
काठमाडौं : नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ‘टेप’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरेको छ।
नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बाँस्कोटाको विषयमा प्रधानमन्त्रीले सबैलाई थाहा हुनेगरी संसदलाइ जानकारी दिनुपर्ने बताएकी हुन्।
‘जग्गा अतिक्रमणमा जमिन फिर्ता गर्नेलाई कारबाही हुदैन भनेजस्तै यसमा पनि राजीनामा दिए कारबाही हुदैन भनेजस्तै नहोस्,’ उनले भनिन्।
बाँस्कोटा प्रकरणको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने पनि उनको माग छ।
उनले भनिन्, ‘मन्त्रिपरिषद्को सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिने परिपार्टी छ। त्यसैले यसको सम्पूर्ण जिम्मेवारी प्रधानन्त्रीले लिनुपर्छ।’
प्रतिनिधि सभाको बैठका कांग्रेसले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले भुषाललाई बोल्ने पालो दिएका थिए।