
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए/नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्विस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरिएको संवाद बाहिरिएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि कांग्रेसले यस्तो धारणा दिएको हो। संसद भवन बाहिर कांग्रेसका नेता गगन थापाले बास्कोटाको राजीनामाले मात्रै नहुने उल्लेख गर्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म देश आश्वस्त नुहने बताए।
प्रधानमन्त्रीले बिहीवार सार्वजनिक भएको अडियो एक महिना अगाडी नै सुन्नुभएको कुरा बाहिर आएको उल्लेख गर्दै थापाले भने, ‘अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बाँस्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो?’
थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन? भन्दै प्रश्न गरे।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले यस्ता गम्भीर विषयमा संसदमा छलफल गरेर टुंग्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए। सत्तापक्षले छलफल गर्न नचाहने र प्रतिपक्ष अल्छि भएर जे कुरामा पनि संसद अवरुद्ध गर्ने राम्रो नभएको भन्दै उनले संसदमा गम्भीर छलफल गरेर समाधान गर्नेतिर जानुपर्ने बताए। उनले सत्ता वरिपरिकै मानिसहरुले लाभ लिने गरी भ्रष्टाचार मौलाएको समेत बताए।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बाँस्कोटाको राजीनामा तर्फ संकेत गर्दै प्रधानमन्त्री र सत्तारुढ दलले देखाएका दतारुकता देशसामु प्रष्ट भएको प्रतिक्रिया दिए। योभन्दा पहिलेका प्रधानमन्त्री र सरकारले यति प्रष्टताका साथ निर्णय गरेका उदाहरण कमै रहेको उनले बताए।
पूर्व, कानून न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका सांसद शेरबहादुर तामाङले यस्ता कुराले नेपालको शासन प्रकृया र स्वरुपमा प्रश्न चिह्न खडा गरेको बताए। नेता, नेतृत्व र जननिर्वाचित व्यक्तिले जनताको मतप्रति वफादारिता देखाउनुभन्दा निर्वाचनमा लागेको खर्चप्रति बफादार हुने प्रवृति बढेको बताए।
आफू मन्त्री हुँदा कमिसन कानुन बनाएर कमिसनबाट उठ्ने रकमलाई राज्यको खातामा हाल्नुपर्ने कानुन ल्याउन खोजेपनि सम्भव नभएको बताए। फेरी पनि सरकारले कमिसन कानुन लिएर आउनुपर्ने माग उनको थियो।
बाँस्कोटाले एजेन्टसँग कमिसनका विषयमा मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपनि पदबाट राजीनामा दिएका छन्। उनले आफूमाथि प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।