PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नवौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार अभाव हुँदैन : सदस्य सचिव सिलवाल



रासस

नवौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार अभाव हुँदैन : सदस्य सचिव सिलवाल
फाइल फोटो।

पोखरा : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समेत तयारी शुरु भइसकेको बताएका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा उनले आगामी वर्षको फागुनमा पोखरामा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधारको समस्या नरहने दावी गरे। उनले कर्णाली प्रदेशका लागि अहिलेबाटै ध्यान केन्द्रित गरी अन्तर्राष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम शुरु गरिएको बताए।

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) भव्यताका साथ सम्पन्न गरेकोमा गर्व गर्दै पूर्वाधार शून्य भएको ठाउँमा विकासका लागि बोलपत्र आह्वान गरेर निर्माणको सुरुवात गरिएको उनले बताए।

‘सागको हामीले गर्व गर्नुपर्दछ, तर त्यसको मात्र गुनगान गाएर बस्नु हुँदैन, अर्कोतिर जानुपर्दछ। हामीलाई नवौँको भन्दा पनि १० औँको बढी चिन्ता छ’, उनले भने, ‘पूर्वाधार शून्य रहेको कर्णालीमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार बनाएर प्रतियोगिता गर्नु चुनौती छ, चुनौतीभन्दा ठूलो अवसर हो।’

राष्ट्रिय खेलकुदका लागि पोखरामा निर्माण गर्न बाँकी सुटिङको पूर्वाधार निर्माणका लागि यसै हप्ताभित्र बोलपत्र आह्वान गरिने तथा पौडी पोखरीका लागि आगामी वैशाखभित्रमा सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर काम शुरु गरिने बताए।

राष्ट्रिय खेलकूदका ३५/३६ खेलमध्ये गण्डकीका १० जिल्लामा एक/एक खेल सञ्चालन गर्ने र बाँकी सबै खेल पोखरामै खेलाइने सिलवालको भनाइ छ।

हाल देशभर स्वतःस्फूर्त रुपमा खेलकुदका गतिविधि बढ्नु तथा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा लगानीकर्तामा समेत खेलकुदमा लगानी गरेपछि प्रतिफल आउँदोरहेछ भन्ने महसुस हुन थाल्नु सागको सकारात्मक पक्ष रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell