PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

पशुपतिमा युवाहरुको 'झ्याप' हुने मुड : जोडिँदै 'जोगी'हरुसँग



सहयोग रञ्जित

पशुपतिमा युवाहरुको 'झ्याप' हुने मुड : जोडिँदै 'जोगी'हरुसँग

आउँदो शुक्रवार महाशिवरात्री। पशुपति क्षेत्रमा लाखौं भक्तजन भगवान् शिवको आरधना गर्न यहाँ पुग्छन्। देशबाट मात्र नभइ छिमेकी मुलुक भारतबाट पनि हजारौंको संख्यामा शिव भक्तहरु पशुपति पुग्ने गर्छन्। भारतबाट पशुपतिमा आउनेहरुको भिड बढ्न थालेको छ।

भक्तजनहरुलाई चारवटा लाइनबाट पशुपति मन्दिर प्रवेश गराउने र दुई घण्टा भित्र दर्शन गराउने योजनामा पशुपति विकास कोष छ। यस वर्ष शिवरात्रीका दिन करिब दश लाख भक्तजन पशुपति पुग्ने अनुमान गरिएको छ। साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समेत दर्शनका लागि पुग्नेछिन्।

त्यसदिन पशुपति पुग्ने दर्शनार्थीहरुका लागि ठाउँ ठाउँमा चन्दनको व्यवस्था गरिनेछ। यतिखेर पशुपति मन्दिर परिसरलाई फूलमालाले सजाउने र बत्तीहरु राख्ने काम भइरहेको छ।

तयारीका बीचहाल पशुपतिमा साधु सन्त र नागाहरुको उपस्थिति बढ्दै गएको छ। गत वर्ष करिब ५ हजार साधुसन्त पशुपति पुगेका थिए। भारतमा कुम्भ मेला भएकाले पोहर साधुसन्तको संख्यामा कमी आएको थियो। यसपटक गत वर्षभन्दा धेरै साधु सन्तहरु आउने अनुमान कोषको छ। 

'भाङ धतुरो निषेध' नाममा मात्रै…

शिवरात्रीका दिन धेरै संख्यामा युवायुवती पशुपति पुग्ने गर्छन्। धेरैको उद्देश्य शिवको दर्शन भन्दा पनि शिव बुटी अर्थात् गाँजा, भाङ र धतुरो खानु हुन्छ। त्यसका लागि उनीहरु पुग्छन् नागा बाबा र साधुहरु कहाँ।

शिवरात्रीको तयारीबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव प्रदीप ढकालले पशुपतिलाई दुर्व्यसनमुक्त क्षेत्र रहेको दाबी गरे। शिवजीको पावन भूमिमा भाङ, धतुरो, गाँजा, चरेस लगायत नशालु पदार्थमाथि प्रतिबन्ध लगाइएको उनको दावी छ। र, यो दावी पछिल्ला हरेक वर्षहरुमा हुँदै आएको छ जुन व्यवहारमा भने फिटिक्कै लागू भएको देखिन्न।

'शिवरात्रीका दिन गाँजा भाङ खान पशुपति जाने भन्ने प्रवृत्ति वृद्धि भइरहेको छ। त्यो सरासर गलत हो। यो आध्यात्मिक क्षेत्र हो। हामीले गएका केही वर्षदेखि यस्ता पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउँदै आएका छौं। यस वर्ष पनि हामीले त्यसलाई निरन्तरता दिएका छौं,' उनले भने।

पशुपति लागू पदार्थ सेवन गर्ने स्थान नभएकोले शिवरात्रीमा पशुपतिमा आएर शिवको उर्जाबाट प्रेरणा लिन र जीवन धन्य बनाउन उनले सुझाव दिए।

साधु सन्त र नागाबाबाहरुले भाङ गाँजाको प्रयोग गर्ने बारेमा उनले भने, ' साधु सन्तले पनि खाँदैनन्। हामीले उहाँहरुलाई सम्झाएका छौं।'

गाँजा लगायतका नशालु पदार्थ सेवा गर्नु गैर कानूनी रहेको र गाँजा व्यापारका लागि पशुपति आउने होइन भन्दै उनले प्रहरी लगाएर यस्ता प्रवृतिहरुमाथि नियन्त्रण गरिरहेको बताए।

ढकालले वनकालीमा यस्तो दाबी गरिरहँदा उता पशुपति परिसरमा केही नागा बाबा र साधुसन्तहरु गाँजा तान्दै देखिन्थे। न त प्रहरीको डर न कोषको नै।

ढकालले भने झै यी बाबाहरुको न जात हुन्छ न देश। यिनीहरुको कथा जिवन्त छ। त्यही जिवन्तता हेर्न केही दिनयता पशुपतिमा युवाहरुको भिड लागेको छ। ढकालले यता पशुपतिमा गाँजा, भाङ बेच्न रोकिएको बताइरहँदा युवाहरु नागा बाबासँग लठ्ठिरहेका देखिन्थे। उनीहरु बाबाहरुलाई खुशी पार्दै गाँजा र भाङ किन्ने होडमा पनि थिए।

साधुको बढ्दो संख्यासँगै पशुपति क्षेत्रमा गाँजाको बासना बढ्दै गएको छ।

श्लेषमान्तक वन जाने खुड्किलामा नागा बाबाहरुको उपस्थिति उल्लेखनीय छ। कोही आगो ताप्दै त कोही कथा सुनाउँदै। त्यहाँ पुगेका युवा पनि बाबाहरु बसेका ठाउँमा झुम्मिँदै थिए।

पशुपति विकास कोषले हरेक वर्ष गाँजा, भाङ लगायतका नशालु पदार्थमा प्रतिबन्ध लगाउने घोषणा गर्दै आएको छ।

सदस्य सचिव ढकाल भन्छन्, 'हामी निरन्तर यस्ता गतिविधि रोक्ने प्रयासमा छौं।'

रोचक त के भने शिवरात्रीमा पशुपति आउने भारतीय 'जोगी'हरुलाई गाँजा र दक्षिणा दिने परम्परा थियो जसमा पछि रोक लगाइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell