PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

एमसिसी बाइवल होइन परिमार्जन हुनै सक्दैन भन्न : प्रचण्ड



पहिलोपोस्ट

एमसिसी बाइवल होइन परिमार्जन हुनै सक्दैन भन्न : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परिमार्जन हुने बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट एमसिसी सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको भन्दै त्यसलाई अध्ययन गरी सचिवालयको बैठकमा छलफलपछि अनुमोदन हुने उनले बताए।

नवपुरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। शुक्रवार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेश गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जन सहित अनुमोदन हुने बताए।

'एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइने छ,' उनले भने, 'प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको छ।'

'एमसिसी सबै राजनीतिक दलहरुले रुची देखाएको विषय भन्दै सुरुमा सम्झौता पत्र अध्ययन गर्दै जाँदा विभिन्न कोणबाट डिवेटहरु शुरु भएका थिए। पार्टीमा केन्द्रीय समितिमा नेगेटिभ पनि होइन पुरै चुपचाप पारित हुनुपर्छ भन्ने पनि होइन्। अध्ययन गरेर पारित गर्नुपर्छ भनेर कार्यदल बनाएको हो। कार्यदलले प्रतिवेदन बुझाइसकेको छ। अध्ययन हुन्छ,' उनले भने।

'अमेरिकाबाट प्रतिनिधि टोली आएका थिए। एमसिसी बाइबल त होइन जस्ताको तस्तै पारित गर्नुपर्ने। प्रधानमन्त्रीज्यूले पनि यस विषयमा आवश्यक परे परिमार्जन हुन्छ भन्नु भएको छ,' उनले अगाडि भने, 'उनीहरुले पनि बाइवलै हो जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने कुरा त आएन। यस बीचमा पहिले नै दुई पटक संशोधन भइसकेको छ। त्यसकारण यो परिमार्जन हुनै नसक्ने सम्झौता होइन। कार्यदलले पनि यसैलाई लिएर परिमार्जन गरेर अगाडि बढाउने राय पेश गरेको छ।'

सञ्चार मन्त्रीका सवालमा बाँकी अनुसन्धान गर्ने विषय भए गर्ने पहल लिएको भन्दै समस्या समाधान भएको उनले बताए। सरकारको समीक्षा सचिवालय बैठकले गर्ने उनको भनाइ थियो।

कसैले पनि नक्कल गरेर क्रान्ति नहुने भन्दै उनले सबैलाई मुलधारमा आउन आग्रह गरे।

'क्रान्ति भनेको कसैको नक्कल गरेर हुने होइन्। विप्लवहरु पनि अहिलेको लोकतान्त्रिक गणतन्त्र अन्तर्गत आएर संवादको माध्यमबाट समृद्धिको आधार तयार गर्न लाग्नुपर्छ,' उनले भने।

'सरकारले गैर कानुनी रुपमा बम पड्काउनेलाई छुट दिन त सक्दैन। सरकारले पनि संगठनलाई नै आतंकारी भनेको छैन। आतंककारीलाई मात्र प्रतिबन्ध लगाउने भन्ने होइन,' उनले भने 'उहाँका गतिविधिहरु निर्दोषलाई मार्ने। हिंसा फैलाउने यस्ता गतिविधिलाई कसैले पनि सही भन्ने त होइन। उहाँहरु पनि ढिलो चाँडो यही लाइनमा आउनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell