PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

समयमै बन्ला संघीय संसद् भवन? निर्माणस्थल अझै पूरै खाली भएन

समयमै बन्ला संघीय संसद् भवन? निर्माणस्थल अझै पूरै खाली भएन

कुञ्जरमणि भट्टराई/पहिलोपोस्ट


काठमाडौं : चार वटा टावर क्रेन। अत्याधुनिक उपकरण। तीन सय कामदार। ४० सुपरभाइजर।

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद् भवनमा देखिने दृश्य। प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १ गते भवनको शिलान्यास गरेका थिए। असोज १६ गतेबाट निर्माण कार्य थालिएको हो।

पाँच महिनामा के-के भए काम?

यहाँ साना र ठूला गरी १२ वटा भवन निर्माण हुनेछन्। जसमध्ये हाल पार्किङ ब्लकको जगको काम भइरहेको छ। संसद भवनभित्र रहने संसदीय समिति भवनको जगको काम थालिएको छ। संसद् सचिवालय रहने भवनको जग ढलान हुने अवस्थामा छ।

सेन्टर लवीको काम पनि भइरहेको भवन निर्माण विभागका इन्जिनियर विष्णुदास लामाले जानकारी दिए। निर्धारित तालिका अनुसार नै भइरहेको लामाले बताए।

संसद् भवनको जिम्मा पाएको निर्माण कम्पनी टुडी सेक जेभीका प्रोजेक्ट म्यानेजर काशीनाथ डोटेल समय अगावै निर्माण कार्य सक्ने लक्ष्यसहित चार वटा टावर क्रेन र अन्य उपकरण सञ्चालन गरिएको बताउँछन्।

उनका अनुसार तीन सय कामदार बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खटिन्छन्। काम तीव्र गतिमा भइरहेको दाबी उनले पनि गरे।

वर्षायाम अघि नै जग

वर्षायाम अघि नै जगको काम सक्न कम्पनीलाई सहरी विकास मन्त्रालयको भवन निर्माण विभागले भनेको छ। प्रोजेक्ट म्यानेजर डोटेल वर्षायामअघि नै फाउण्डेसनको काम सक्ने बताउँछन्।  

भन्छन्, 'वर्षायामअघि सबै भवनको जग उठाउने  काम गरिरहेका छौं।'

डोटेलले १२ वटै भवनको जगको काम एकैपटक सक्नेगरी आफूहरुले स्रोत परिचालन गरे पनि स्थान खाली नहुँदा काममा ढिलाइ भएको बताए।

संसद् भवन निर्माण गर्ने स्थानमा सैनिकको गुल्म थियो। भवन निर्माणका लागि स्थान खाली गराउन लागि उनीहरुलाई नारायणहिटीमा सारिएको छ। अझै केही कार्यालय हट्न बाँकी छ।

सबै स्थान एकैपटक खाली नहुँदा तीन महिना ढिलाइ भएको उनले दावी गरे।

'एकैपटक साइट खाली नहुँदा ३ महिना ढिलाइ भइसकेको छ। अझै २० प्रतिशत स्थान खाली गर्न बाँकी छ। अब ठाउँ छिट्टै खाली गर्न आश्वासन पाएका छौं। तथापि समय अगावै काम सक्नेगरी अघि बढिरहेको छौं', उनले सुनाए।

गत फागुन ४ गते निरीक्षणका क्रममा पुगेका सभामुख अग्निप्रसाद सापकोटासँग डोटेलले स्थान खालीका लागि पहल गरिदिन पनि आग्रह गरे।

सो क्रममा सापकोटाले अन्य केही समस्या भए आफूले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। साथै सभामुख सापकोटाले समयावधि अगावै काम सम्पन्न गर्न निर्देशन दिए।

संसद् भवन निर्माण प्रतिष्ठाको विषय भएकाले छिट्टै सम्पन्न गर्नुपर्ने सापकोटाको भनाइ थियो।

काम गर्ने स्थानमा विद्युतका पोल रहेको र हटाउन ढिला भइरहेकाले पनि काममा बाधा पुगेको डोटेलको गुनासो छ।

कस्तो बन्छ भवन?

१७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ सय ७१ वर्ग मिटर क्षेत्रफलमा बन्न लागेको संसद् परिसरमा १२ वटा भवन निर्माण हुनेछन्।

प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, (राष्ट्रिय सभा र प्रतिनिध सभाको बीचमा) कमन लवी, अति विशिष्ट व्यक्तिहरुको कार्यालय ,पुस्तकालय, संसदीय दलको कार्यालय भवन,संसदीय समितिको भवन, संसद् सचिवालयको भवन लगायत चमेना गृह, प्रेस छपाई भवन, पार्किङ तथा सुरक्षाकर्मीको भवन निर्माण हुनेछ।

जसमध्ये भवन क्षेत्रले कुल भू-भागको २७ प्रतिशत ओगट्ने छ। भवनबाहेक ४५ प्रतिशत भू-भाग खुल्ला हरियाली क्षेत्रले तथा बाँकी क्षेत्रफल सडक पूर्वाधार तथा वाटरबडी रहनेछ।

प्राय भवन बढीमा ३ तलाको बनाइने बताइएको छ। संघीय संसद्को भवन र कार्यालय पाँच तलाको बन्नेछ।

प्रतिनिधि तथा राष्ट्रिय सभाको बीचमा तीन हजार वर्गमिटर जमिन राखिएको छ। प्रतिनिधिसभा भवनमा चार सय अट्ने हल लगायत प्राविधिक कक्ष, सभामुख कक्ष, पत्रकार सम्मेलन कोठा, विशिष्ट कमिटी हल तथा तीन सय जना दर्शक, प्रत्रकार अट्ने बालकोनी हल तथा दुई सय जना अट्ने अर्को हल रहनेछ।

राष्ट्रिय सभा हलमा एक सय जना अट्ने हल लगायत विभिन्न प्रविधिक कक्ष रहनेछन्। मुख्य संसद्को भवनको दायाँतिर तीन तलाको संघीय संसद् सचिवालयका कार्यकक्ष रहनेछन्।

यस परिसर वरिपरि करिब तीन सय ५० गाडी पार्किङ गर्न मिल्ने गरी सरफेस पार्किङ तथा करिब तीन सय नै गाडी एकैपटक पार्किङ गर्न मिल्ने डबल बेसमेन्टसहितको छुट्टै पार्किङ भवन बन्नेछ। सुरक्षा निकायको भवन पनि रहनेछ।

५ अर्ब ३ करोडमा निर्माण सम्झैता भएको छ।

सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद् बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell