PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

ग्याजेट्सले खेलाडीलाई जोड्छ कि तोड्छ? चिन्ता : मैदानमा उत्रिने खेलाडी डिस्ट्र्याक्टसनको सिकार



मुकुन्द घिमिरे

ग्याजेट्सले खेलाडीलाई जोड्छ कि तोड्छ? चिन्ता : मैदानमा उत्रिने खेलाडी डिस्ट्र्याक्टसनको सिकार

तपाईं कतै हिँड्न पर्‍यो। के के चेक गर्नु हुन्छ?

एकदिन मोबाइल फोन नचलाई बस्दा कस्तो अनुभूति हुन्छ?

हाम्रो जीवनशैलीमा स्मार्ट फोन या ग्याजेटहरुले कति फरक पारिरहेको छ? यो हामी सबैले अनुभूति गरेकै विषय हो। त्यसमाथि अहिलेको युग नै प्रविधिको। अघिल्लो पुस्ताको हिसाबले चौरमा चुङ्गी खेल्न जानुपर्ने बच्चा, युट्युवमा 'डोरेमन' हेरिरहेको भेटिन्छ। गल्लीमा क्रिकेट खेल्दैगर्दा भेटिनुपर्ने बच्चा कुनामा 'पब्जी' मा झुन्डिरहेको हुन्छ। डिजिटल ग्याजेटकै पछि लाग्दा गर्दा केही छुटिरहेको त छैन?

जसरी प्रविधिको विकास अघि बढिरहेको छ, खेलकुद क्षेत्र पनि यसबाट अछुतो छैन। अझ भन्ने हो भने खेलकुदमा प्रविधिको बढी नै प्रयोग हुन्छ। खेलकुदमा चासो राख्नेहरुले सामाजिक सञ्जालबाटै आफ्ना आइडियल खेलाडीहरुलाई पछ्याइरहेका छन्। यतिसम्म कि कुनै खेलाडीले अर्को कसैलाई फलो गरेको या अनफलो गरेकोसम्म चासो रहन थालेको छ।

कतिपय खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय रहन्छन्। लाइभ आइरहन्छन्। र, हरेक क्रियाकलापमा सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका हुन्छन्। त्यस्तै क्लबको अफिसियल आइडीमा पनि हरेक कुराको अपडेट भइरहेको हुन्छ।

+++

भर्खरै शहीद स्मारक 'ए' डिभिजन लिग सकियो। सर्सर्ती हेर्ने हो भने खेलमा पुराना खेलाडी चम्किए, नयाँको तुलनामा। लिगमा आफ्नो टिमले अन्तिम खेलमा पराजय भोगेपछि नेपाली राष्ट्रिय टिमलाई समेत प्रशिक्षक दिइसकेका प्रशिक्षक राजुकाजी शाक्यले अनौठोखाले गुनासो गरे। अघिल्लो सिजनमा लिग तालिकाको पुछारमा रहेको एनआरटी सम्हालेको शाक्यले यसपटक टिमलाई पाँच स्थान उकाल्दै आठौंमा पुर्‍याए। तर,पनि उनी सन्तुष्ट देखिएनन्। नयाँ पुस्ताको व्यवहारको खुलेरै आलोचना पनि भ्याए उनले।

उनको मुख्य असन्तुष्टि हो - खेलाडीबीच हुने 'कम्युनिकेसन'। खेलाडीहरु एउटा कोठामा छन्, सबैजना मुसुमुसु हाँस्दै च्याट पनि गरिरहेका छन् तर कोही एकअर्कोसँग कुरा गरिरहेका छैनन्। कस्तो विडम्बना?

'तीन खेलाडी पूर्वका। तीन पश्चिमका। तीन खेलाडी विदेशका। बसेर च्याट गरि'रा हुन्छन्। टिम बन्न त एक अर्कालाई बुझ्न पर्‍यो नि,' प्रशिक्षक शाक्यले चित्त नबुझेको कुरा खोल्दै भने, 'तपाईँ स्ट्राइकर, म मिडफिल्डर र ऊ डिफेन्डर छ एउटै टिममा भने हामी बीच कम्युनिकेसनबिना राम्रो अन्डर्स्ट्यान्डिङ कसरी बन्छ?'

उनका अनुसार अघिल्लो पुस्तामा भने यस्तो समस्या हुन्थेन। खेलको समय बाहिर पनि टिममेटसँग खेलकै बारे कुराकानी चल्थ्यो। कसरी खेल्ने भनेर छलफल हुन्थ्यो। त्यसले एकअर्कालाई बुझ्न पनि सजिलो हुन्थ्यो। परिणाम टिम बिल्डअप गर्न सजिलो हुन्थ्यो।

क्रिकेटको कथा अलि फरक छ। नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल स्मार्ट फोनको प्रयोग समयको मागको रुपमा परिभाषित गर्छन। तर, कति प्रयोग गर्ने भन्ने चाहिँ प्रयोगकर्तामा भर पर्ने उनको बुझाइ छ।

'स्मार्टफोन भनेको आजको आवश्यकता पनि हो। हरेक कुरामा अपडेट हुनै पर्‍यो,' मल्लले भने, 'तर, अत्याधिक प्रयोग गरे दुरुपयोग हुन पनि समय लाग्दैन।'

स्मार्ट फोनबाटै भिडियो हेरेर अरुको खेलको स्तर हेर्ने र अपडेट हुने हो भने प्रविधि सहयोगी हुने उनको बुझाइ छ।

अर्कातिर सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीले पनि खेलाडीको मनोविज्ञानमा असर पार्ने भएकाले सामाजिक सञ्जाललाई असामाजिक बन्न नदिन सबैले ध्यान पुर्‍याउनु पर्ने बताउँछन् मल्ल।

'कोही खेलाडीहरुले सहजै रुपमा यसलाई स्वीकार्न सक्ला त कसैले सिरियस्ली पनि लिनसक्छ। त्यसैले पनि यो संवेदनशील विषय हो,' मल्लले पहिलोपोस्टसँग भने।

मोबाइल प्रयोगकर्ताले क्रिकेटको भर्चुअल प्रतिस्पर्धा पनि गर्न सक्छन्। त्यसको मैदानी खेलसँग के नाता छ त?

'डिजिटलमा खेलिने गेम र क्रिकेटमा केही कनेक्ट हुन्छ जस्तो मलाई लाग्दैन। त्यो गेम मनोरञ्जनका लागि बनाइएको हुन्छ,' उनले भने, 'न कि टेक्नीकल्ली प्लेयरलाई हेल्प हुने गरी।'

ग्याजेटप्रति नरम सुनिएका ज्ञानेन्द्र आफैँ चाहिँ स्मार्ट फोनमा कति झुन्डिन्छन् त?

'टुनामेन्टमा खासै चलाउँदिन। परिवारसँग सम्पर्क गर्नका लागि चाहिँ गर्छु। त्यतिबेला भ्याइदैन पनि। गेममा फोकस्ड होइन्छ,' उनको जवाफ।

यी त भए टिम गेमका कुरा। इन्डिभिजुअल गेममा भने यसबारे खासै अध्ययन भएको देखिन्न। कराँतेका प्रशिक्षक मदन उप्रेती टिम गेममा जस्तो मोबाइलको प्रयोगले कराँतेमा असर नगर्ने बताए। तर, अनिँदो रहँदा या कन्सन्ट्रेसन कायम गर्न नसक्दा खेलमा कठिन हुनसक्ने उनको तर्क छ।

'यो भर्खरै चासोमा आउन थालेको विषय हो। फुटबल, भलिबलमा जस्तो टिम कोअर्डिनेसन त कराँतेमा चाहिँदैन। यहाँ ब्यक्तिले ब्यक्तिलाई जित्ने हो,' प्रशिक्षक उप्रेतीले भने, 'कराँतेमा धेरै प्रभाव चाहिँ पर्दैन। तर मोबाइल धेरै चलाएर अनिँदो भयो। कन्सन्ट्रेसन गर्न सकेन भने त अलग कुरा भयो। तर, मोबाइलकै कारण खेलमा ठूलै असर पर्ने भन्ने चाहिँ हुँदैन।'

ब्याटमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल पनि मोबाइलमा धेरै समय बिताउने गर्छन्। १६ वर्षे उमेरमै ब्याटमिन्टनको जुनियर वरीयतामा ११ औं स्थानमा आएका उनलाई पब्जी मनपर्छ।

पब्जी र ब्याडमिन्टन उस्तै हो त?

प्रश्नमा दाहाल अलि खुले, 'ब्याडमिन्टनमा गलिन्छ पब्जीमा गलिँदैन नि। पहिलापहिला मोबाइलमा पब्जी खेल्थेँ तर आजकल खेल्दिनँ। ब्याडमिन्टनकै गेम चाहिँ मोबाइलबाट खेल्न गाह्रो हुन्छ। सुरुमा ट्राइ गरेको थिएँ। अहिले छैन।'

+++

पछिल्लो समय बालबालिका धेरै स्मार्ट फोनमा ब्यस्त रहँदा खेलकुदमा पहिलाको तुलनामा बलिया खेलाडीहरु खेलकुदमा कम हुन थालेको विभिन्न अध्ययनहरुले देखाएको छ।

एनसिएको एक अध्ययनमा अमेरिकी फुटबल लिग (एनएफएल) को उदाहरण दिँदै ग्रासरुटबाटै राम्रा खेलाडी आउन नसकेकोमा चिन्ता जनाइएको छ। मोबाइलको प्रयोगलाई लिएर प्रशिक्षक र खेलाडीबीच हुने द्वन्द्वलाई पनि देखाइएको छ अध्ययनमा।

एउटा टिम सिकागो वियर्सको खेल कसरी फितलो हुँदै गयो भनेर टिमका सिइओले प्रशिक्षक लगायत अमेरिकन फुटबलका दिग्गज टोम थायलरसँग बैठक बस्छन्। र, उनीहरुले टिम डाइनामिक्समै परिवर्तन भएको निस्कर्ष निकाल्छन्।

थायलरले पछिल्लो समय खेलकुदमा सोसियल मिडिया र प्रविधिको प्रयोगले टिम ब्युल्डअपका लागि समस्या भएको बताउँछन्।

'टिम एकैसाथ हुँदा पनि टिमवर्क हुन सकिरहेको छैन,' थायलरले भनेका छन्, 'आजको समयमा जब कसैको भेटघाट हुन्छ या प्लेन या बसका आफ्नो टिमसँगै यात्रा गरिरहेको हुन्छ। जब टिम बन्ने र बुझ्ने अवसर सदुपयोग हुँदैन किनभने सबै जना प्रविधिको आफ्नै दुनियाँमा ब्यस्त रहन्छन्। त्यहाँ कम्युनिकेसनको थोरै या सम्भावना नै रहँदैन जसको कारण सामाजिक सन्जाल या प्रविधि हो।'

उनी आफू खेलाडी हुँदाको अवस्थासँग तुलना गर्दै अहिलेका खेलाडी र आफ्नो समयको खेलाडीमा धेरै फरक रहेको बताउँछन्।

'जब म खेलाडी थिएँ त्यतिबेला बाटोमा होस या क्लब हाउसमा, हामी एकअर्कासँग कुरा गरिरहेका हुन्थ्यौं। हामी कुरा गर्थ्यौं। जोक सुनाउँथ्यौं। कार्ड खेल्थ्यौं। किनभने हामीसँग अरु विकल्प थिएन। त्यतिबेला अहिले जस्तो डिस्ट्र्याक्सन ल्याउने सेलफोन या सामाजिक सन्जाल थिएन,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell