PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

सुकइ साह माविमा छैनन् ६ विषय पढाउने शिक्षक, गाउँपालिकालाई दबाव दिन पुग्दा विद्यार्थी पक्राउ



राधेश्याम पटेल

सुकइ साह माविमा छैनन् ६ विषय पढाउने शिक्षक, गाउँपालिकालाई दबाव दिन पुग्दा विद्यार्थी पक्राउ

वीरगंज : पर्साको कालिकामाई गाउँपालिका–२ भडिहारीस्थित सुकइ साह माविका विद्यार्थी आन्दोलित भएका छन्। विद्यालयमा आवश्यकताअनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

विद्यार्थीका अनुसार १० कक्षासम्म अध्ययापन हुने विद्यालयमा ६ जना मात्रै शिक्षक छन्। अंग्रेजी, नेपाली, सामाजिक, अर्थशास्त्र, पेशा व्यवसाय, र कम्युटर पढाउने शिक्षक छैनन्।

विद्यालयमा पर्याप्त भौतिक संरचना नहुँदा धेरै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरिएको छ। विद्यार्थीले सोमबार विहान ११ बजेतिर विद्यालय र वडा नं. २ को कार्यालयमा तालाबन्दी गरेका थिए। वडा कार्यालयको ताला फोडेर खोलिएपछि आक्रोशमा आएका विद्यार्थी गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेका थिए। गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा विद्यार्थी र गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीयबीच झडप भएको थियो।

विद्यार्थीको समूहले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा रोक्न खोजिएपछि सामान्य झडप भएको प्रत्यक्षदर्शीले बताएका छन्। सोही क्रममा एक जनाले हानेको ढुंगा लागेर गाउँपालिकाको कम्युटरको मोनिटर फुटेपछि स्थिति बिग्रिएको थियो। गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको हातपातबाट केही विद्यार्थीलाई सामान्य चोटसमेत लागेको कक्षा ९ का विद्यार्थी श्रवणकुमार पटेलले जानकारी दिए। ‘समस्या समाधानका लागि दबाव दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न गएका थियौं, गाउँपालिकाका कर्मचारी र स्थानीय मिलेर हामीलाई रोके,’ उनले भने, ‘ त्यसपछि गाउँपालिका कार्यालयमा तोडफोड पनि भयो, झडप हुँदा साथीहरुको हात, गोडा, टाउकोमा चोट लागेको छ।’ घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले आन्दोलनरत १६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पोखरियामा लगेको थियो।

प्रहरीको पछिपछि अन्य विद्यार्थी पनि प्रहरी कार्यालय पुगेका थिए। उनीहरुले पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडी प्रदर्शन र धर्ना दिएका थिए। प्रहरीले कक्षा ७ का असिन खान, रवी कुशवाहा, राज खान, कक्षा ८ का रितेश शर्मा, विकास चौरसिया, विकेश चौरसिया, इरसाद खान, निरन्जन कुमार, मुनिलाल कुमार, नागिन्द्र कुमार, विकास चौरसिया, राधेश्याम कुमार र कक्षा ९ का श्रवणकुमार पटेल, विकेश कुशवाहा, सरुलम आलम, प्रिन्स चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई अबेर साँझ अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए। ‘सुकई साह माविमा पठन पाठन भएन भनेर विद्यार्थी आन्दोलनमा उत्रिएका रहेछन्,’ सिंहले भने, ‘ विद्यार्थी बढी नै उत्तेजित थिए, गाउँपालिकामा र विद्यार्थीलाई समेत थप क्षति नपुगोस भनेर नियन्त्रणमा लिएका हौं। उनीहरुलाई साँझ अभिभावकको जिम्मा लगाएर पठाईसकेका छौं।’

आन्दोलनरत विद्यार्थीले भने आवश्यक शिक्षक नियुक्ती गर्नुपर्ने, कम्युटर कक्षा र पुस्तकालय अलग अलग हुनुपर्ने, भौतिक संरचना निर्माण गरिनुपर्ने अडान राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell