PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

युवतीहरुलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ



रासस

युवतीहरुलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ

भद्रपुर : ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर–६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

पोखरेलका अनुसार उनीहरुले मेचीनगर–७ स्थित प्यारीभिट्टामा चार तले १६ कोठा भएको घर भाडामा लिएर युवतीलाई राख्ने र ग्राहकसँग मोटो रकम लिएर उनीहरुलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। मेचीनगर नगरपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधवार बिहान २० र २१ वर्षका महिलालाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो। आफ्नो घर भक्तपुर र मोरङ बताउने दुई युवतीलाई सोधपुछ गर्दा सो रहस्य प्रहरीले पत्ता लगाएको हो।

युवतीहरुले आफूलाई बन्धक बनाइ घरमा राखेर ग्राहकसँग दिनभर यौनसम्पर्क गराउने र बेलुका विभिन्न होटलमा पुर्‍याउने गरेको बताएको उनको भनाइ छ। उनका अनुसार उनीहरुले दैनिक पाँचदेखि छ जनासँग यौन सम्पर्क गराउन महिलालाई बाध्य बनाउँदै आएका थिए।

यौन सम्पर्क गरे वापत प्रतिघण्टा पाँच सय रुपैयाँ र रातको समयमा होटलमा पठाउँदा प्रति रातको दुई हजार ५०० रुपैयाँ दिने प्रलोभन देखाई ती युवतीलाई यौन धन्दामा लगाउने र उनीहरुले भने १० हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रनाउ पोखरेलले बताए। बुधवार पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार उनीहरुलाई मानव बेचबिखन ओसारपसार विरुद्धको मुद्दा चलाइनेछ।

मानव बेचविखन तथा ओसारपसार कसुरको अभियुक्तलाई १० देखि १५ वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना हुनेछ। युवतीको उद्धार गरी प्रहरीले काठमाडौंमा रहेको विश्वास नेपालको आश्रममा पुनःस्थापनाका लागि पठाउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell