PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बास्कोटा



रासस

एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बास्कोटा
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा कञ्चनपुरको भीमदत्तनगरमा बुधवारदेखि शुरु भएको १३ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै। फोटो : रासस

कञ्चनपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिलेनियम च्यालेज कर्पोरेसन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन्।  सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको बुधवार उद्घाटन गर्दै मन्त्री बास्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताए।

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

‘एमसिसीबारे समय लिएर नै अध्ययन गर्नुपर्छ’, सरकारका प्रवक्ता बास्कोटाले भने, ‘एमसिसी नेपालको हितमा भएमात्रै लागू गर्छौँ।’

उनले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताए। निजी क्षेत्रले पारदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बास्कोटाको भनाइ थियो।

शिक्षा र भूमिसम्बन्धी सरकारले नयाँ नीति ल्याइरहेको चर्चा गर्दै उनले वर्षौँदेखि भोगचलनमा रहेको जग्गाको मालिक जनतालाई बनाउन सरकार प्रतिबद्ध रहेको बताए। सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा जोड दिइ पर्यटन प्रवर्द्धन गरिनुपर्ने उनले बताए। सरकारले महाकाली, कर्णाली करिडोरको काम अघि बढाउने बताउँदै मन्त्री बास्कोटाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले समेत गति लिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell