PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

खरीपाटी क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुत्र पनि, 'वुहानबाट जहाज नउड्दासम्म ढुकचुक थियो मन'



फूलमाया पुरी

खरीपाटी क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुत्र पनि, 'वुहानबाट जहाज नउड्दासम्म ढुकचुक थियो मन'

सरकार नोवेल कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानमा रहेका १८५ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याउने तयारीमा लागेको थियो - फागुन ३ गते। चीनबाट फर्काइनेहरुमा डा. श्रवण श्रेष्ठ पनि थिए। साथीहरु नेपाल फर्किने तयारीमा लागेपछि सियानमा हड्डी तथा नसामा एमडी गरिरहेका उनी एक्लै बस्ने कुरा पनि भएन।

बुवा महेन्द्रसँग श्रवणले आफू अन्यौलमा परेको सुनाए। महेन्द्रले भने छोरालाई फर्कन सुझाए। फर्कन सहमत भए श्रवण।

शनिवार महेन्द्र ढुक्क थिए : श्रवण फर्कनेमा।

तर, साँझतिर भने आत्तिए महेन्द्र।

कारण थियो : १८५ मध्ये १० जना नेपाल नफर्कने खबर।

महेन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्। आफ्नै छोरा भाइरस संक्रमणको त्रासमा रहेको शहरमा उद्धारको पर्खाइमा छन्।

मन्त्रालयमा दैनिक आएर अभिभावकहरु उनलाई नै भन्थे,'हाम्रा छोराछोरीलाई रेस्क्यु गर्नुपर्‍यो।'

आफ्नो छोरा पनि त्यही रहेको पीडा त छँदै थियो, अरु अभिभावकका पीडा पनि जोडियो त्यहाँ।  

शनिवार साँझ ६:३० बजे रेडियो नेपालमा अन्तरसंवाद कार्यक्रममा बोल्दै थिए प्रवक्ता श्रेष्ठ। सन्दर्भ चीनबाट फर्काइने विद्यार्थी।  त्यसैले उनले त्यसबारे जानकारी लिन चीनस्थित नेपाली दुतावाससँग सम्पर्क गरे। १८५ जनामा १७५ जनामात्रै फर्किने थाहा पाए। १० जनामा ६ जनाको शरीरको तापक्रम उच्च देखियो। उनीहरुलाई चीनले नेपाल पठाएन। ४ जनाले आउन चाहेनन्।

शनिवार बेलुकीसम्म सबै नेपालीसँगै आफ्नो छोरा पनि फर्कनेमा आशावादी प्रवक्ता श्रेष्ठलाई त्यसपछि थपियो चिन्ता।

शुक्रवारमात्र श्रवणले आफूलाई ज्वरो आएको सुनाएका थिए। त्यसैले नेपाल फर्कनेहरुको सूची नहेरुन्जेल उनलाई चिन्ताले गाँजिरहेको थियो। जब नेपाल फर्कनेमा छोराको पनि नाम देखे ढुक्क भए उनी।

'त्यो ज्वरो संक्रमणले नभइ चिसोले त्यस्तो भएको रहेछ,' उनले भने।

शरीरको तापक्रम बढेकोले ६ जना नेपाल फर्कन पाएनन्। त्यसको पीडा प्रवक्ता श्रेष्ठले बुझेका छन्। त्यसैले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पीडा सुनाए। चीनमै बस्न बाध्य ६ जना विद्यार्थीका अभिभावकको पीडा बुझेको बताए।  

'मेरो छोरा पनि आउन नपाएको भए त्यो अवस्थामा एउटा म पनि रुने थिएँ', श्रेष्ठले भने, 'उनीहरुको अवस्थाबारे हामीले जानकारी लिँदै छौं।'  श्रेष्ठका अनुसार नेपाल फर्कन नपाएका ६ जना सबै सुरक्षित रहेको जानकारी उनलाई दुतावासले दिएको छ।

हाल प्रवक्ता श्रेष्ठका छोरा श्रवण खरिपाटीस्थित क्वारेन्टाइनमा छन्। बावु अनि त्यसमाथि स्वास्थ्य मन्त्रालयका प्रवक्ता, तर पनि आफ्ना छोरालाई भेटेका छैनन् उनले। अभिभावकसँग १४ दिन भेट्न पाउँदैनन् क्वारेन्टाइनमा रहेकाले।

महेन्द्र छोरासँग निरन्तर फोन सम्पर्कमा छन्। 'म खुसी छु र मेरो छोरा पनि,' श्रेष्ठले भने। सरकारले एयरलिफ्टमार्फत आफ्ना छोराछोरी सुरक्षित साथ ल्याएकोमा खुसी छन् अभिभावकहरु।

**

बुधवारको पत्रकार सम्मेलनमा खरीपाटीमा चीनबाट फर्काइएका १७५ जनामै कोरोना संक्रमण नदेखिएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।  उनीहरुलाई फागुन ४ गते बिहान त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरी खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा लगिएको थियो।

फागुन ४ गते नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिकहरुले क्वारेन्टाइन स्थलमा नै पुगेर १७५ जनाकै नाक र घाँटीभित्रको स्वाबको नमुना संकलन गरेका थिए।

उक्त संकलित नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याई फागुन ४, ५ र ६ गते सम्म निरन्तर रुपमा परीक्षण गरिएको थियो। जसमा छ गते अपराह्न परीक्षणको नतिजाअनुसार कुनैपनि नमुनामा २०१९ कोरोना भाइरस संक्रमण नदेखिएको प्राविधिक टोलीको निष्कर्ष छ। उक्त नतिजाले नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुसी व्यक्त गरेको छ।

त्यस्तै क्वारेन्टाइनमा बसेका सबैको १४ दिनपछि पुन: परीक्षण गरिने छ। यदि परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएमा उनीहरुलाई आआफ्नो घर पठाइने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

उद्धार गरी ल्याइएका १७५ जनाको चीनमा नै स्वास्थ्य परीक्षण गरी ल्याइएको थियो जसमा १३४ जना पुरुष र ४१ जना महिला छन्।

हाल क्वारेन्टाइन बनाइएको क्षेत्रमा बसोवास गर्ने मानिसहरु त्रसित देखिएको समाचारहरु सार्वजनिक भइरहेका छन्। तर, अहिले स्थानीयमा भाइरसको संक्रमणलाई लिएर कुनै दुविधा नभएको श्रेष्ठको दाबी छ। मंगलवारमात्रै स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयले खरिपाटीमा जनचेतना कार्यक्रम आयोजना गरेको थियो। बुधवार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले क्वारेन्टाइन क्षेत्रको निरीक्षण गरेका थिए। 

श्रेष्ठले सामान्य रुघाखोकी लागे पनि कोरोनाको शंका नगर्न र त्रासमा नबस्न आग्रह गरेका छन्। उनले चीनबाट फर्किएका कसैसँग बस्दा रुघाखोकी लागेमा तुरुन्त परीक्षणमा गराउनसमेत सुझाव दिए।

'संक्रमण हुने खतरा धेरै नभए पनि सबै जना सतर्क हौं,' श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell