PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मालपोत कार्यालयको ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती, ‘चिया खर्च नभई फाइल अघि बढ्दैन’



राधेश्याम पटेल

मालपोत कार्यालयको ढिलासुस्तीले सेवाग्राहीलाई सास्ती, ‘चिया खर्च नभई फाइल अघि बढ्दैन’

वीरगंज : वीरगंज-२१ लिपनीबिर्ताका सुरेन्द्र कुर्मी ‘हाल साबिक’ गराउन मालपोत कार्यालय पर्सामा निवेदन दिएको एक साता बितिसकेको छ। तर, पनि उनको फाइल अगाडि बढेको छैन। मालपोतले एउटा विवरण खुलाई नापी कार्यालय, पर्सालाई लेख्नको लागि उनी दैनिक धाइरहेका छन् तर एउटा निवेदन लेख्न पनि अधिकृतहरुलाई समय नभएको उनको गुनासो छ।

वीरगंज-२४ रामगढवाका रामनिवास यादवले एउटा सहकारीको जग्गा दृष्टिबन्धक गर्न पनि कम्तीमा दुई दिनभन्दा बढी समय लाग्ने गरेको बताए। पर्सागढीका पन्नालाल राउत कुर्मीले जग्गा पास गराउन कम्तीमा तीनदेखि चार दिन समय लागिरहेको गुनासो गरे।

सेवाग्राहीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिनुको साटो एक ठाउँबाट अर्को ठाउँमा फाइल पुग्दा कर्मचारीहरुले चिया नाश्ता खर्चबापत केही पैसा माग्दा आफूहरु सोझै ठगिए जस्तो लाग्ने उनीहरुको दुखेसो छ।

स्थानीय प्रशासनले यस्ता पक्षको अनुगमन नगर्दा मालपोत कार्यालयको काम अगाडि नबढेको सेवाग्राहीको आरोप छ। मालपोत कार्यालयले कर्मचारी अभावले गर्दा प्रभावकारी सेवा दिन नसकेको बताएको छ।

कार्यालयका निमित्त प्रमुख सुमन झाले ५१ वटा दरबन्दीमध्ये १५ जना कर्मचारीको दरबन्दी रिक्त रहेकोले कार्य सम्पादनमा ढिलाइ भएको बताए। कार्यालयमा रिक्त भएको दरबन्दीमा एकजना प्रमुख मालपोत अधिकृत, दुईजना मालपोत अधिकृत, नायब सुब्बा ८ जना, खरीदार ४ जना रहेको उनले बताए। यस सम्बन्धमा भूमिसुधार मन्त्रालयलाई पटक–पटक ताकेता गर्दा पनि कर्मचारी नपठाइएको उनको भनाइ छ।

१६ जना कार्यालय सहायकलाई करारमा नियुक्त गरेको छ भने सवारी चालकमा १ र २ जना कम्प्युटर अपरेटर करारमा नियुक्त गरी जेनतेन कार्यालयको काम अगाडि बढाएको जनाएको झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell