PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विकास खर्चको दुर्गति, खर्च गर्न नसकेपछि धमाधम रकम फिर्ता गर्दै आयोजना



खेमराज श्रेष्ठ

विकास खर्चको दुर्गति, खर्च गर्न नसकेपछि धमाधम रकम फिर्ता गर्दै आयोजना

काठमाडौँः विकास निर्माणको जिम्मा लिएर खर्च गर्न नसक्ने निकायहरुले बजेट फिर्ता (सरेन्डर) गर्न थालेका छन्। विनियोजन गरिएको रकम खर्च गर्न नसकेपछि आयोजना तथा निकायहरुले बजेट फिर्ता सुरु गरेका हुन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार ती निकायले बजेट फिर्ता सुरु गरेका हुन्। काठमाडौं-तराई द्रुतमार्गले विनियोजित बजेट फिर्ता गरिसकेको छ। १५ अर्ब ७२ लाख विनियोजन गरिएको यो आयोजनाको सात अर्ब ३० करोड रुपैयाँ फिर्ता गरेको हो। यस्तै मेलम्ची खानेपानी आयोजनाले पनि बजेट सरेन्डरको प्रक्रिया अघि बढाएको आयोजना प्रमुख तिरेश खत्रीले बताए।

आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको मेलम्ची खानेपानी योजनामा ६५ करोड ९२ लाख मात्रै खर्च भएको छ। आयोजनामा चालु आर्थिक वर्षमा सात अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। आयोजनाले तीन अर्ब बजेट फिर्ताको तयारी गरेको छ। आयोजना प्रमुख खत्रीका अनुसार जग्गाको मुआब्जा वितरण गर्न नसक्दा आयोजनाले सबै रकम खर्च गर्न नसकेको हो।

'हामीले तीन अर्ब फिर्ता गर्ने तयारी गरेका छौं। जग्गाको मुआब्जा वितरण गर्न नसक्दा बजेट फिर्ता गर्न लागेका हौं' खत्रीले भने।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको समीक्षा गर्दै फागुनभित्र ठेक्का नलाग्ने आयोजनाले बजेट सरेन्डर गर्न निर्देशन दिइसकेका छन्।

चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरुमा एक खर्ब दुई अर्ब ६५ करोड विनियोजन गरिएकोमा ६ महिनासम्म १९ अर्ब २४ करोड मात्रै खर्च भएको छ। २२ आयोजानामध्ये कुनैको पनि प्रगति सन्तोषजनक छैन्।

https://bizmandu.com/assets/upload/images/64949716_325757541659004_5658965286196346880_n(1).jpg

राष्ट्रिय गौरवका आयोजना खर्चमा असफल

मध्यपहाडी लोकमार्गमा चालु आर्थिक वर्षमा १२ अर्ब १९ करोड ९२ लाख विनियोजन गरिएको छ। अहिलेसम्म दुई अर्ब ४८ करोड मात्रै खर्च भएको छ।

चालु आर्थिक वर्षमा २८ किमी सडक कालोपत्रे भएको छ भने ३४ किमी सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ। यस्तै ५५ किमी सडक कालोपत्रे निर्माणको ठेक्का अन्तिम चरणमा पुगेको छ। खर्च सन्तोषजनक नभए पनि बजेट सरेन्डरको तयारी नभएको आयोजना प्रमुख दीपक केसीले बताए।

सिक्टा सिँचाइ आयोजनाले ४२ हजार सात सय हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य लिएको छ। यो आयोजनाले चालु आर्थिक वर्षमा ५१ करोड ५३ लाख खर्च गरिसकेको छ। आयोजनाका लागि चालु वर्षमा एक अर्ब ५२ करोड तीन लाख रुपैयाँ विनियोजन गरिएको थियो। यस्तै रानीजमरा कुलरिया सिँचाइ आयोजनाले चालु वर्षमा ६६ करोड १४ लाख खर्च गरेको छ। आयोजनाका लागि दुई अर्ब ४२ करोड विनियोजन गरिएको छ।

https://bizmandu.com/assets/upload/images/mm(2)(1).png

सिँचाइ र जलविद्युत उत्पादन गर्ने लक्ष्य लिइएको भेरी बबई डाइभर्सनले चालु वर्षमा एक अर्ब १७ करोड खर्च गरेको छ। गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ४६ करोड ३३ लाख खर्च गरेको छ। चालु वर्षमा विमानस्थलका लागि तीन अर्ब ३३ करोड विनियोजन गरिएको छ। आयोजनाले सबै रकम खर्च हुने जनाएको छ।

निजगढ विमानस्थल आयोजनाले हालसम्म कुनै रकम खर्च गर्न सकेको छैन। आयोजनाका लागि सरकारले चालु वर्षमा एक अर्ब ५० करोड बजेट विनियोजन गरेको छ। आयोजनाले सबै रकम सरकारलाई फिर्ता गर्ने तयारी गरेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले बजेट सरेन्डर नगर्ने भएको छ। चालु वर्षमा जग्गा अधिग्रहणसहित ८ अर्ब विनियोजन गरिएको छ। विनियोजित रकममध्ये ४ अर्ब ३ करोड रुपैयाँ खर्च गरिसकेको छ।

पशुपति क्षेत्र विकास कोषले पनि हालसम्म विनियोजित बजेट खर्च गर्न सकेको छैन।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विनियोजित सबै रकम खर्च गर्ने जनाएको छ।

यसैगरी हुलाकी राजमार्गले अपेक्षित खर्च गर्न सकेको छैन। हालसम्म यो राजमार्गले तीन अर्ब १० करोड ४० लाख खर्च गरेको छ। आयोजनाका लागि १३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बजेटमा पाँच अर्ब रुपैयाँ भारतीय एक्जिम बैंकबाट लिने व्यवस्था भए पनि पैसा नआएको आयोजना प्रमुख रोहित कुमार विसुरालले बताए।

यस्तै, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले एक अर्ब ५७ लाख मात्रै खर्च गरेको छ। यो आयोजनाका लागि ७ अर्ब ६९ लाख विनियोजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell