PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

दुर्गा कार्कीको 'कुमारी प्रश्नहरु' सार्वजनिक



पहिलोपोस्ट

दुर्गा कार्कीको 'कुमारी प्रश्नहरु' सार्वजनिक

‘आख्यानले लेखकलाई आफू सँगसँगै अरुलाई बुझ्न मद्दत गर्छ। मैले पनि आफ्ना पात्रहरुलाई बुझे। उनीहरुको भावनालाई महसुस गरें। कतिपटक उनीहरुको जीवन बाँचे। कति पात्रहरुको धङ्धङीबाट निस्कन त मलाई निकै समय लाग्यो', लेखक दुर्गा कार्कीले भनिन्।

शुक्रबार बिहान नेपालयको 'आर'शालामा उनो पहिलो कृति विमोचन भयो। त्यहाँ उनले लेखन प्रक्रिया, शैली, पात्रको तयारी, आख्यान र गैर आख्यान लेख्दाको भिन्नता बारे चर्चा गरिन्। भनिन्, ‘म आख्यान र गैर आख्यान दुवै विधामा लेख्न रुचाउँछु तर आख्यान लेख्दा वैचारिक आग्रह नथोपरियोस भन्नेमा सचेत रहन्छु।’

लेखक दुर्गासँगै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट र सम्पादक अमित ढकालले संयुक्त रुपमा लोकार्पण उनको कथा संग्रह 'कुमारी प्रश्नहरु' लोकार्पण गरेका हुन्।

राजदूत पोलिटले लेखनमा महिलाको स्थान र साहित्यमा आफ्नो रुची लगायत विषयमा बोलेकी थिइन्। उनले नेपाली भाषामा मन्तव्य दिइन्।

पोलिटले बेलायती साहित्यिको इतिहासमा जर्ज एलिट जस्ता सशक्त महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको सन्दर्भ सस्झाउँदै भनिन्, 'महिलालाई महत्वका साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमी बन्नेछ।' 

उनले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफूलाई उत्साहित बनाएको समेत जानकारी दिइन्।  

त्यस्तै सम्पादक अमित ढकालले दुर्गा कार्कीको लेखकीय व्यक्तित्व बारे आफ्ना कुरा राखेका थिए। 'दुर्गाको लेखनीमा विशेष शैली छ जसमार्फत् उनले उठान गरेका हरेक विषयवस्तुले नयाँ जीवन पाउँछन्। त्यही गुरुत्व उनको कथा संग्रहमा पाइन्छ', उनले भने।

नेपालय पब्लिकेसनकी सम्पादक भूषिता वशिष्ठले 'कुमारी प्रश्नहरु'को सेरोफेरोमा रहेर लेखकसँग अन्तरसंवाद गरेकी थिइन्। संवादमा पुस्तकको भाषा, शिल्प, विधादेखि नामाकरणको सन्दर्भ र लेखनको चुनौती बारे समेत छलफल भएको थियो।

‘कुमारी प्रश्नहरु’मा तेह्र वटा कथा समावेश छन्। पुस्तकको बजार मूल्य ४ सय २५ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell