कास्की : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान नरहने बताएका छन्।
आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश समितिको ११ औँ एकता अधिवेशनको शनिवार पोखरामा उद्घाटन गर्दै उनले आरोप लाग्दैमा सत्य नहुने र कसैले भ्रष्टाचार गरेको प्रमाणित भएको खण्डमा पार्टी सदस्यबाट निलम्बन मात्र होइन जेल जान तयार हुुनुपर्ने उल्लेख गरे।
पार्टीको गण्डकी प्रदेश कमिटीका सहइञ्चार्ज समेत रहेका नेता अधिकारीले अहिले कम्युनिस्ट पार्टीलाई चौतर्फी घेराबन्दी गर्ने र पार्टी फुटाउने कोसिस भएको उल्लेख गरे।
नेता अधिकारीले पार्टीको नीतिको कारण नेपालमा लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै नेपालको आम्दानीको मुख्य स्रोत बिजुलीको उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने धारणा राखे। अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत विद्युत् प्रसारणलाइनलाई अन्तरदेशीय बनाउन लागेको चर्चा गर्दै उनले एमसिसी राष्ट्रियहित अनुकूल नभए सच्याउनुपर्ने स्पष्ट पारे।
युनियनका केन्द्रीय संयोजक रामेश्वर पौडेलले विद्युत् प्राधिकरण भित्रको भौतिक र मानवीय वातावरणलाई स्वच्छ र सफा बनाएर एक वर्ष भित्रमा नमूना प्राधिकरण बनाउने योजनाका साथ युनियनले राष्ट्रिय अभियान थालेको जानकारी दिए। केन्द्रीय सहसंयोजक खगेन्द्र शाहीले विद्युत् प्राधिकरण पछिल्लो समयमा वार्षिक नौ अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएकाले प्राधिकरणलाई खण्डीकरण नगरी विस्तृतिकरण गर्नुपर्नेमा जोड दिए।