PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गोकुल बास्कोटाज्यू को भाषा सुनेर दुर्गेस थापा, 'भिटेन'हरु रुँदै छन् रे!



पहिलोपोस्ट

गोकुल बास्कोटाज्यू को भाषा सुनेर दुर्गेस थापा, 'भिटेन'हरु रुँदै छन् रे!

बुधवार राती सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको 'घुस लेनदेनको' अडियो सार्वजनिक भयो। उनी सेक्युरिटी प्रेस खरिदमा रकम बार्गेनिङ गरेको विवादमा मुछिए।

अडियो सार्वजनिक भएसँग उनको विरोधमा लेखिएको स्टाटस/ट्वीट र उनलाई व्यङ्ग्य गर्दै बनेको ट्रोलहरु भाइरल बने। अनि साँझ नहुँदै मन्त्री बाँस्कोटाले राजीनामा दिए।

मनसुन नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्: 'मलाई चाहिँ सरकारको यो डेमो बहुत मनपर्‍यो है। भनेकै हो नि अब सरकारले सबैको फोन/म्यासेज/च्याट चेक गर्छ भनेर। ट्रेलर स्वरूप यो मिडियामा फ्याँकेका हौं भन्ने सरकारको भनाई छ भन्ने बुझेँ। कति पक्का छ आफ्नो बोलिमा सरकार।'

चार्ल्स सोभराज नामबाट चलाइएको एक ट्वीटर प्रयोगकर्ताले प्रधामन्त्री केपी ओली र बाँस्कोटाको तस्विरसहित चुट्किला शैलीमा लेखेका छन् - 'ओली : गोकुल भाइ! हामीले भ्रष्टाचारीको अनुहार पनि हेर्नु हुँदैन, बुझ्यौँ?

बाँस्कोटा : मलाई ऐना नहेरी दाह्री काट्न आउँदैन दाइ।' 

आत्मीय नेपालीले व्यङ्ग्य गर्दै ट्वीट लेखेका छन्:

'आफ्नो घरमा तेत्रो पैसा राख्ने ठाउँ नभएको बेलामा, ५० करोडमाथिको प्रस्ताव ल्याइ दुःख दिन खोज्ने विदेशी एजेन्टको गोकुल बाँस्कोटा स्वयंले त्यो अडियो बाहिर ल्याइ पर्दाफास गर्नुभएको पनि त हुनसक्छ नि।'

त्यस्तै राजेन्द्र पोख्रेलले लेखेका छन् : 'गोकुल बाँस्कोटा र नैतिकतासँगै बस्छन् भन्ने मलाई कहिलै लागेन। अब सरकारकै नैतिकता छ छैन भन्ने कुरा प्रधानमन्त्रीले देखाउने क्षण हो है!'

अडियोमा गोकुल बाँस्कोटाले बोलेको अश्लिल शब्दलाई लिएर पनि विभिन्न टीका टिप्पणी भइरहेका छन्। गत मंसिरमा गायक भिटेन पक्राउ परे। उनको गीतमा अश्लिल शब्दको प्रयोग भएको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरेको थियो। उनीमाथि अभद्र व्यवहारको मुद्दा समेत चलेको थियो। प्रहरीको उक्त कदममा समर्थन जनाउँदै बाँस्कोटाले भनेका थिए- 'सुन्नै नसकिने गीतका गायक पक्राउ परेका हुन्। अराजकतालाई सरकारले कुनै पनि हालतमा छुट दिँदैन।'

हालै सार्वजनिक कमिसनमा बार्गेनिङको अडियोमा भने उनले कर्मचारीहरुलाई संकेत गर्दै अश्लिल शब्द बोलेका छन्। लगत्तै भिटेन पक्राउ प्रकरणसँग जोडेर उनलाई व्यङ्ग्य भइरहेको छ।

'मैले भर्खरै प्राप्त समाचार अनुसार गोकुल काकाले यी मु* कर्मचारी भन्नुभएको कुरो यी (मु = मुख्य ,जि = जिम्मेवार) कर्मचारी भन्न खोज्नुभएको रे। न्याय मरेको छैन। बास्कोटा सर निर्दोष हुनुहुन्छ।' – विनोद कार्कीले लेखेका छन्।

रोमन सिंह भट्टराईले लेखेका छन् : 'हाम्रा आदरणीय माननीय सञ्चारमन्त्री गोकुल बास्कोटाज्यू का भाषा सुनेर दुर्गेस थापा र भिटेनहरु त रुँदै छन् रे त। हाम्लाई पनि जित्नु'भो भनेर।' 

त्यस्तै दीपा सिम्खडाले फेसबुकमा लेखेकी छिन्:

'गोकुल बास्कोटा बी लाइक : महराले डेटिङ गर्‍यो मैले सेटिङ हान्दिएँ, हामी यस्तै त हो नि ब्रो। अनि ए बाबा सेटिङ पो गरेको त खाइहालेको त छैन नि। वास्तवमा म करप्सन च्याम्पियनमा भाग लिन रिहर्सल गर्दै थिएँ। उता हप्तै पिछे करोड करोडको कुरा गर्ने मनोज गजुरेल खुलेआम हिडिँरा'छ। मलाई होइन अडियो बाहिर ल्याउनेलाइ कार्वाही हु्नपर्छ। झुक्याएर रेकर्ड गर्नी? यत्रो जनताले मान गर्‍यो मान्छेलाई हेप्नी?' 

लेखक यादव देवकोटा ट्वीट गरेका छन्: 'बाहिर शिष्टताको अर्ती छाँट्ने,भ्रष्टाचारीको मुखै हेर्दिन भनेर गफ बाँड्ने,भित्र २ महिनादेखि कमिसन डिल गर्ने 'धर्मपुत्र'बारे शालिन सहनशीलताको सिरक ओढेर सुत्ने। गोकुल बास्कोटाको राजीनामामा यो प्रकरण सामसुम हुनुहुँदैन। ओलीको संलग्नता र सहमतिबिना बास्कोटा एक्लैले कमिसन खोजेको पत्याइन्न।'

शर्मिला ज्ञवालीले लेखेकी छिन् : मन्त्री हुँ भन्दैमा कर्मचारीलाई अश्लील शब्दले गाली गर्ने गोकुल बाँस्कोटा ७० करोडको काण्डमा नाङ्गो हुँदैछन्।

बाँस्कोटाको निलम्बन एवं राजीनामाको माग गर्दै कांग्रेस, साझा लगायत पार्टीले विज्ञप्ती जारी गरिसकेका छन्। त्यस्तै कर्मचारीलाई अश्लिल शब्दसहित सम्बोधन गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell