PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

दैनिक २ अर्बको हाराहारीमा घरजग्गाको कारोबार ! के सेयर बजारजस्तै उचालिन लागेको हो?



अमर बडुवाल

दैनिक २ अर्बको हाराहारीमा घरजग्गाको कारोबार ! के सेयर बजारजस्तै उचालिन लागेको हो?

काठमाडौं : सेयर बजारसँगै घरजग्गाको कारोबारमा पनि उछाल आउन थालेको छ। अहिले दैनिक दुई अर्बको हाराहारीमा घरजग्गा खरीद बिक्री भइरहेको छ। पछिल्लो समयमा सेयर बजारमा समेत औसतमा दुई अर्बको कारोबार भइरहेको छ।

विगत तीन महिना यता लगातार मासिक दुई अर्ब बढी रजिष्ट्रेशन शुल्क संकलन हुनुले महिनामा ५० अर्ब रुपैयाँको घरजग्गा किनबेच भइरहेको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ।

रजिष्ट्रेशन शुल्क भनेको कुल कारोबार रकमको ५ प्रतिशत मात्रै हो। अझ महिला, दलित, शहिद परिवार र अपाङ्गता भएका व्यक्तिको नाममा जग्गा किन्दा रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत सम्म छुट छ। यति हुँदा पनि एकै महिनामा दुई अर्ब रुपैयाँ बढि रजिष्ट्रेशन शुल्क उठ्नु भनेको मासिक ५० अर्ब भन्दा बढिको घरजग्गा किनबेच भइरहेको अनुमान सजिलै गर्न सकिन्छ।

चालु आर्थिक वर्षको मंसिरमा पहिलोपटक दुई अर्ब २५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो। मंसिरमा मात्रै नभएर पुस र माघमा पनि रजिष्ट्रेशन शुल्क लगातार प्रति महिना दुई अर्ब रुपैयाँ भन्दा बढि संकलन भएको छ।

यस्तो छ तीन महिनाको तथ्याङ्क

माघ महिनाको तथ्यांक हेर्ने हो भने देशभर ५५ हजार ५९१ भन्दा बढि घरजग्गा किनबेच भएका छन्। गत महिना ३६ हजार ३४३ र मंसिरमा ५५ हजार ९७६ घरजग्गा किनबेच भएका थिए।

कारोबार संख्याका हिसाबले पनि यो विगत लामो समयपछिको ठूलो हो। किनभने विगत लामो समयदेखि मासिक ३०/३५ हजार भन्दा बढि घरजग्गा किनबेच हुन सकेका थिएनन्।

माघमा घरजग्गा किनबेचबाट दुई अर्ब २० करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ। गत महिना दुई अर्ब ३६ करोड र मंसिरमा दुई अर्ब २५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो। मंसिर लागेपछिनै पहिलोपटक देशभरको रजिष्ट्रेशन शुल्क दुई अर्ब रुपैयाँ बढि संकलन भएको थियो। त्यसभन्दा अघि मुस्किलले मासिक ७० करोड देखि डेढ अर्ब रुपैयाँ सम्म मात्रै रजिष्ट्रेशन शुल्क संकलन हुँदै आएको थियो।

उपत्यकामा मात्रै मासिक २५ अर्ब बढी लगानी

पछिल्लो तीन महिनाको तथ्यांक उपत्यकामा मासिक एक अर्ब भन्दा बढि रजिष्ट्रेशन शुल्क संकलन हुँदै आएको छ। उपत्यका बाहिरको तुलनामा उपत्यका भित्र भने वास्तविक कारोबार मूल्यकै नजिक रहेर घरजग्गा खरिद बिक्री हुन्छन्।

थैली अंकको ५ प्रतिशतले हुने रजिष्ट्रेशन शुल्क र ०.५ प्रतिशतले हुने बागमती सभ्यता कोषको शुल्क हिसाब गर्दा उपत्यकामा मासिक २५ अर्ब रुपैयाँ बढीका घरजग्गा किनबेच भइरहेको देखाउँछ।

माघमा उपत्यकामा ११ करोड ७८ लाख बढी बागमती सभ्यता शुल्क संकलन भएको छ। रजिष्ट्रेशन शुल्कमा विभिन्न उपशीर्षकमा छुट पाउने भएपनि बागमती सभ्यता शुल्क भने थैली अंकमै ०.५ प्रतिशत लिने नियम छ। बागमती सभ्यता शुल्क अनुसार पनि उपत्यकामा मात्रै मासिक २३ अर्ब रुपैयाँ बढिको घरजग्गा कारोबार भएको देखिन्छ। उपत्यकामा पनि सबै घरजग्गा वास्तविक मूल्यमै किनबेच नहुने हुँदा कारोबार रकम अझै बढ्न सक्ने उपत्यकाका मालपोत कार्यालयले जनाएका छन्।

यस्तो छ उपत्यकाको कारोबारको अवस्था

उपत्यकामा पनि मंसिर लागेपछिनै पहिलोपटक एक अर्ब बढी रजिष्ट्रेशन शुल्क उठेको थियो। मंसिरमा एक अर्ब २२ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएकोमा पुसमा एक अर्ब ६ करोड ७६ लाख र माघमा एक अर्ब १८ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेको छ।

कारोबार संख्या भने धेरै ठूलो अन्तर आएको छैन। मंसिरमा ६ हजार ५ सय, पुसमा ६ हजार ७ सय र माघमा ६ हजार ६ सय घरजग्गा खरिद बिक्री भएका छन्। यस अघि भने उपत्यकामा मासिक ५ हजार भन्दा बढि घरजग्गा किनबेच हुन सकेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell