PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अर्थमन्त्री खतिवडा बाहिरिने हल्ला चल्दा सेयर बजारले मार्‍यो छलाङ



पहिलोपोस्ट

अर्थमन्त्री खतिवडा बाहिरिने हल्ला चल्दा सेयर बजारले मार्‍यो छलाङ

काठमाडौं : राजनीतिसँग जोडिएको हल्लाले सेयर बजारमा ‘हर्ड इफेक्ट’ देखिँदा एकैदिन ७५ अंकसम्मले सूचक उक्लिएको छ। हाल उच्चतम ७५ अंकबाट फर्किएपनि बजार अझै फराकिलो अन्तर पारेर निक्कै माथि बसेको छ।

सेयर बजार विरोधीका रुपमा चिनिएका अर्थमन्त्री डा युवराज खतिवडा बाहिरिने समाचार सार्वजनिक भएपछि आइतवार बजारले १५ सय अंक पार गरेको हो। राष्ट्रिय सभा सदस्यको अवधि सकिएपछि उनको ठाउँमा बामदेव गौतमलाई ल्याउने समाचार सार्वजनिक भएका छन्।

राष्ट्रिय सभाबाट हटेपछि उनी स्वतः मन्त्रीबाट पनि हट्ने छन् भन्ने विश्लेषणले काम गर्दा बजारले ३० महिनाअघिको उचाइ कायम गरेको हो। सामान्यतया सेयर बजारमा ‘बढेको बेला बेच्ने र घटेको बेला किन्ने भन्नु पर्छ’ भन्ने सिद्धान्त छ। यो सिद्धान्त त्यतिबेला पालना हुँदैन, जब बाहिरी ‘र्‍युमर’ले ‘हर्ड इफेक्ट’ अर्थात ठूलो समूहको एकै पटक प्रवेश गराउँछ र माग अचाक्ली बढाउँछ। माग बढेपछि स्वभाविक रुपमा सम्पत्तिको मूल्य बढ्छ।

केही सातादेखि छिटपुटबाहेक सेयर बजार निरन्तर बढिनै रहेको छ। वित्तीय क्षेत्रमा तरलता अभावका बाबजुत पनि ब्याजको आधार दर घटिरहेको छ। आधार दर घट्दा ऋणको ब्याज पनि कम हुन्छ।

बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकिरहेका बेला सजिलैसँग पैसा प्रयोग हुने सेयर बजारलाई प्राथमिकतामा राख्न थालेका छन्। ऋणको माग नभएर तरलता थोरै बचतमा रहेका बेला त्यो तरलता बैंकहरुले सेयर बजारमा खन्याउन थालेका छन्।

ब्रोकर कम्पनी धाएरै वा आफ्ना पुराना ग्राहकलाई फोन गरेर डाकिडाकी सस्तोमै सेयर ऋण लैजान मार्केटिङ शुरु भएको छ। चैत ५ गते अवकाश हुन लागेका गभर्नरले जाँदाजाँदै मौद्रिक समीक्षामार्फत सेयर बजारका लागि बम्पर प्याकेज ल्याउँछन् भन्ने समाचारहरु पनि सार्वजनिक भइरहेका छन्। पछिल्लो समय नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी नै खडा गरिसकेको छ।

यिनै कारणहरुले बजार बढिरहेको थियो, शनिवार साँझदेखि अर्थमन्त्री खतिवडा फेरिने हल्ला आइतवार सञ्चार माध्यममा समाचारका रुपमा आएपछि सूचकले छलाङ मारेको हो।

कारोबार खुलेको पहिलो २० मिनेटमा ४३ अंक उक्लिएको थियो। त्यसपछि बिस्तारै घटेर १९ अंकको बृद्धिमा बसेको थियो। त्यो बीचमा केही लगानीकर्ता ‘नाफा बुक’ गर्नतिर लाग्दा सूचक ४३ अंकबाट तल आएको थियो।

अर्थमन्त्री हट्ने हल्ला बलियो बन्दै गएको र अब बजार रोकिने अर्को बिन्दु १६ सयमाथि हो भन्ने प्राविधिक विश्लेषणहरु ‘भाइरल’ हुन थाल्यो। त्यसपछि फेरि लगानीकर्ताहरु सेयर बेचेर ‘नाफा बुक’ गर्नुको साटो लगानी बढाउनतिर लागे। माग अस्वभाविक रुपमा बढेपछि सूचक ७५ अंकसम्म उक्लिए थियो।

सबै उपसूचकहरु हरियो भएका छन्। बजार धेरैपछि ५ प्रतिशतभन्दा बढिले उक्लिँदा कमजोर देखिएको जलविद्युत कम्पनीहरुले पनि कमाउने मौका पाएका छन्।

जीवन बिमा साढे दुई सय, निर्जीवन बिमा डेढ सय अंक र बैंक ८२ अंकले बढेको छ। व्यापार पनि ८१ अंकले उक्लिएको छ भने लघुवित्त ८० अंकले बढेको छ। एक अंकभन्दा कमले म्युचुअल फण्ड सूचक बढेको छ। पौने दुई बजेसम्म २ अर्ब ६५ करोड रुपैयाँको कारोबार भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell