PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुना कार्की हत्या प्रकरणः हत्यारा चिनियो तर कारण अझै खुलेन



पहिलोपोस्ट

मुना कार्की हत्या प्रकरणः हत्यारा चिनियो तर कारण अझै खुलेन

काठमाडौं: घटना भएको १३ दिन भइसक्यो। प्रहरीले हत्यारा पनि पत्ता लगाइसक्यो। तर हत्याको कारण अझै खुल्न सकेको छैन। सन्दर्भः मुना कार्की हत्या प्रकरण।

गत माघ २७ गते। बिहान ११ बजेर २० मिनेटमा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना घरको भान्छा कोठामा अचेत अवस्था भेटिइन्। उनको टाउकोमा चोट लागेको थियो। रगताम्मे उनलाई तुरुन्त सानेपास्थित स्टार अस्पताल पुर्‍याइयो। तर, उपचार सुरु नहुँदै उनी मृत घोषित भइन्।

कार्की निवासमा मुनासँगै मृत भेटिएका थिए- कामदार विजय चौधरी। २२ वर्षीय चौधरी सात वर्षदेखि त्यही घरमा काम गर्थे जहाँ उनी घाँटीमा पासो लगाएको अवस्थामा फेला परे।

प्रहरीले घटनास्थलमा पुग्दा उनी झुन्डिएको ठाउँबाट डोरी चुडिएर भुईमा लडेका थिए।

प्रहरीले घरमा राखिएको सीसीटिभी फुटेजको आधारमा चौधरीले कार्कीको हत्यापछि आत्महत्या गरेको पत्ता लगायो। फुटेजले चौधरीलाई दोषी निर्क्यौल गर्‍यो। तर, हत्याको कारण बारे भने कुनै संकेत भेटिएको छैन।

पोस्टमार्टम रिपोर्टमा कार्कीको हत्या घाँटी थिचेर तथा टाउकोमा प्रहार गरेर भएको देखायो। मृतका पति अर्जुन कार्कीले महानगरीय प्रहरी परिसर ललितपुरमा घटनाको अनुसन्‍धान र सत्य तथ्य जानकारीको माग गर्दै उजुरी दिइसकेका छन्। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। तर, हत्यापछिको आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन।

घटनाको कारण खुलाउन सक्ने माध्यम थियो मोबाइल। प्रहरीले कारण खुल्ने वा कुनै संकेत पाइने आशामा घटनास्थलबाट बरामद दुवै मृतकको मोबाइल फरेन्सिक ल्याबमा परिक्षण पनि गरायो। तर फरेन्सिक ल्याबको रिपोर्टले पनि कुनै संकेत देखाएन।

कार्कीको घरमा काम गर्ने अन्य व्यक्तिसँग पनि प्रहरीले बयान लिइसकेको छ। उनीहरुबाट पनि कुनै तथ्य फेला परेन।

'सबै सित बयान लिएको हो। तर कसैबाट कारण पत्ता लाग्न सक्ने कुरा खुलेन', महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले भनिन्।

घटना भएको बिहान १० बजेर ८ मिनेटमा चौधरीले कार्कीलाई पछाडिबाट डोरीले लडाएको दृश्य सिसिटिभी फुटेजमा अस्पष्ट रुपमा देखिएको छ। उनले मृतक कार्कीको टाउँकोमा पटक पटक प्रहार गरे। कार्की मृत भेटिएको छेउमा भाँचिएको पिर्का बरामद भयो।

'सबै घटना केलाएर हेर्दा प्रारम्भिक अनुसन्धानमा रिस र आवेगमा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ', सिंहले भनिन्। तर, एकैचोटी रिस र आवेगमा आउने गरी दुईबीच के भएको थियो त्यस्तो? उनीहरु बीच पहिलेदेखि कुनै विषयमा झगडा भइरहेको थियो? या कार्कीले कामको शिलशिलामा गाली गरेकी थिइन्? यस्ता प्रश्नहरु उब्जिएपनि घटनाको कारण भने खुल्न सकेको छैन।

थप अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell