PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेता काण्डैकाण्डमा मुछिँदा प्रधानमन्त्रीका 'अरिंगाल'हरुले नै आफूलाई ठान्न थाले असुरक्षित



विधुर ढकाल

नेता काण्डैकाण्डमा मुछिँदा प्रधानमन्त्रीका 'अरिंगाल'हरुले नै आफूलाई ठान्न थाले असुरक्षित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकपछि अर्को काण्डमा मुछिँदै जाँदा कार्यकर्ताहरु असुरक्षित महसुस गर्न थालेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक आफ्ना कार्यकर्ताहरुलाई सरकारको कामको बचाउ गर्न निर्देशन दिँदै आएका छन्। प्रधानमन्त्रीकै भाषामा भन्ने हो भने, 'अरिंगाल'हरु सरकारको बचाउमा लाग्नु पर्ने थियो। तर, पार्टीका नेताहरु, सरकारका मन्त्रीहरु एक पछि अर्को काण्डमा मुँछिँदै जाँदा 'अरिंगाल'हरु सरकारको बचाउ भन्दा पनि आफ्नै बचाउमा लाग्नुपर्ने अवस्था आइपरेको छ।

ललिता निवास प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेल मुछिए। त्यतिबेला पार्टीका अरिंगालहरु पौडेलको बचाउमा अभिव्यक्ति दिँदै गए। जसोतसो नाक जोगाउनकै लागि र पार्टीका सदस्यको जिम्मेवारी पूरा गरे। यसरी पौडेलको बचाउ गर्नेमा पूर्व एमालेहरु देखिएका थिए।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा विष्णु पौडेललाई जग्गा फिर्ता गर्ने सहमति गरेको भन्दै चोख्याइयो।

त्यसपछि आयो महरा प्रकरण। संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लाग्यो। उनी तीन महिना कारागारमा बसे। उनलाई अदालतले सफाइ दियो।

महरा प्रकरणलाई नेकपाका 'अरिंगाल'हरुले राष्ट्रियातासँग जोडेर महरालाई निर्दोष भनिरहे। नेकपा भित्रको पूर्व माओवादीको एउटा समूह उनको पक्राउलाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमएमसी)सँग जोडेर बचाउमा लागिरहे।

एमसीसी पास गर्न रोकेको भन्दै अमेरिकी ग्राण्ड डिजाइनमा उनलाई फसाइएको दलिल उनीहरुले पेश गर्दै आए।

अहिले आएर सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस सम्बन्धी अडियो टेप सार्वजनिक भयो। भलै बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् तर नेकपाका नेता कार्यकर्ताहरुलाई सरकार र पार्टीको बचाउ गर्न सकस थपिएको छ।

प्रधानमन्त्री ओलीले सरकारका अरु सबै मन्त्रीहरु एकातिर र गोकुल बास्कोटा एकातिर हुँदा बाँस्कोटा भारी पर्ने बताउँदै आएका थिए। तर, उनै बाँस्कोटा टेप प्रकरणमा मुछिए।

'नेकपाका नेता भन्न पनि गाह्रो पर्न लागिसक्यो,' बिहीवार सिंहदरबार अगाडि भेटिएका नेकपाका एक केन्द्रीय सदस्यले भने, 'बाहिर हिँड्दा कुटाइ खाइने त होइन भन्ने डर लाग्छ आजकल। यस्तो हुँदा कसरी सरकारको बचाउ गर्नु? कसरी पार्टीको बचाउ गर्नु?'

सिंहदरवार नजिकै चियापसलमा भेटिएका उनले भने, 'सरकार र पार्टीको पक्षमा सकरात्मक कुरा कहिँ पनि सुनिँदैन्। जता पनि सरकारको विरोध हुन्छ। त्यो भिडमा सरकारको पक्षमा बोल्यो भने त मारिहाल्लान नि?'

चिया पसलमा बास्कोटाको टेप काण्डकै बारेमा चर्चा भइरहेको थियो।

'सुनेको नसुन्यै गर्‍यो, हिँड्यो। चिया पसल होस या सार्वजनिक यातायात, सरकारको नकरात्मक कुरा मात्रै सुनिन्छ। एउटा भए पो बचाउ गर्नु। कतिमा बचाउ गर्न सकिन्छ?,' ती नेताले उल्टो प्रश्न गरे, 'सरकारले राम्रो काम गर्‍यो भनेर कहिँ सुनिँदैन्। ललिता प्रकरणमा विष्णुजीलाई छुटायो। महरा काण्डमा पावर भिडायो। एमसीसीमा अरबौं कमिसन खायो। अहिले ७० करोडको टेप नै आयो। हामीले मात्र बचाउ गरेर कति हुन्छ? जनताले पनि बचाउ गर्ने वातावरण हुनुपर्‍यो नि।'

आम जनताले सरकारले गरेका एउटा राम्रो काम सुन्न नपाएको बताए।

'अलिअली वुहानबाट विद्यार्थी फर्काउँदा सरकार रहेछ भन्न मलिन आवाज सुनिन थालेको थियो,' उनले भने, 'अब त्यो पनि टेप प्रकरणले ओझेलमा पारिदियो।'

अनेरास्वियुका एक नेता पनि बिहानदेखि नै तनावमा थिए। 'विष्णु पौडेलको विषयमा त छोराको नाम अघि सारेर जसोतसो बचाइयो। तै पनि पार्टी बदनाम भइरहेकै छ,' उनले आरआर क्याम्पसमा सुनाए, 'अब मन्त्रीको नाम आयो। कसरी बचाउन सकिन्छ?'

धन्न मन्त्रीले राजीनामा दिए। त्यसपछि भने अखिलका ती नेताले फेसबुकमा लेखे - कमरेड गोकुल बाँस्कोटाद्वारा राजीनामा, धन्यवाद।

अरिंगालहरु आन्तरिक कलहमै ब्यस्त कसले बचाउ गर्ला सरकारको

पार्टी एकता भएको २० महिना पुगिसकेको छ। संगठनात्मक एकता जसोतसो सकिए पनि भावनात्मक एकता अझै हुन सकेको छैन। पार्टीका अरिंगालहरु एकापसमा नै भिँड्दै छन्।

पछिल्लो कलह जनयुद्ध दिवसमा देखियो। पार्टी कार्यालयमा जनयुद्ध सुरुवात भएको दिन फागुन १ गते नेकपाले जनयुद्ध तथा जनआन्दोलका शहीदहरुको सम्झनामा आयोजित कार्यक्रममा पार्टीकै एक अध्यक्ष ओली पुगेनन्। पूर्व माओवादी समूह यसैमा असन्तुष्ट देखिए।

रुकुममा भएको कार्यक्रममा व्यानरमै जनयुद्ध दिवस लेखिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले विरोध जनाए। त्यहाँ मन्चमै नेकपाका नेताहरुले एक अर्कालाई आक्षेप लगाए।

चितवनमा यसै विषयलाई लिएर पार्टी कार्यालय नै तोडफोड भयो। पूर्व माओवादी समूह निकट विद्यार्थीले जनयुद्ध दिवस मनाएर फोटो फेसबुकमा हाले। कार्यक्रममा सहभागी नभएका पूर्व एमाले समूह निकट विद्यार्थी नेताहरुले नकरात्मक प्रतिक्रिया दिए, त्यसमा। दुई समूहबीच झडप भयो। यही झडपले कार्यालय तोडफोडसम्मको घटना निम्त्यायो।

'पार्टी भित्र भावनात्मक एकता हुन सकिरहेको छैन,' ती केन्द्रीय सदस्यले भने, 'यस्तोमा हामी एकअर्कासँगै भिडिरहेका छौँ। कसरी अरुसँग भिड्न सकिएला?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell