PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित



रासस

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ। मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। काठमाडौं विमानस्थलको भिजिविलिटी कम छ। बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ भने विराटनगर विमानस्थलको सेवा पनि प्रभावकारी भएको छैन।

आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए। उनका अनुसार मौसममा आएको खराबीले खासगरी हिमाली र पहाडी क्षेत्रका विमानस्थल तथा तराईका केही विमानस्थमा उडान सञ्चालनमा कठिनाइ भएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका कतिपय स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा २९ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा भएको छ। आज राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम नौ दशमलव छ र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell