PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एपिएफ चौँथो खप्तड गोल्डकपको क्वाटरफाइनलमा



एम बम

एपिएफ चौँथो खप्तड गोल्डकपको क्वाटरफाइनलमा

कैलाली : सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौँथो संस्करण अन्तर्गत शनिवार भएको खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। ‘ए’ डिभिजन टिम न्यू रोड टिम (एनआरटी)लाई २-१ गोलले स्तब्ध पार्दै एपिएफ क्वाटरफाइनल प्रवेश गरेको हो।

सुदूरपश्चिम-११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको गोल्डकपको दोस्रो दिनको खेलमा एपिएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक एक गोल गरे। एनआरटीको लागि दर्शन गुरुङले सान्त्वना गोल गरे।

खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो। खेलको ३९ औँ मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट उनले सुन्दर गोल गरे।

दोस्रो हाफमा एपिएफ खेलमा फर्कियो। खेलको ६१ औँ मिनेटमा रमेशले गोल गर्दै एपिएफलाई १-१ गोलको बराबरीमा ल्याए। सुदिप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेडमार्फत गोल गरे।

त्यसपछि खेलको ६७ औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल गर्दा एपिएफले खेल २-१ आफ्नो पक्षमा पार्‍यो। कप्तान टोपबहादुर बिष्टले प्रहार गरेको रिवाउण्ड बलमा बिकुले गोल गरेका थिए।

खेलको म्यान अफ द म्याच एपिएफका रमेश दंगाल चुनिए। उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।

अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ। यसअघि शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीसँग ३-२ को हार बेहोरेको एपिएफले त्यसको बदला समेत लिएको छ।

प्रतियोगिता अन्तर्गत आइतवार नव जनजागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell