PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाँस्कोटाको ७० करोड प्रकरणले सम्झाएको महरा र पाठकका ती 'अडियो टेप'



कुञ्जरमणि भट्टराई

बाँस्कोटाको ७० करोड प्रकरणले सम्झाएको महरा र पाठकका ती 'अडियो टेप'

काठमाडौं : बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भयो। अडियो टेप सार्वजनिक भएसँगै उनले 'नैतिकताका आधारमा' राजीनामा दिए।

'टेप काण्ड' का कारण ओली मन्त्रिमण्डलका शक्तिशाली मन्त्रीको बहिर्गमनसँगै यसअघिका टेप काण्डहरुका बारेमा सामाजिक संजालमा चर्चा भइरहेको छ। यसरी नै अडियो टेपहरु सार्वजनिक भए पनि आरोपीमाथि कुनै कारवाही नभएको भन्दै बाँस्कोटालाई पनि 'क्लिन चिट' दिइने अनुमान धेरैको छ।

यसअघिका केही टेप प्रकरण :

महराको ५० करोड प्रकरण

तत्कालीन नेकपा माओवादीका नेता कृष्णबहादुर महराले २०६७ साल भदौ १८ गते एक चिनियाँ नागरिकसँग निर्वाचनका लागि ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भयो। अडियो भारतबाट चल्ने नेपाली भाषाको टिभी च्यानल ‘नेपाल वान’ले सबैभन्दा पहिला प्रसारण गरेको थियो ।

अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरीद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको चिनियाँसँग समक्ष भनेको सुनिएको थियो।

अडियो संवादमा महराले चिनियाँ नागरिकलाई ५० करोडका लागि आफू सिंगापुर, हङकङ र छेन्दु शहरमा बैठकका लागि आउन तयार रहेको समेत जनाएका थिए।

अडियोमा आवाज सुन्ने धेरैले उक्त आवाज महराकै हो भनेर अनुमान गरेका थिए। उनीसँग बोल्ने अर्का व्यक्तिले भने चिनियाँले अंग्रेजी बोलेकै शैलीमा बोलेकाले चिनियाँ भन्ने ठानिएको थियो।

त्यसै आधारमा महराले टेप झुटो भएको दाबी गरेका थिए। उनी त्यतिबेला कुनै पनि पदमा थिएनन्। टेप सार्वजनिक भएपछि उनीमाथि न अनुसन्धान भयो न कुनै कारवाही नै। उल्टै उनको राजनीतिक प्रमोसन भयो। महरा सभामुख बने। तर, गत असोजमा एक महिलामाथि बलात्कारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिए। करिब तीन महिना जेलको जेल बसाई पछि उनले केही दिन अघि मात्रै सफाइ पाएका छन्।

राजनारायण पाठक प्रकरण

गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै भष्टाचार मुद्दामा मुछिए। नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाउन भन्दै नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको टेप बाहिरियो। पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घुस दिएर पनि पाठकले काम नगरिदिएपछि घुस दिने समूहले उनको भिडियोसमेत खिचेको थियो।

घुस लिएको आरोपपछि पाठकले २०७५ फागुन ३ गते राजीनामा बुझाए। पाठकविरुद्ध अख्तियारले नै गत चैत १२ गते मुद्दा दायर गरेको थियो ।

अख्तियारले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको थियो। पाठक गत १ गते ७८ लाख धरौटीमा छुटेका थिए।

बाँस्कोटा अडियो प्रकरण

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार आफू भष्टाचार नगर्ने र गर्नेलाई नछोड्ने अभिव्यक्ति दिँदै आएका छन्। तर, सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा सेक्युरेटी प्रेसको कमिसन प्रकणमा मुछिए। उक्त प्रेस स्थापनाका लागि एक स्वीस कम्पनीका नेपाली (प्रतिनिधि) एजेन्टसँग बाँस्कोटाले करोडौं कमिसन मागेको अडियो टेप सार्वजनिक भयो।

कम्पनीका विजयप्रकाश शर्मासँग अडियो कुराकानीमा मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका सुनिन्छ। उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन्। ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ। अडियोमा उनले कर्मचारीमाथि अश्लिल शब्दको प्रयोग समेत गरेको सुन्न सकिन्छ।

प्रधानमन्त्री ओलीको निवासमा रहँदै आएका मन्त्री टेप प्रकरणका कारण राजीनामा दिन बाध्य भए। तर, के प्रधानमन्त्री ओलीलाई यसबारे जानकारी थिएन? सामाजिक सञ्जलमा उठिरहेको प्रश्नको जवाफ भने कतैबाट पनि आइसकेको भने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell