PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोटेश्वरको ट्राफिक जामको अध्ययन गर्न आज जापानबाट आउँदै प्राविधिक टोली, बन्न सक्छ सुरुङ मार्ग



दिनेश खड्का

कोटेश्वरको ट्राफिक जामको अध्ययन गर्न आज जापानबाट आउँदै प्राविधिक टोली, बन्न सक्छ सुरुङ मार्ग

काठमाडौं : कोटेश्वरको ट्राफिक जामको समस्या समाधानका लागि अध्ययन गर्न जापानबाट प्राविधिकसहितको टोली शनिबार काठमाडौं आउने भएको छ।

कोटेश्वरको जामको दीर्घकालिन समस्या समाधानको अध्ययनका लागि प्राविधिक इन्जिनियर सहितको टोली आउन लागेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। सरकारी अधिकारी सहित आउने टोलीमा को को हुने भने खुलाईएको छैन।

 थापाका अनुसार करिव डेढ महिनासम्म जापानका प्राविधिक र नेपाली प्राविधिकको संयुक्त टोलीले 'फिल्ड सर्भे' गर्ने छ। 'फिल्ड सर्भे' सकेर जापानी टोली फिर्ता हुनेछ। उनीहरुले करिव ८ देखि ९ महिना रिपोर्ट तयार पार्नेछन्। त्यसपछि उनीहरुले नेपाल आएर थप अध्ययन समेत गर्ने महाशाखाले जनाएको छ। ढिलोमा एक बर्षमा उनीहरुले प्रतिवेदन नेपाल सरकालाई बुझाउनेछन्। यसमा 'डिटेल'मा अध्ययन र 'ड्रइङ डिजाइन' समेत हुने छ। उनीहरुले नेपाल सरकारको आग्रहमा आफ्नै लगानी 'डिटेल' अध्ययन गरेर प्रतिवेदन तयार पारिदिन लागेका हुन्।

यस अघि नै जापानी टोलीले अध्ययन गरेर पुर्व सम्भाव्यता अध्ययन(प्रि फिजिविलिटी) प्रतिवेदन नेपाल सरकारलाई दिइसकेको छ। पूर्व सम्भाब्यता अध्ययन पनि पनि उनीहरुले आफ्नै लगानीमा गरिदिएका हुन्। पूर्व सम्भाब्यता भएको करिव एक बर्षपछि डिटेल अध्ययन अघि बढाउन लागिएको हो।

जापानी कम्पनीले फिजिविलिटी अध्ययन गरेर दिएको प्रतिवेदनमा तीनवटा विकल्प दिएको छ। त्यसमा जापानी टोली आएपछि विकास सहायता कार्यान्वयन महाशाखा,भौतिक, पुर्वाधार तथा यातयात, अर्थ मन्त्रालय,नागरिक उड्ययन प्राधिकरण लगायतका प्रतिनिधी बसेर कुन विकल्पमा जाँदा उपयुक्त हुन्छ भनेर निर्णय गर्नेछन्। सोही आधारमा जापानी टोलीले सर्भे र डिजाइनको काम गर्ने छ। 

सम्भाब्यता अध्ययन अनुसार सुरुङमार्ग सहितको संरचना निर्माण गर्ने उल्लेख छ। प्रतिवेदनमा ११४० मिटरको सुरुङमार्ग रहनेछ भने निर्माण अवधि ४८ महिना राखिएको छ। सुरुङको लागत अनुमान करिव २४ अर्ब रहेको छ। तीनकुनेतिरबाट भक्तपुरतिर जाने सडकको मुनी रिङरोडमा सुरुङमार्ग रहनेछ। त्यस्तै बानेश्वर र तीनकुनेबाट सुर्यविनायकतिर जाने सडकलाई विस्तार गरिनेछ।

प्रतिवेदन अनुसार दोस्रोमा फ्लाइ ओभर निर्माण गरिने छ। यो विकल्पमा अध्ययन भएमा तीनकुनेबाट बालकुमारीतिर जाने सडक (चक्रपथमा)फ्लाइओभर हालिनेछ। करिव १३२० मिटरको फ्लाइओभर हुनेछ। सुर्यविनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर विस्तार गरिने छ। करिव ९ अर्ब ९० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। यो निर्माणका लागि तीन बर्षको अवधी राखिएको छ।

तेस्रो विकल्पमा भक्तपुरतिर जाने सडकमा सुङमार्ग सहितको संरचना हुनेछ। भक्तपुरतिर जाने सडकमा आउन र जान दुईवटा सुरुङमार्ग निर्माण गरिने उल्लेख छ। करिव १८६० मिटर लामो सुरुङमार्ग हुने जसका  लागि २४.६ अर्व लाग्ने अनुमान छ। चक्रपथलाई विस्तार गरिनेछ।

डिभिजन सडक काठमाडौंले कोटेश्वरको जामको अल्पकालीन जामको समस्या समाधानका लागि डेडिकेटेड लेन बनाउन लागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एक र अर्को साईडमा तीन लेन विस्तार गर्न लागेको हो। डेडिकेटेड लेन बनेपछि तीनकुनेबाट कोटेश्वर हुँदै भक्तपुर जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटोतिर जाने सवारीसाधन रोकिनुपर्दैन्। यसबाट जाम घटाउने अपेक्षा गरिएको छ।

त्यसै गरि यही जापानी टोलीसँग बानेश्वर चोकमा कलंकीको जस्तै अण्डरपास बनाउने सहमति समेत हुन लागेको छ। जापानले आफ्नै प्राविधिक र आर्थिक सहयोगमा अण्डरपास  बनाउनेछ। अण्डरपासका विषयमा आगामी साता द्विपक्षीय सम्झौता हुनेछ। अण्डरपासको लागत करिव १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell