
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको 'घुस लेनदेनको' अडियो सार्वजनिक भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न उनी बालुवाटार पुगेका हुन्।
मन्त्री बाँस्कोटा सेक्युरिटी प्रेस खरिदमा रकम बार्गेनिङ गरेको विवादमा मुछिएका छन्।
सेक्युरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधि विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले बोलाएर कमिसनको अंकबारे सांकेतिक कुरा गरेको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विरोध भएको छ। यसअघि प्रचण्डले पूर्व माओवादी समूहका नेताहरुसँग छलफल गरिसकेका छन् यसै विषयलाई लिएर। प्रचण्ड निवासमा भएको छलफलपछि उनी सोझै बालुवाटार हानिएका हुन्।
गृहमन्त्री रामबहादुर थापा र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आज बिहान प्रचण्ड निवास पुगेका थिए। उनीहरु पनि बाँस्कोटा प्रकरणकै विषयमा छलफल गर्न त्यहाँ पुगेका थिए।
यसैगरी प्रतिपक्षी नेपाली कांग्रेसले मन्त्री बाँस्कोटलाई बर्खास्त गर्न माग गरेको छ। सो विषयमा ओली र प्रचण्डबीच छलफल हुने बुझिएको छ।
भेटबारे बुझ्न खोज्दा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले भने, 'प्रकरणबारे प्रधानमन्त्रीलाई जानकारी छ। उहाँ (बाँस्कोटा) काठमाडौं फर्किँदै हुनुहुन्छ। उहाँ आएपछि कुराकानी हुनेछ।'
बाँस्कोटा आजै काठमाडौं फर्किँदै छन्।