PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बाँस्कोटाको राजीनामासँगै प्रधानमन्त्री ओलीको छिनेको एकातिरको 'तुलो'



पहिलोपोस्ट

बाँस्कोटाको राजीनामासँगै प्रधानमन्त्री ओलीको छिनेको एकातिरको 'तुलो'

काठमाडौं : मन्त्रिपरिषद् हेरफेरको चर्को खेल जारी रहँदा सत्ता राजनीतिको केन्द्रमा थिए मन्त्री गोकुलप्रसाद बाँस्कोटा। गोकर्ण विष्ट जत्तिका मन्त्रीलाई 'अक्षम' घोषणा गरेर बहिर्गमनको बाटो देखाइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट प्रश्न उठिरहेको थियो - बीना मगरको सक्षमता चाहिँ कसरी स्थापित हुन्छ?

नेकपा भित्रभित्रै भुसको आगोका रुपमा फैलिएको यही प्रश्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि हुने गर्थ्यो। तर, बीनाको प्रतिरक्षामा थिए पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल।

गोकर्ण विष्ट हटाइँदा उत्तिकै चर्चामा रहेका थिए - संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा। बाँस्कोटाका अभिव्यक्तिलाई लिएर दाहाल चिढिएका थिए। त्यसैले प्रधानमन्त्री ओलीले बीना मगरलाई लिएर कुनै टिप्पणी गर्दा दाहाल पनि बाँस्कोटा हटाउनुपर्ने तर्कमा अडिन्थे।

दुई अध्यक्षको दुई निसानामा थिए बीना र गोकुल। यी दुवै दुई अध्यक्षको उत्तिकै संरक्षणमा। बीना दाहालकी बुहारी। गोकुल चाहिँ मन्त्री हुँदा पनि प्रधानमन्त्री ओलीको निजी निवासमा बस्दै आएका सबैभन्दा नजिकका। लामो रस्साकस्सीबीच मन्त्रीहरु हेरफेर हुँदा दुवै अध्यक्ष आ-आफ्ना पकेटका मन्त्रीहरुलाई जोगाए। र, बहिर्गमनमा परे - गोकर्ण विष्ट। गोकर्ण विष्टको बहिर्गमनले मन्त्रिपरिषद हेरफेर 'दुर्गन्धित' बन्न पुग्यो। भलै मन्त्रिपरिषदबाट केही 'निकम्मा' ठहरिएकाहरु पनि बाहिरिएका थिए। विष्टको सालिन चरित्र र काम गर्ने शैलीले बाँकीप्रति पनि सहानुभुतिका स्वरहरु सुनिए।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको ओजको ग्राफ लगातार माथितिर नै लागिरहेको थियो। त्यसयता भने प्रधानमन्त्री ओलीको शक्तिको पारो लगातार गिर्दो छ। त्यसको पहिलो अध्याय हो - दुई अध्यक्षबीच शक्ति बाँडफाटको सन्दर्भ। पार्टीभित्र पनि र सरकारमा पनि एकलौटी हैसियत जमाइरहेका प्रधानमन्त्री ओली अब सरकारमा मात्र केन्द्रित हुन बाध्य भए पार्टीभित्रको समीकरणमा प्रचण्डले बाजी मारे।

प्रचण्डलाई नै देखाउन ओलीले बाँस्कोटालाईलाई मन्त्रिपरिषद्मा प्रमोसन गरिदिए। सरकारका प्रवक्ता रहेका बाँस्कोटालाई क्याबिनेटमा सहरी विकास मन्त्रालयको थप जिम्मेवारी दिए। यसमा प्रचण्डलाई चित्त बुझेको थिएन। ओलीले सरकारमा आफू निकटलाई बलियो बनाउँदै जाँदा प्रचण्डले पूव एमालेकै साथमा आफूलाई बलियो बनाउँदै लगे।

