PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जहाँ पहिरो त्यही सुरुङ मार्ग : एक महिना भित्र ठाउँ पहिचानको तयारी



दिनेश खड्का

जहाँ पहिरो त्यही सुरुङ मार्ग : एक महिना भित्र ठाउँ पहिचानको तयारी

काठमाडौं : सरकारले देशका मुख्य राजमार्गहरुमा सडक सुरक्षा र चुस्त ट्राफिक व्यवस्थापन गर्न छोटा सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको छ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्र अन्तर्गतको नव प्रबर्द्धन तथा वैकल्पिक शाखाले छोटा सुरुङमार्ग बनाउन उपयुक्त स्थानहरुको पहिचान गरिरहेको छ। शाखाका इन्जिनियरको टोलीले सडक विभागका देशभरका राजमार्ग हेर्ने इन्जिनियरहरुसँग समन्वय गरेर त्यस्ता स्थानहरु पहिचान गरिरहेको छ।

केन्द्रका निर्देशक घनश्याम बस्नेतका अनुसार इन्जिनियरहरुको टोलीले समन्वय गर्दै सम्भावित स्थानहरुको पहिचान गर्नेछ। एक महिनाभित्र सुरुङमार्ग बनाउने स्थानको पहिचान हुने र त्यसपछि अध्ययनका लागि दिइने प्रस्तावना (टिओआर)तयार पारिनेछ।

त्यसपछि सुचना निकालेर परामर्शदाता मार्फत सम्भाब्यता अध्ययन हुनेछ। उक्त प्रतिवेदनले ती स्थान सुरुङमार्ग निर्माण गर्न सम्भव देखाए थप अध्ययन,विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को प्रक्रिया अघि बढ्ने छ। परामर्शदाताले करिव ६ महिनामा रिपोर्ट तयार पार्नेछन्। 'पहाडी क्षेत्रको सडक वर्षातमा पहिरोले सताउँछ' उनले भने' केही स्थानमा २ देखि ३ सय मिटर सुरुङ बनाउन सकिए त्यस्ता समस्याबाट मुक्ति पाइन्छ।'

बस्नेतका अनुसार बेनी जोमसोम सडक खण्ड बर्षेनी बर्खामा बग्ने गरेको छ। त्यहाँ छोटो सुरुङमार्ग बनाउन सकिए सडक सहज हुने अवस्था छ। स्याङजामा भालु पहाडमा पनि छोटो सुरुङमार्गको आवश्यकता छ। मुग्लिन-नौविसे, नारायणगढ-मुग्लिन लगायतका क्षेत्रमा समेत सुरुङमार्गको अध्ययन हुनेछ।

राजमार्गलाई बाह्रै महिना संचालन हुने वातावरण बनाउन सुरुङमार्ग निर्माणको अध्ययन अघि बढेको हो। यसले नेपाल सुरुङमार्गको क्षेत्रमा नयाँ भएकाले इन्जिनियरहरुको क्षमता अभिवृद्धिमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साना सुरुङमार्ग बनाउन सकिए धेरै सिक्ने र बुझ्ने अवसर प्राप्त हुने बस्नेतको दाबी छ।

सुरुङमार्ग सम्वन्धी नेपालको आफ्नै ‘कोड अफ डिजाईन’ छैन्। मापदण्ड बनाएर ‘कोड अफ डिजाईन’ समेत ल्याउन लागिएको बस्नेतले जानकारी दिए। अहिले नौविसे-नागढुंगा सडक ‘अन्तराष्ट्रिय कोड अफ डिजाईन’का आधारमा निर्माण भैरहेको छ जापानको आर्थिक र प्राविधिक सहयोगमा यो सुरुङमार्ग निर्माण हुँदैछ।

पाल्पाको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नेपालले आफ्नै स्रोतबाट निर्माण गर्न स्पेशिफिकेशन र विडिङ डकुमेन्ट तयार पारिरहेको छ। स्वीस सरकारको सहयोगमा डिजाइन तयार पारिएको यो सुरुङमार्गको ठेक्का निकाल्ने तयारी भैरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell