सुविधा त दिनुपर्यो नि। केही पाउन त केही गुमाउनु पर्यो नि। सांसदहरुले क्वालिटी दिन सकेनन् भने देश कसरी उन्नतिमा लाग्छ। मुख्य ठाउँ त त्यही हो नी ऐन कानुन बन्ने। एक जना सांसद व्यक्ति कुद्नने होइन। विधि निर्माणमा क्वालिटीको बनाउनुपर्यो। क्वालिटीको बनाउन कन्जुस्याइँ गर्नु हुँदैन। योग्य सांसद पुगे कि पुगेनन् भन्नलाई मापदण्ड बनाउने हो।'
कांग्रेसले प्राइभेट विल (इच्छा) अनुसार काम गर्यो
नेपाली कांग्रेसमा गुट उपगुट छरपस्ट हुनुमा उनी व्यक्तिवादी प्रवृतिलाई दोष दिन्छन्।
पाण्डे भन्छन्,'रुसोको एउटा थेउरी छ। जहाँ पनि तीन वटा विल हुन्छ भन्छन्। जसमा प्राइभेट र कर्पोरेट अनि एउटा जनरल विल। व्यक्तिवादी वा प्राइभेट विल हो जसले आफूलाई मात्रै सोच्छ। प्राइभेट विल भनेको जस्तो विद्यार्थी संगठनले विद्यार्थीका बारेमा मात्रै कुरा गर्न र अर्को कुनै पार्टीले आफ्नो पार्टी र देशको लागि सोच्यो भने त्यो जनरल विल हो। कांग्रेसले जनरल विल अनुसार काम गरेन।'
उनी यस्तो कुरा गर्दा आफ्नै दलका नेताले आदर्श कुरा नगर भन्ने गरेको गुनासो सुनाउँछन्।
भन्छन्, 'पार्टीमा पनि राजनीतिमा आदर्शका कुरा नगर भन्ने मान्छे भेट्छु म तर राजनीति भनेकै आदर्श हो। यदि आदर्शबाट च्युत हुने हो भने राजनीति राजनीति रहँदैन। त्यो राजनीति व्यापारको रुपमा जान्छ। अपवित्र व्यापारको रुपमा चिनिन्छ राजनीति। राजनीतिमा पवित्र कुराको खोजी गर्नुपर्छ।'
राजनीतिमा टिक्न गाह्रो छ
उनलाई अबको समाजमा राजनीति गर्न सकिन्न भन्ने लाग्छ। भन्छन्, 'न पुर्ख्यौली सम्पति छ त्यति धेरै। व्यवसाय पनि छैन। राजनीतिमा पैसा पाउने कुरा पनि भएन। सांसदको तलबले के नै गर्न पुग्छ र?'
बचेको समयमा अध्ययन अनुसन्धान गर्ने सोच पनि बनाएका छन् उनले। विश्वविद्यालयमा कार्यपत्र तयार पार्ने र पढाउने विकल्पलाई पनि तयारीमा राखेका छन्।
राजनीति आदर्शकै कुरा भएकाले यही टिक्नुपर्छ भन्ने मान्यता अर्को विकल्प हो उनको।
भन्छन्, 'अहिले राजनीतिमा धेरै इमान्दार मान्छे पनि छन्। मैरै पार्टीमा पनि हेर्छु। तर हामी सबै खराब हुन भनेर धारणा बनाउँछौँ। यसले राजनीतिमा इमानदार भएका केही गर्नुपर्छ भन्नेको डिमोरलाइज हुन्छ। र, राजनीति फेरि भ्रष्टकै हातमा जान्छ।'