प्रचण्ड निवासमा वामदेव गौतमदेखि माधवकुमार नेपालसम्म जोडिन पुगेपछि केपी ओली नेकपा सचिवालयमा अल्पमततिर धकेलिने क्रम बन्दै गयो। केन्द्रीय कमिटी बैठकमा एमसीसीको विषयलाई लिएर भएको आलोचना होस् या बामदेव गौतमको उपाध्यक्षमा 'इन्ट्री', कुनै पनि विषय प्रधानमन्त्रीसमेत रहेका ओलीका लागि प्रीतकर थिएनन्। एमसीसी प्रकरणमा पार्टीभित्र नै फरक धार बनाइरहेका भीम रावलले ओली र उनका समर्थकहरुलाई हवाकावा खेलाइरहेका थिए।

फलश्वरुप एमसीसी पास गराउने ‌ओलीको एकसुत्रीय अभियानमा केही ब्रेक लाग्न पुगेको छ। बाध्य भएर झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाउन वाध्य भए ओली। आफ्नो आकांक्षालाई एकातिर पन्छाएर नै भए पनि ओलीले समिति बनाए। सभामुख चयनको प्रकरणमा कार्यकारी अध्यक्ष दाहालले अग्नि सापकोटालाई स्थापित गर्दा ओली निक्कै कमजोर अवस्थामा रहन पुगे। ओलीले सापकोटालाई रोक्न गरेको प्रयास विफल नै भयो। ओली जति कमजोर रहँदै गए त्यसले प्रचण्डको ओज थपिँदै गयो। अन्तत: डिफेन्सिभ अवस्थामा पुगे ओली।

आफ्नो अडानमा सधैं कायम रहने ओलीको आवाजलाई बाहिर बनिरहेको समीकरणले लगातार कमजोर बनाइरहेको थियो। आफ्नो स्वास्थ्य अवस्थालाई लिएर अलिकति पनि टीकाटिप्पणी नरुचाउने ओली बाहिर भने तगडा नै देखिरहन चाहे। मानवीय स्वभाव हो, कोही पनि रोगी देखिन र सुनिन चाहँदैन। न त सत्तामै कमजोर रहेको देखाउन चाहन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय गोकुल बाँस्कोटा हिजो रातिदेखि फेरि मुलुकको बहसको सबैभन्दा केन्द्रमा छन्। यसपाला उनीमाथि कुनै गन्थन होइन, घुससँग जोडिएको अडियो प्रकरणले तानिएका छन्। '७० करोड घुस'को असफल प्रयास यति बेला चर्चामा छ। १७ महिना अघिको प्रकरण रहेको यससँगै जोडिएका विजयप्रकाश मिश्रले नै स्वीकार गरिसकेका छन्। यो अडियोले एकातिर ओलीको मर्ममै प्रहार गरेको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहालको निसाना सहि ठाउँमा लाग्न पुगेको छ।

प्रवक्ताका रुपमा पत्रकारहरुसँगकै संवादमा 'सरकारलाई हेप्नी' भनेर चर्चामा आएका बाँस्कोटाले अडियोमा कर्मचारीतन्त्रमाथि अश्लिल शब्द बर्साए। त्यो बोली यसपटक भने उनैमाथि भारी भयो।

रोचक त के भने, प्रधानमन्त्रीको मन्त्री बाँस्कोटाप्रतिको अनुराग यति धेरै थियो कि उनले बाँकी मन्त्रिपरिषदका सदस्यलाई एकातिर र बाँस्कोटालाई अर्कातिर राखेको सार्वजनिक नै अभिव्यक्ति दिएका थिए। धुलिखेल नगरपालिका स्थापना दिवसमा बाँस्कोटाको प्रशंसामा ओलीले खर्चिएको शब्द यतिखेर निक्कै महँगो सावित भएको छ। ओलीले भनेका थिए - एकातिरको तुलोमा गोकुलजी र अर्कातिर सबै मन्त्रीहरु।

प्रधानमन्त्रीको बाँस्कोटामाथिको आशक्ति भरिएको अभिव्यक्तिका भिडियो फुटेज यतिखेर सामाजिक सञ्जालमा रोचक र घोचक शैलीमा प्रस्तुत भइरहेका छन्। प्रधानमन्त्रीले एकातिरको तुलो ठानेका गोकुल बाँस्कोटा अन्तत: राजीनामा गर्न बाध्य भए। यसपटकको चोटले पटकपटक पार्टीभित्रै घाइते भएका प्रधानमन्त्रीलाई कस्तो असर गर्ला? त्यो समयले नै बताउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell