PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

आहा! रारा गोल्डकपको पुरस्कार राशी बढ्यो, नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाउने



रासस

आहा! रारा गोल्डकपको पुरस्कार राशी बढ्यो, नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाउने
तस्बिर : रासस

पोखरा : आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८ औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ।

प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले १० लाख एक हजार रुपैयाँ तथा उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउने बताएको हो। गत वर्ष विजेताले आठ लाख एक हजार तथा उपविजेताले चार लाख एक हजार रुपैयाँ पुरस्कार पाएका थिए।

प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई समेत जनही १५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई समेत पाँच हजार रुपैयाँ पुरस्कार दिने बताइएको छ।

प्रतियोगितामा साविक विजेता थ्रीस्टार क्लब तथा उपविजेता त्रिभुवन आर्मी क्लबसहित मनाङ मर्स्याङ्दी, ब्रिगेट ब्याइज, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सङ्कटा, झापा ११ फुटबल, क्लब, गान्टोङ सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब पोखरा गरी १० टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ।

अध्यक्ष थापाले प्रतियोगितास्थलका बारेमा केही आशङ्का रहेकामा राष्ट्रिय खेलकूद परिषद्ले निर्माणाधीन पोखरा फुटबल रंगशालामा नै प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएसँगै आशंका हटेको र विभिन्न १४ उपसमिति गठन गरेर प्रतियोगिताको तयारी तीव्र पारिएको बताए।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले फुटबल रंगशालाको प्यारापिटमा हालसम्म १३ हजार ५०० कुर्सी जडान गरिसकिएकाले प्रतियोगिता सञ्चालनमा कठिनाई नहुने तथा प्रतियोगिता शुरु हुने बेलासम्म १६ हजार कुर्सी जडान भइसक्ने दावी गरे। सहाराले प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालन गरेको ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ। एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell