PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कभर्ड हल शिलान्यास गर्दै खेलकुद मन्त्रीले भने, ‘७ करोड बजेट कम छ, मिलेर काम गर्नु होला’



राधेश्याम पटेल

कभर्ड हल शिलान्यास गर्दै खेलकुद मन्त्रीले भने, ‘७ करोड बजेट कम छ, मिलेर काम गर्नु होला’

वीरगंज : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विकासमा राजनीति नगर्न आग्रह गरेका छन्। वीरगंजको नारायणी रंगशालामा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको शिलान्यासपछि उनले अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारको रुपमा चिनिने नारायणी रंगशाला को संरक्षण र सम्बर्द्धन गर्न सबै राजनीतिक दल तथा अगुवाहरु एकजुट हुनुपर्ने बताए।

मन्त्री विश्वकर्माले विकासको कुरामा राजनीति नगरी विभिन्न सरकारी योजना तथा कार्यक्रमहरु साकार रुप दिन एकापसमा मिलेर सहकार्य गरी ती कामलाई सफल पार्नुपर्नेमा जोड दिए।

खेलकुद कभर्ड हल शिलान्यास कार्यक्रममा पर्साका जनप्रतिनिधिहरुको न्यून सहभागिता देखेपछि स्थानीय राजनीतिक दल र अगुवाहरुको भूमिका विश्लेषण गर्दै उनले भने, ‘जबसम्म स्थानीयहरु वीरगंजको सम्पत्तिको बारेमा चासो राख्दैनन् र संरक्षण तथा विकासका बारेमा सोच्दैनन् तबसम्म वीरगंजको विकास हुँदैन। अहिले पास भएको बजेटले मात्रै रंगशालाको काम नहुने भएकोले बजेट अभाव हुन नदिन स्थानीयहरुको मुख्य भूमिका हुनुपर्छ।’

तीन तहको सरकारबीच आपसी समझदारीमा गरिने योजना तथा विकासले वास्तविक परिवर्तन हुने भएकोले वडा, महानगर, प्रदेश र सङ्घीय सरकारको सहभागिता नदेखेपछि आफूलाई खल्लो लागेको उनले चर्चा गरे। प्रदेश सरकारले जनकपुरमा प्रादेशिक रंगशाला निर्माणको लागि ५ करोड रुपैयाँ विनियोजन गरे तापनि नारायणी रंगशालालाई चालु आवमा पुनर्निर्माण र कभर्ड हल निर्माणका लागि केन्द्र सरकारले ७ करोड रुपैयाँ निकासा गरेको जानकारी गराउँदै उक्त पैसाको सही सदुपयोग गरी काम गर्न निर्देशन दिए। ७ करोडमध्ये ५ करोड पुनर्निर्माण र २ करोड रुपैयाँ कभर्ड हल निर्माणको लागि छुट्याइएको उनले बताए।

मध्यमाञ्चल खेलकूद विकास समितिका प्रमुख ज्याउल इस्लामले रंगशालाको दक्षिण–पश्चिम कुनामा कभर्ड हल निर्माण गरिने बताए। उनले प्याराफिट निर्माणको लागि बोलपत्र आह्वान भइसकेको बताए।

कभर्ड हलमा टेबुल टेनिस, कराँते, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, जूडो, बक्सिङलगायत इन्डोर खेल खेलाइनेछ। देशभर नै खेलकूद संरचना नरहेको अवस्थामा अहिले सरकारले प्रदेशमा प्रादेशिक रंगशाला र जिल्लामा खेलकुदको पूर्वाधारलाई प्राथमिकतामा राखेको मन्त्री विश्वकर्माको भनाइ थियो। सरकारले खेलाडीहरुको लागि मासिक रुपमा प्रोत्साहन तलब भत्ताको पनि व्यवस्था गरेको जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell