
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको एक हजार खेल पुरा गरेका छन्।
शनिबार राति भएको खेलमा स्पलविरुद्ध आफ्नो १००० औं खेलमा पनि युभेन्टसका लागि गोल गर्न सफल रहे। गएराति भएको खेलमा युभेन्टसले २-१ को जित हात पारेको थियो।
यसबाहेक पनि रोनाल्डोले सिरी ए मा लगातार ११ खेलमा गोल गर्दै अर्को रेकर्ड पनि बनाएका छन्। खेलको ३९औं मिनेटमा गोल गर्दै उनले ग्याब्रियल बतिस्तुताल र फेवियो क्वाग्लिरेलाको रेकर्डसँग बराबरी गरे।
खेलमा उनको गोलसँगै युभेन्टसले अग्रता बनाएको थियो। दोस्रो हाफमा आरोन रामसेले युभेन्टसका लागि अर्को गोल गरे। ६० औं मिनेटमा गोल गरेसँगै युभेन्टस दुई गोलले अगाडि रहेको थियो। यद्यपि, खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै स्पलका लागि एन्ड्रेस पेटागनले गोल गरे। तर खेलमा फर्कन त्यो गोल पर्याप्त रहेन। र, खेलको नतिजा २-१ ले युभेन्टसले आफ्नो पक्षमा पार्यो।
जितसँगै युभेन्टसले ६० अंकसहित लिग तालिकाको शीर्षस्थानमा कायम छ। उसको निकट प्रतिद्वन्दी लाजियोको ५६ अंक छ।