PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

'आमा'का लागि कपाल मुण्डन गरेकी सुरक्षा, भन्छिन् 'चुनौतीमा शक्ति हुन्छ'



मन्दिरा खत्री

'आमा'का लागि कपाल मुण्डन गरेकी सुरक्षा, भन्छिन् 'चुनौतीमा शक्ति हुन्छ'

सुरक्षा पन्तको अघिल्लो फिल्म 'घर'। थ्रिलर जनरामा बनेको 'घर' सिनेमा घरमा भने धेरै दिन टिकेन। तर सुरक्षाको कामको भने प्रशंसा भयो। पहिला निर्वाह गरेको भूमिकाभन्दा फरक भूमिकामा देखेकी थिइन् उनी।

हरर फिल्म घरमा अभिनय गर्दा'आउट अफ जोन' गएर काम गर्नु परेको थियो उनलाई। अभिनय गर्न च्यालेन्जिङ थियो पनि। नेपाली फिल्म क्षेत्रमा फिल्म नचल्ने डरले च्यालेन्जिङ स्क्रिप्ट नै नलेखिने सुरक्षालाई महसुस हुन थालेको थियो। त्यसैबीच उनलाई अर्को च्यालेन्जिङ फिल्मको अफर आयो।

८ महिनापछि पहिलाभन्दा अझै पृथक फिल्मी रोलका साथ सुरक्षा सिनेमा घरमा देखिँदै छिन्।

फिल्मको नाम 'आमा'। सुरक्षा भने मिथिला शर्माकी छोरी। समाजको कुरितीविरुद्ध लड्ने छोरीका रुपमा सुरक्षा फागुन ९ गतेदेखि प्रदर्शन हुने फिल्म 'आमा' मा देखिँदैछिन्।

घरमा भयानक रुपमा देखिएकी सुरक्षा फिल्म ‘आमा’का कारण चर्चामा छिन्। कारण उनले यस फिल्मका लागि कपाल मुण्डन गरेकी थिइन्।

महिला, त्यसमाथि फिल्ममा कपाल खौरनु पर्ने। यही चुनौतीलाई सुरक्षाले स्वीकारिन्।

निर्देशक दीपेन्द्र के खनालले सुरक्षालाई फिल्मको स्टोरी सुनाएका थिए। स्क्रिप्ट पढिन्। सुरक्षालाई कथा पावरफूल लाग्यो। आफूले गर्छु भनेर खोजिरहेको क्यारेक्टर पाए जस्तो लाग्यो।

रियल लाइफमा लामो कपाल पाल्न सौखिन सुरक्षा कपाल काट्न राजी भइन्।

‘लामो कपाल पाल्न एकदम मनपर्छ। कपाल भयो भने महिलालाई यतिकै सुन्दर देखिन्छ। पुरुषलाई त सुन्दर देखिन्छ भने महिला त झन सुन्दर देखिन्छ नै', सुरक्षाको दाबी छ,'महिलाको सबैभन्दा ठूलो सुन्दरता भनेको नै कपाल हो। कपाल राम्रो भइदियो भने केही गर्नै पर्दैन।'

त्यसरी 'राम्रोपन'लाई फिल्मका लागि त्याग गर्नु आफ्नो करियरका लागि टर्निङ प्वाइन्ट हुन सक्छ। त्यसैले भन्छिन्,'कपाल मुण्डन गर्नुलाई आफ्नो कम्जोरीभन्दा पनि साहस ठान्छु।'

कपाल खौरिनुअघि सुरक्षाको मनमा द्वन्द् चलेको थियो। कपाल मुण्डन गरेपछि कस्तो देखिन्छ, के हुन्छ भनेर जति बेला पनि सोचिरहन्थिन्। पछि जे हुन्छ, हेरौँला भनेर आफैँलाई कन्भिन्स गरिन्।

स्क्रिप्टमा कपाल खौरिँदा रुनुपर्ने थियो। तर कपाल खौरिँदा उनी रोइनन्। किन भने महिलाले कपाल मुण्डन गर्नु कमजोरी होइन शक्ति भएको उनको ठम्याइ छ।

'भित्रबाट आउने आँट हो नि त। त्यो त साहस हो। साहस व्यक्त गर्न किन रुनुपर्‍यो हैन। नरुने सोच्या थिएँ र रुँदा पनि रोइन।’

फिल्म छायांकनका क्रममा त रुनुपर्‍यो। यो दृश्य सिन्धुलीको एउटा गाउँमा खिचिएको थियो।

कपाल काट्ने ब्लेडको धार कमजोर। कपाल मुण्डन गर्न निकै गाह्रो भइरहेको थियो। फिल्मको सुटिङ हेर्न आउने बासिन्दाहरुको भीड बढ्दै थियो। तर कपाल काट्न सकिएन।

सुरक्षाले सम्झदै भनिन्,'मेरो अवस्था देखेर सुटिङ हेर्न आएका एक बुवाले मेरो कपाल काटिदिन्छु भन्नुभयो। उहाँले माया गरेर काटिदिनु भयो।’

बुवा आमा अनविज्ञ

कपाल त काटियो। तर उनका घरमा यसबारे कसैलाई थाहा थिएन। उनले फिल्मका लागि कपाल खौरिन लागेको कुरा बुवा आमालाई भनेकी थिइनन्। घरमा बुवा आमालाई ‘कन्भिन्स’ गराउन गाह्रो हुन्छ भन्ने सोचेर उनले कपाल खौरेको हप्ता दिनपछि मात्र घरमा थाहा दिइन्।

‘कपाल खौरेको एक हप्तापछि मैले घरमा भिडियो कल गरें। अनि मेरो रुप देखेर आमा बुवा दुवै जना छक्क पर्नुभयो र रिसाएर फोन काट्नु भयो।’, उनले भनिन्, ‘तर अर्को दिन बुवा आमाको रिस मरेपछि घरबाट नै फोन आयो।’

त्यसपछि सुरक्षाको मनोबल झनै बढ्यो।

सुरक्षा हाँस्दै भन्छिन्, ‘यदि स्क्रिप्ट राम्रो छ भने कुनै क्यारेक्टरको लागि कन्भिन्स हुन मलाई धेरै समय लाग्दैन। राम्रो लेखन र निर्देशनमा काम गर्ने लोभ सधैँ रहन्छ।'

'आमा' फिल्मको फस्ट लुक सार्वजनिक भएदेखि नै धेरैले फिल्मलाई लिएर आशावादी भएको प्रतिक्रिया दिइरहेका छन्। यसले हौस्याएको छ सुरक्षालाई। त्यसैले यस फिल्मलाई लिएर निकै आशावादी र उत्साहित छिन्।

'नयाँ रोलको खोजी'

आलोक नेम्वाङ निर्देशित फिल्म ‘अझै पनि’बाट अभिनेत्री सुरक्षा पन्तले नेपाली रजतपटमा डेब्यु गरेकी थिइन्। इन्जिनियरिङ पढ्दै गर्दा सुरक्षाले इमेज च्यानलको रियालिटी शो 'भिजे हन्ट'मा भाग लिएकी थिइन्। टिभी स्क्रिन हुँदै ‘आमा’सम्म आइपुग्दा अभिनयमा अझ बढी निखार आएको महसुस भएको छ उनलाई।

त्यसैले आफूलाई नयाँ-नयाँ रोलमा प्रस्तुत गर्ने प्रयासमा छिन् पनि। त्यही प्रयासस्वरुप सुरक्षाले रंगमञ्चमा पनि आफूलाई उभ्याइन्। पछिल्लो समय उनले ‘क्लेसा’ नाटकमा अभिनय गरेकी थिइन्।

‘त्यति बेला घर फिल्मको छायांकन सकेर ग्यापमा बसेकी थिएँ। उक्त नाटकको लागि कसैले मेरो नाम रिकमेन्ड गरेका रहेछन्। फेरि मलाई पहिलादेखि नै नाटक खेल्न मन थियो तर रंगमञ्च भन्ने बितिक्कै धेरै समय दिनुपर्ने। घर फिल्मको छायांकन सकेर आमा फिल्मको अफर आउनुअघि मसँग समय थियो, अनि मैले नाटक गरेँ।'

स्क्रिप्टको मामलामा पनि निकै ‘चुजी’ छिन् सुरक्षा। धेरै फिल्ममा देखिने रहर पनि छैन। राम्रो स्क्रिप्ट पाए वर्षमा दुईवटासम्म फिल्म खेल्ने बताउँछिन्।

‘आफूलाई चित्त नबुझेको कुरा कसरी गर्ने। स्क्रिप्टमा ध्यान नदिँदा फिल्ममा काम त गरिन्छ तर त्यसपछिको बाँकी पाँच छ महिना त त्यसै कुराले पछुतो लाग्छ। थरीथरीकाकुरा सुन्नु पर्छ’ उनले अनुभव सुनाइन्।

फिल्मलाई दर्शकले नरुचाइदिँदा कलाकारलाई अलि मेन्टल टर्चर हुने अनुभव छ उनको। त्यसैले कलाकारले स्क्रिप्टमा धेरै ध्यान दिनुपर्ने उनको मत छ।

'एक दुईवटा राम्रो फिल्म खेलेर स्टार भइन्छ। नेम, फेम पाँउछौ अनि हामी मातिनँ थाल्छौँ।' सुरक्षा पछिल्लोपटक बढ्दै गएको ट्रेन्ड सुनाउँदै भन्छिन्,'मान्छेको जातै यही हो। मातिनँ थाल्ने। अनि भोलिको दिनमा केही पाएन भने डिप्रेसन शुरु हुन थाल्छ। त्यसैले म फिल्मको मामलामा निकै चुजी छु। थोरै फिल्ममा राम्रो अभिनय गरेर रजतपटमा राम्रो छाप छोडौँ जस्तो लाग्छ।’

सुरक्षाले यसअघि ‘आमा’का निर्देशक दीपेन्द्र के खानालसँग ‘धनपति’ र ‘चंगा चेट’ लगायतको फिल्ममा काम गरिसकेकी छन्। दुईवटा फिल्ममा काम गरिसकेकाले पनि निर्देशक खनालसँग यस फिल्ममा पनि काम गर्न निकै सहज भएको छ सुरक्षालाई।

‘अब त हामी एक अर्काको भाषा पनि बुझ्ने भइसक्यौँ। कम्फर्ट जोन चाहिँ छ’ सुरक्षा भन्छिन्, ‘दीपेन्द्र दाईले कलाकारहरुलाई स्पेस दिनुहुन्छ। पारिश्रमिक पनि एकदमै टाइममा दिनुहुन्छ। उहाँसँग काम गर्दा फिल्म अड्किने झन्झट पनि हुँदैन।’

आगामी योजना

पेशाले इन्जिनियर। कर्मले भने अभिनय रोजिन सुरक्षाले। अब कलाकारिताबाट फिल्म निर्माण, लेखन र निर्देशनमा लाग्ने सोच बनाउँदैछिन्।

‘बिस्तारै मेरो कलाकारिता लेखन तथा निर्देशनमा गएर इन्ड हुन्छ होला।' सुरक्षा आफ्नो योजना सुनाउँछिन्।,'म अहिले त्यति सृजनशील भइसकेको छैन। किनकी निर्देशक हुनु सजिलो कुरा पक्कै होइन। जीवन बुझ्नुपर्‍यो अनुभव हुनुपर्‍यो।'

अनुभव लिड रोल खेलेर मात्रै आउने होइन भन्ने कुरा सुरक्षाले बुझेकी छिन्। त्यसैले फिल्मी पर्दामा महिलालाई पावरफूल दखाउने रोल आयो भने साइड रोलमै भए पनि काम गर्ने बताँउछिन् उनी।

‘लिड रोल पनि हैन। साइड रोल नै किन नहोस तर पावरफूल भए त्यसमा अभिनय गर्न म पछि हट्दिनँ। स्क्रिप्ट लेख्न चाहन्छु। अहिले चाहिँ काम गर्ने इनर्जी छ। त्यसैले भविष्यमा पनि कलाकारितालाई नै निरन्तरता दिन्छु।’सुरक्षाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell