PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शिवरात्रीका अवसरमा राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना



रासस

शिवरात्रीका अवसरमा राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

काठमाडौं : महाशिवरात्रीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छिन्। शुक्रवार साँझ पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य-सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गरेका थिए।

कोषका सदस्य-सचिव ढकालका अनुसार पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गरेकी थिइन्। पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिएका थिए।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गरेका थिए। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइनमा बस्नेलाई आज रातभर पनि ढोका खुला रहने कोषले जनाएको छ। लाइनमा बस्ने भक्तजन सकिएपछि विशेष पूजाका लागि रसिद लिएका भक्तजनबाट पूजा आराधना गराइने छ। महाशिवरात्रीका दिन रात्रिकालको विशेष पूजाका लागि ३०० भन्दा बढी भक्तजनले रसिद काटेको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिए।

शुक्रवार बिहान २७ जना र दिउँसो करिब ९० जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराएका थिए। दिउँसो धेरै भक्तजनको भीड लाग्ने भएकाले विशेष पूजाको धेरै रसिद नकाटिएको कोषले जनाएको छ।

महाशिवरात्रीका अवसरमा बिहीवारदेखि नै देश विदेशका भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको थियो। साधुसन्त भने बुधवारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन्।

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा आएका सबै साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन गुठी संस्थान र कोषले दान दक्षिणासहित बिदाइ गर्ने जनाइएको छ। पशुपति क्षेत्र र टेकु एवं थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तलाई संस्थान तथा कोषले खाने एवं धुनीका लागि दाउरा दिएको संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यको भनाइ छ।

महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई दिउँसोदेखि परेको पानीले प्रभावित बनाएको थियो। यसवर्ष विशेष सजावट गरिएकाले सामान्य पानी भने मूल मन्दिर वरपरको क्षेत्रमा छेकिएको देखिन्थ्यो। विगतभन्दा पशुपतिमा शिवरात्री मेला व्यवस्थित देखिए पनि स्वयंसेवक र सुरक्षाकर्मीले आफ्ना मान्छे छिराएर लाइनमा बस्नेलाई दुःख दिएको गुनासो पनि भक्तजनको थियो। राष्ट्रपतिको समाचार सङ्कलनका लागि पशुपति क्षेत्र पुगेका केही सञ्चारकर्मीलाई समेत सुरक्षा निकाय र स्वयंसेवकले मूल प्रवेशमै रोकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell