PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बिन्दबासिनीका हाकिमलाई वडा अध्यक्षले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका ठप्प



राधेश्याम पटेल

बिन्दबासिनीका हाकिमलाई वडा अध्यक्षले ज्यान मार्ने धम्की दिएपछि गाउँपालिका ठप्प

वीरगंज : पर्साको बिन्दबासिनी गाउँपालिकाको कार्यालय ठप्प भएको छ। गाउँपालिकामा भर्खरै जिम्मेवारी सम्हालेका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई वडा अध्यक्ष सुकदेव राउत अहिरले अभद्र व्यवहार गरेको भन्दै सोविरुद्ध गाउँपालिका ठप्प भएको हो।

गाउँपालिकाका कर्मचारीहरूले भरपर्दो शान्ति सुरक्षाको वातावरण नबनेसम्म काम गर्न नसकिने भन्दै बिहीवार बिहानैदेखि अनिश्चित कालका लागि कार्यालय बन्द गरेका हुन्। सो गापाका अध्यक्षलगायतका जनप्रतिनिधि एवं निमित्त प्रमुख प्रशासकिय अधिकृतसहित कर्मचारी र जिल्लास्थित कर्मचारी संगठनका पदाधिकारीहरूले दोषी माथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत दिएका छन्।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई उजुरी पत्रसँग ज्ञापन पत्र पनि बुझाउँदै कर्मचारीहरुले आवश्यक कारवाहीको माग गरेका हुन्। बुधवार दिउँसो १ः३० बजे गापाका उपाध्यक्ष किरण गुप्ताको कार्यकक्षमा बोलाएर निमित्त प्रमुख प्रशासकिय अधिकृत रौनियारलाई वडा नम्बर ५ का वडा अध्यक्ष अहिरले अभद्र व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएको रौनियारले बताए।

आइतवार सम्पन्न गापाको बोर्ड बैठकमा उपाध्यक्षलगायत आफूहरूलाई नबोलाएको भन्दै वडाध्यक्ष सुकदेवले कार्यालयमा आगो लगाउनेदेखि बाँधेर सिडिओ कार्यालय पुर्‍याउने र ज्यान मार्ने धम्की दिएको रौनियारले आरोप लगाए। उपाध्यक्ष र अर्का एकजना वडाध्यक्ष कार्यकक्षमा रहेकै बेला आफूमाथि दुर्व्यवहार गरेको उनले बताए।

कार्यकारी अधिकृत रौनियारले सबै बोर्ड सदस्यहरूलाई कार्यालय सहयोगीमार्फत कम्तिमा ३ दिन अग्रिम लिखित पत्र पठाएको र भेट नभएकाहरूलाई गापा अध्यक्ष मार्फत फोनमा जानकारी गराइको बताएका छन्। 

आरोपित वडा अध्यक्ष सुकदेव राउत अहिरले गापा अध्यक्षको इशारामा आफूहरूलाई जानकारी नै नदिई कार्यकारी अधिकृतले एक पक्षीय रुपमा बोर्ड बैठक राखेको र सो सम्बन्धमा सोधपुछ मात्र गरिएको बताए।

उनले भने, ‘पक्षपातपूर्ण काम गर्ने हो, बाँधेर जिल्ला प्रशासनमा पुर्‍याउछु भनेको हुँ।’

गापा उपाध्यक्ष किरण गुप्ताले पनि गापामा एक पक्षीय तथा पक्षपातपूर्ण काम भएको आरोप लगाउँदै वडाध्यक्ष रौनियारले प्रशासकिय अधिकृतलाई ज्यान मार्ने धम्की नदिएको बताइन्। बिन्दबासिनीका गापा अध्यक्ष श्रीलाल साह कानुले बोर्ड बैठकको खबर गर्न कार्यालय सहयोगीले भेट्न नसकेपछि उपाध्यक्ष लगायत बोर्डका सदस्यहरूलाई आफैले फोन गरेर जानकारी दिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell