PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

७० करोडको घुस लेनदेन अडियोबारे विजयप्रकाश मिश्र : १७ महिनाअघि, मन्त्रालयमै भएको हो कुराकानी



सविन ढकाल

७० करोडको घुस लेनदेन अडियोबारे विजयप्रकाश मिश्र : १७ महिनाअघि, मन्त्रालयमै भएको हो कुराकानी

'टोटलमा रकम कति निस्कन्छ?'

उनी प्रश्न गर्छन्।

उताबाट उत्तर आउँछ - बेस चाहिँ तपाईँहरुको, उसमै जाने हो हामी।

उनी फेरि बोल्छन् - 'सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो।'

'७० जति त निस्किन्छ होला।'

अर्थात् ७० करोड।

यस्तै संवादको अडियो बुधवारदेखि भाइरल छ। अडियोका उनी अर्थात् त्यो आवाजसँग सबै परिचित छन्। त्यो आवाजका धनी हुन्, संचारमन्त्री गोकुल बाँस्कोटाको।

तर, अर्को आवाज धेरैका लागि अपरिचित छ। अर्को आवाज हो विजयप्रकाश मिश्रको। लेखा समितिमा सुरक्षित मुद्रणमा विज्ञको रुपमा परिचित छन् उनी। तर, अडियोले भने मिश्रले मन्त्री र सेक्यरिटी प्रिन्टिङ मेसिनका एजेन्ट रहेको देखाउँछ।

मन्त्री बाँस्कोटाले करौडौं घुस लिन खोजेको अडियोले छताछुल्ल पारेको छ। तर, मन्त्री बाँस्कोटाले त्यसलाई नकारिसकेका छन्। घुस लिने मनासयले डिल नगरेको उनको दावी छ।

अडियो सार्वजनिकपछि मन्त्री बाँस्कोटाले भनेका छन्, 'अभियोगको भरमा डराएर खुट्टा कमाएर हिँड्नु पर्ने अवस्था छैन। यहाँ ६० करोडको कुरा छ होइन? ७० करोड या कुनै। जतिसुकै करोडको होस्। मैले आफ्नो लागि थुपार्ने होइन। मैले जनतालाई धोका दिनु हुँदैन। आरोप त जे पनि लाग्छ।'

तर, रकमको डिल गर्न पुगेका विजय मिश्र भने मन्त्रीले घुस रकम लिने सोचअनुसार नै डिल भएको दावी गरिरहेका छन्।

पहिलोपोस्टको सम्पर्कमा आएका मिश्रले प्रश्न तेर्स्याउँदै भने, ' ४ सय रुपैयाँ घुस लिनेलाई अख्तियारले नछोड्ने ५ अर्बको भष्टाचारीलाई के गर्ने?'

बुधवार बाहिरिएको अडियो रेकर्ड करिब १७ महिना अगाडि भएको उनले बताए। मिश्रले संचारमन्त्री बाँस्कोटालाई मन्त्रालयमा भेटेर नै यस्तो कुराकानी गरेको दावी गरे।

'यो करिब १७ महिना अगाडिको अडियो हो। मन्त्रालयमा नै भएको कुराकानी,' उनले भने।

पुस ७ गतेको मन्त्रिपरिषद बैठकले सेक्युरिटी प्रिन्टिङ मेसिन खरीद गर्न सरकारले (जी टू जी) प्रकृया मार्फत् जाने र रकम सुचना प्राविधि मन्त्रालयले निकासा गर्ने निर्णय गरेको थियो। मन्त्री बाँस्कोटाको रकम बार्गेनिङका विषयमा लेखा समितिमा समेत कुरा भएको मिश्रले जानकारी दिए।

'धेरै कुरा लेखा समितिमा नै छ। गएर हुर्नुहोस् न। कतिमा भएको छ। के हो,' उनले भने।

धेरैले बुधवार बाहिरिएको रेकर्ड फेक भएको समेत तर्क गरिरहेका छन्। तर, मिश्र भने यसलाई सहजै स्वीकार्दैनन्। 'फेक कस्ले भन्यो उसलाई सोध्नुहोस्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell