PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निमित्तकै भरमा प्रहरीका महत्वपूर्ण मुकाम : राजनीतिको खिचातानीले संगठनमा समस्या



सविन ढकाल

निमित्तकै भरमा प्रहरीका महत्वपूर्ण मुकाम : राजनीतिको खिचातानीले संगठनमा समस्या

काठमाडौं : माघ २८ गते डिआइजी ठाकुर ज्ञवाली (हाल आइजी) विराटनगरबाट काठमाडौं हानिए। प्रदेश नम्बर १ को प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले फेरि फर्किएर विराटनगर प्रदेश प्रहरी सम्हाल्न पुग्नु परेन। मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई आइजीमा बढुवा गरिदियो।

उनीसँगै आइजीको बढुवाका दावेदार बनेकाहरुका लागि भने प्रदेशबाट काठमाडौंको यात्रा निरस नै बन्यो। ज्ञवालीको बढुवासँगै प्रदेश प्रहरीको जिम्मेवारी निमित्तमा सर्‍यो। उनी बढुवा भएको १२ दिनदेखि अहिले १ नम्बर प्रदेश प्रहरी निमित्त (एसएसपी) कै भरमा नै चलेको छ।

२८ गते डिआइजी ज्ञवालीले बढुवा भएर प्रहरी संगठनको प्रमुखको जिम्मेवारी सम्हाले। तर, त्यही दिनदेखि प्रहरी संगठन भित्रका धेरै विभाग प्रमुख विनाका भए। एकै दिन प्रहरी महानिरीक्षक (आइजी) तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), १९ प्रहरी नायव महानिरीक्षक (डिआइजी)ले ३० वर्षे सेवा अवधिको कारण अवकाश पाए। यसरी अवकाश पाएका एआइजीदेखि डिआइजीसम्मले कुनै न कुनै संगठनको महत्वपूर्ण विभाग र कार्यालयको जिम्मेवारी सम्हालिरहेका थिए। एकै चोटी धेरै माथिल्लो तहका प्रहरी कर्मचारीको अवकाशले अहिले विभाग र कार्यालय निमित्तकै भरमा चल्नु परेको छ।

तीन एआइजीको दरबन्दी रहेको नेपाल प्रहरीको महत्वपूर्ण अपराध अनुसन्धान विभाग एआइजी पुष्कर कार्कीले अवकाश भएपछि रिक्त छ। देशमा भएका र हुने अपराधलाई नियन्त्रण तथा अनुसन्धान गर्ने यस विभागको महत्वपूर्ण भूमिका हुन्छ। तर, विभाग नै निमित्तको भरमा हुँदा कहिलेकाही नीतिगत निर्णयदेखि तत्कालका काममा प्रश्न उठ्न सक्छ। अहिले विभागमा एसएसपी धनश्याम अर्याल निमित्तका रुपमा छन्।

भोलि रिक्त रहेकै अवस्थामा प्रदेश एकमा कुनै घटना भए अनुसन्धान गर्नु परे काम गर्न असजिलो हुने देखिन्छ। जस्तो विभागका एसएसपीले प्रदेशका डिआइजीलाई कसरी निर्देशन देलान्? उनले प्रहरी प्रधान कार्यालयकै मुख ताक्नुपर्ने हुन्छ। त्यसो त प्रहरी भित्र पनि इन्भेष्टिगेसन, डेली वर्क, एडमिनिस्ट्रेसन फरक फरक क्षेत्र छन्। सबै विभागमा एउटै व्यक्ति निपूर्ण हुन्छ भन्ने हुँदैन।

नेपाल प्रहरीको एकडेमी पनि १२ दिनदेखि निमित्तले नै धानेका छ। एआइजीको दरबन्दी रहेको एकेडेमीमा एसएसपीको नेतृत्व छ। २८ गते एआइजी ठूले राई र डिआइजी रामप्रसाद श्रेष्ठले अवकाश पाएका हुन्। त्यस्तै अन्वेषण निर्देशानालय पनि रित्तो छ।

डिआइजी नेतृत्व रहेको विभागमा पनि उही हविगत देखिन्छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागका डिआइजी नारायण सिंह खड्काले पनि सोही दिन अवकाश पाए। उनी गएसँगै अहिले एसएसपी धीरजप्रताप सिंहले निमित्त भएर काम गरिरहेका छन्।

प्रदेशको दरबन्दी डिआइजी भए पनि प्रदेश नम्बर ५ मा पनि अहिले डिआइजी छैनन्। डिआइजी पिताम्बर अधिकारीको अवकाशपछि कुर्सी खाली भएको हो। कर्णाली प्रदेश प्रहरी प्रमुख पनि खाली छ।

लागू औषध नियन्त्रण व्यूरो पनि डिआइजी कुरेर बसिरहेको छ। डिआइजी दिनेश अमात्य अवकाश भएपछि अहिले एसएसपी वसन्त लामाले निमित्तको भरमा व्यूरो थामिरहेका छन्। उनी बिदामा बस्दा त झन् एसपीले व्यूरोको जिम्मेवारी लिनुपर्छ। केन्द्रीय साइवर व्यूरो पनि खाली छ।

पूर्व एआइजी देवेन्द्र सुवेदी प्रहरी संगठनमा अहिले देखिएको समस्या पहिले देखि नै रहेको बताउँछन्। राजनीतिक दलले संगठनलाई आफ्नो अनुकुल बनाउन खोज्दा समस्या निम्तिएको उनको दावी छ।

'सरकारको सोच छैन। संगठनलाई मतलव छैन। त्यसमा प्रहरीको भर्ना अन्य कर्मचारीको जस्तै गरी हुने हुँदा समस्या देखिन्छ। आइजी नै मात्र ठूलो हो भनेर त्यसैको पछि लाग्दा यस्तो समस्या आउँछ,' पूर्व एआइजी सुवेदीले भने।

पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालले अवकाश पाउँदा पनि यस्तै समस्या देखिएको थियो। महानिरीक्षक अर्यालको पालामा ११ जना एआइजी, ३ जना डिआइजीले एकैसाथ अवकाश पाएका थिए। त्यतिमात्र होइन, महानिरीक्षक बनाउने विषयमा राजनीति जोडिँदा तीनवटा प्राविधिक तर्फका एआइजीलाई निमित्त महानिरीक्षक बनाउन परेको थियो। २०७३ फागुन २ गते सरकारले डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त महानिरीक्षक बनाएको थियो। नवराज सिलवाल र जयबहादुर चन्द काण्डका कारण प्राविधिक तर्फका पोखरेलले केही समय प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

को होला एआइजी?

सरकारले दर्जनभन्दा बढी भएको एआइजीको दरबन्दी घटाएर तीनमा झारेको छ। एआइजीका प्रतिस्पर्धी र दरबन्दी सङख्यामा कमी हुँदा संगठनभित्र दौडधुप बढेको छ। माथिल्लो तहमा बढुवा समयमा हुन नसक्दा त्यसको असर तल्तो तहमा देखिन थालेको छ। अहिले एआइजीको बढुवा महत्वको साथ लिइएको छ। किन कि अहिले बढुवा भएका एआइजी नै भावि आइजीका रुपमा हेरिएको छ।

तीनवटा दरबन्दी रहेको एआइजीका लागि डिआइजी सूर्यप्रसाद उपाध्याय, तारणीप्रसाद लम्सालदेखि उनीहरुपछिका व्याचीसमेत देखिएका छन्। यी दुई जना भने आइजी ठाकुर १ ज्ञवालीका ब्याची हुन्। ३० वर्षे सेवा अवधि कायम रहिरहे उनीहरु असार २१ गतेबाट अवकास पाउने छन्। उनीहरु वरिष्ठताको आधारमा एआइजी हुनुपर्ने दावीका साथ जुटिरहेका छन्। दुई जना एआइजी भए अर्को एक एआइजी को त? यो प्रश्नले धेरै महत्व राख्छ।

अर्को एक जना उनीहरु पछिको व्याचलाई लगिए पाँच महिनापछि वरिष्ठताको आधारमा तिनै आइजी हुने सम्भावना बलियो हुन्छ।

२०७५ असोज २० गते बढुवामा परेका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रधुम्न कार्की पनि एआइजीको लाइनमा छन्। त्यसपछि एकल बढुवा भएका विश्वराज पोखरेल पनि एआइजीका दावेदार हुन्।

एआइजीको दरबन्दी कम गर्दा एआइजीको प्रतिस्पर्धा बढी भएको पूर्व एआइजी सुवेदी बताउँछन्। 'एआइजीको दरबन्दी घटाउनु दुर्भाग्य हो। यसले प्रहरीलाई कमजोर बनाउँछन्। यति धेरै दायित्व बोकेको संगठनको एआइजी घटाउनु हुँदैनथियो,' पूर्व एआइजी सुवेदीले भने।

एआइजीमात्र होइन, १९ वटा डिआइजीको पद पनि रिक्त रहेको छ। एसएसपीदेखि तल्लो तहसम्म दरबन्दी खाली छ। यसले पनि प्रहरीमा पदोन्नतीको समयमा हुने चलखेल बढाउनेमा दुईमत छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell